|

चन्द्रौटा : दशैँ नजिकिएसँगै भारतीय बजारमा किनमेल बढेको भन्दै नेपालका व्यापारीहरू चिन्तित भएका छन्। शुक्रबार कपिलवस्तुको कृष्णनगरमा जिल्लामा रहेका उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरूले संयुक्त रूपमा उपभोक्ता सचेतना कार्यक्रम गरेका छन्।

चाडपर्वको अवसरमा उपभोक्ताहरू नेपाली बजारभन्दा भारतीय बजारमा आकर्षित हुने, किनमेलका लागि नजिकैको भारतीय बजार जाने हुँदा चन्द्रौटा उद्योग वाणिज्य सङ्घ, कपिलवस्तु उद्योग वाणिज्य सङ्घ र बुद्ध भूमि उद्योग वाणिज्य सङ्घले जिल्लाको कृष्णनगर बजारमा सचेतना कार्यक्रम सम्पन्न गरेका हुन्।

कार्यक्रममा भारतीय बजार बढनीबाट किनमेल गरी फर्किएका उपभोक्ताहरूलाई नेपाली बजारमा नै किनमेल गर्न र नेपाली व्यवसायीलाई टेवा पुर्‍याउन अनुरोध गरिएको थियो।

कार्यक्रममा उपभोक्ताहरूलाई नेपाली बजारमा पनि उही मूल्यमा सोही सामान अझ गुणस्तरीय पाइने हुँदा नेपाली बजारबाट नै खरिद गर्न उपभोक्तालाई आग्रह गरिएको थियो।

स्वदेशी उत्पादनको प्रयोग गरौँ, राजश्व चुहावट रोकौँ भन्ने नारासहितको कार्यक्रममा भारतीय बजारमा नेपाली उपभोक्ताको बढ्दो आकर्षणका कारण नेपाली बजारका व्यवसायी पलायन हुने अवस्था सिर्जना भएकोले सचेतना कार्यक्रम गरिएको चन्द्रौटा उद्योग वाणिज्य सङ्घका अध्यक्ष ईश्वरी पाण्डेले बताए।

उपभोक्ताले भारतीय बजारमा चिनी केही सहुलियत मूल्यमा पाउने भए पनि अन्य उपभोग्य सामाग्री भारतीय बजारभन्दा नेपाली बजारमा नै सस्तो पाइने भएकोले नेपाली बजारमा नै उपभोक्ताले खरिद गर्नुपर्ने पाण्डेले बताए।

नेपाली बजारभन्दा सस्तो समान पाइने प्रलोभनमा नेपालीहरू भारतीय बजारमा किनमेल गर्न जाने गरेको र गुणस्तरहीन समान प्रयोग गरेकोले उपभोक्तालाई सचेत गराउन कार्यक्रम सञ्चालन गरिएको कपिलवस्तु उद्योग वाणिज्य सङ्घका अध्यक्ष डोलकराम घिमिरेले बताए।

जिल्लाको भारतसँग जोडिएको ठूलो नाका कृष्णनगर हुँदै दैनिक हजारौँ उपभोक्ताले भारतीय बजार सिद्धार्थनगर बढनीबाट दैनिक उपभोग्य सामग्री खरिद गर्दा नेपाली बजार भने सुनसान रहेको छ। कपिलवस्तुको मुख्य बजार चन्द्रौटा, तौलिहवा, जितपुर, गोरुसिङ्गेलगायत बजार सुनसान छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.