|

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवन सुनिश्चित गर्नु सबैको कर्तव्य भएको बताएकी छिन्।

३२ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा राष्ट्रपति भण्डारीले ज्येष्ठ नागरिकका लागि गरिएका व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा जोड दिएकी हुन्। 

ज्येष्ठ नागरिक संघर्ष र भोगाइबाट आर्जित ज्ञान, सीप र अनुभवका खानी रहेको जनाउँदै उनले उनीहरूको ज्ञान र अनुभवबाट युवा पुस्ताले जीवनोपयोगी सिकाइ ग्रहण गर्न सक्नुपर्ने बताएकी छिन्। ‘ज्येष्ठ नागरिकमा अन्तर्निहित ज्ञान र अनुभवलाई पुस्तान्तरण गर्न आवश्यक वातावरण सिर्जना गर्न परिवार, समाज र राज्यको सामूहिक प्रयास आवश्यक पर्दछ’, राष्ट्रपतिको सन्देशमा उल्लेख छ।

आफ्नो जीवनको ऊर्जाशील र उत्पादनशील समय राष्ट्रका लागि योगदान गरेका ज्येष्ठ नागरिकको जीवनलाई सहज र सुरक्षित बनाउन सरकारले ज्येष्ठ नागरिक स्वास्थ्य बिमा, सामाजिक सुरक्षा भत्तालगायत सेवा र सुविधाको व्यवस्था गरेको जनाउँदै उनले कार्यक्रम विस्तार गर्दै लैजानुपर्ने धारणा राखेकी छिन्।

संयुक्त राष्ट्रसंघले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’को रूपमा मनाउने प्रस्ताव पारित गरेको थियो। यससँगै विश्वभर नै यो दिन अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने गरिएको छ। संयुक्त राष्ट्रसंघले यो वर्ष  ‘ज्येष्ठ नागरिक उत्थानशीलता  बदलिँदो विश्वका लागि अपरिहार्यता’ भन्ने नारा निर्धारण गरेको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.