|
प्रतीकात्मक तस्विर

कावासोती : धानमा रोग लागेपछि पूर्वी नवलपरासीका किसान चिन्तित छन्। 

रोग लागेर बोट नसप्रिने, पात रातो हुने तथा बोट मर्ने गरेको किसानले बताएका छन्। रोग नियन्त्रण गर्न लकडाउनका कारण मल तथा औषधि अभाव भएको कावासोती–१२ का कृषक राजेश लम्सालले बताए। ‘सुरुमा मल पाइएन। हामीले पनि मल नपुगेर होला भन्यौँ’, लम्सालले भने, ‘अहिले बोट नै रातो हुँदै गइरहेको छ। धान नोक्सान भएको छ।’

कावासोती नगरपालिका–१६ का २४ कृषकको करिब ११३ बिघाभन्दा धेरै धान खेतमा यो रोग देखिएपछि क्षतिपूर्तिका लागि वडा कार्यालयमार्फत नगरपालिकामा माग गरेका कृषक लक्ष्मण विकले बताए।

रोपाइँ सकिएको १५ देखि २० दिनमा धानखेतीलाई युरिया मल चाहिन्छ। किसानले धान रोपेको दुई महिना बित्न लाग्दासमेत मलसमेत पाएनन्। अरू सेवा त परै जाओस् किनेर मल हाल्नसमेत नपाउँदा उत्पादन गत वर्षभन्दा कम हुने अनुमान गर्न थालिएको छ। कृषि ज्ञान केन्द्र पूर्वी नवलपरासीका प्रमुख मीरा चौधरीले करिब १८ हजार हेक्टरभन्दा धेरै क्षेत्रमा धान खेती गरिएकामध्ये अधिकांश क्षेत्रमा राते रोग देखिएको बताइन्। धानमा लागेको राते रोगका कारण यस वर्षको धानको उत्पादन पनि घट्ने उनले जानकारी दिइन्।

प्रमुख चौधरीका अनुसार धानले समयमा मल नपाउँदा सेतो झिँगाले आक्रमण गरेको कारणले यो रोग लागेको हो। सेतो झिँगाले चुस्दै जाँदा धानको बोट नै पहेँलो हुने समस्या देखिएको छ। धान पहेँलो हुँदै गएपछि कृषकले युरिया डीएपीलगायत मल प्रयोग गर्दा सेतो झिँगालाई चुस्न झन सहज हुने भएकाले धानको बोट रातो देखिएपछि रासायनिक मल प्रयोग गर्न नहुने चौधरीले बताइन्। बोट रातो देखिएपछि युरिया डीएपी जस्ता मल प्रयोग गर्दा बोट पोटिलो भएर आउने र झिंगालाई पात चुस्न झन सहज हुने हुँदा कृषि प्राविधिकको सल्लाहअनुसार मल तथा औषधि प्रयोग गर्नुपर्ने चौधरी बताउँछिन्।

 धान खेतमा देखिएको यो रोगको तत्कालको रोकथाम भनेको डाइमेथिएट विषादी चार लिटर पानीमा एक मिलिलिटरको दरले मिसाएर धानको पात र बोट भिज्ने गरी छर्किन उनको सुझाव छ।

औषधि प्रयोगपश्चात केही ठाउँमा सुधार आए पनि कुनैमा भने सुधार नभएको जनाइएको छ। कति क्षेत्रमा रोगले असर पारेको त्यसको विवरण संकलन भइरहेको र कृषि प्राविधिक कृषकका खेतमा पठाएर रोग नियन्त्रणको प्रयास भइरहेको चौधरीले जानकारी दिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.