|

पर्वत : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला बास्केटबल प्रतियोगिता तनहुँमा हुने भएको छ। 

राष्ट्रिय खेलकुद परिषद्ले पोखरामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको खेल स्थल तालिकामा तनहुँ जिल्ला अटेको थिएन। तर तनहुँवासीले महिला बास्केटबल खेल तनहुँ जिल्लामा आयोजना गर्न माग गर्दै आएका थिए। खेल मैदान व्यवस्थापन समिति तथा विभिन्न प्राविधिक टोलीले खेल स्थलको अवलोकन गर्दा तनहुँमा खेल नपरेको भन्दै तनहुँवासी चिन्ता व्यक्त गर्दै आएका थिए। 

पूर्व प्रदेश मन्त्रीद्वय किरण गुरुङ र हरि बहादुर चुमान, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, खेल पत्रकार र खेल संघका पदाधिकारीले तनहुँ जिल्लामा नवौँ राष्ट्रिय प्रतियोगिताका केही खेल आफ्नो जिल्लामा हुनुपर्ने अडान राख्दै आएका थिए। अन्ततः प्रतियोगिताका ३६ खेलमध्ये महिला बास्केटबल दमौलीमा नै गर्ने तय भएको हो।

खेल मैदान व्यवस्थापन उपसमिति संयोजक तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य समेत रहेका राजेशकुमार गुरुङ सहितको टोली खेल मैदानको अवलोकन र अन्य छलफलका लागि केही दिन अगाडि तनहुँ सदरमुकाम दमौली पुगेका थिए। खेल स्थल अवलोकन पश्चात् गुरुङले स्थानीय प्रशासनको साथ पाए निर्मल माविको खेल मैदानमा महिला बास्केटबल हुने संकेत गरेका थिए। 

महिला बास्केटबल प्रतियोगिता हुने भनिएको निर्मल माध्यमिक विद्यालयको बास्केटबल कोर्ट करिब तीन वर्ष अघि राष्ट्रिय खेलकुद परिषद्को ४० लाख लगानीमा स्थापना भएको जिल्ला खेलकुद विकास समितिका तनहुँका अध्यक्ष शिवहरि पण्डितले बताए। 

खेलका लागि व्यास नगरपालिका सहित अन्य स्थानीय तहले पनि आर्थिक सहयोग गरेका छन्। जसमा व्यास नगरपालिकाले सात लाख ३० हजार, शुक्लागण्डकी नगरपालिका, भानु नगरपालिका र भिमाद नगरपालिकाले एक\एक लाख रुपैयाँ दिने भएका छन्।

यस्तै घिरिङ गाउँपालिका, रिसिङ गाउँपालिका, म्याग्दे गाउँपालिका, बन्दीपुर गाउँपालिका, आबु खैरेनी गाउँपालिका र देवघाट गाउँपालिकाले ५०\५० हजार सहयोग गरेका व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.