|

काठमाडौं : यतिवेला हलमा दुई वटा नेपाली र दुई वटा भारतीय गरेर चार वटा फिल्म प्रदर्शनमा छन्। दशैँमा लामो विदा हुने भएकाले धेरैले यो समयमा आफ्नो परिवार र साथीहरूसँग हलमै गएर फिल्म हेर्न रुचाउँछन्। तर, सँधै आफूलाई मनपर्ने जनराका फिल्म हलमा लागिराखेको नहुन सक्छ। 

गत वर्ष दशैँमा हलमा नेपाली फिल्म नै नरहेकोमा यसपाली भने दर्शकलाई फरक फरक जनराका फिल्म रोजेर हेर्ने अवसर छ। यतिवेला हलमा लभ स्टोरी, पिरियड ड्रामादेखि एक्सन जनराका फिल्म प्रदर्शनरत छन्। 

शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘बाबरी’ त्रिकोणात्मक प्रेम कथामा आधारित छ। सुरेन्द्र पौडेलको निर्देशनमा बनेको फिल्ममा धीरज मगर, अदिति बुढाथोकी र धीरज नाडकरको मुख्य भूमिका रहेको छ। 

त्यस्तै छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशनमा बनेको ‘प्रेम गीत ३’ पनि यतिवेला हलमा छ। दोस्रो हप्तामा प्रदर्शन भइरहेको फिल्म पिरियड लभ स्टोरी जनरामा बनेको छ। पहिलो हप्तामै विश्वभरीबाट २० करोडमाथिको कमाइ गरेको फिल्मले दोस्रो हप्तामा पनि उल्लेख्य दर्शक पाइरहेको छ। 

नेपालमा कम बन्ने पिरियड जनराको फिल्म भएकाले पिरियड लभ स्टोरी मन पर्ने र फिल्म हेरिनसकेका दर्शकका लागि ‘प्रेम गीत ३’ राम्रो खुराक हुन सक्छ। फिल्ममा प्रदिप खड्का, क्रिस्टिना गुरुङ, सुनील थापा, शिव श्रेष्ठ, मनिष राउत लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। 

यी बाहेक दुई भारतीय फिल्म ‘विक्रम वेधा’ र ‘पोनियिन सेल्भानः भाग एक’ पनि यतिवेला हलमा छन्। एउटा एक्सन थ्रिलर जनरामा बनेको छ भने ‘पिएसः वान’ पिरियड एक्सन ड्रामा जनरामा बनेको छ। ‘विक्रम वेधा’ले चौतर्फी तारिफ पाइरहेको छ भने ‘पिएसः वान’ले दर्शकबाट मिश्रित प्रतिक्रिया पाइरहेको छ। 

गायत्री पुष्करको निर्देशनमा बनेको ‘विक्रम वेधा’मा हृतिक रोशन, सेफ अलि खान, राधिका आप्टे लगायतका कलाकारको मुख्य भूमिका छ भने ‘पिएसः वान’मा विक्रम, ऐश्वर्या राय बच्चन, त्रिशा किसन लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। 

दशैँको पर्सीपल्ट अर्थात आगामी शुक्रबारदेखि रोमान्टिक कमेडी ड्रामा जनरामा बनेको ‘दुई नम्बरी’ पनि प्रदर्शनमा आउँदैछ। दीपेन्द्र लामाको निर्देशनमा बनेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। दुई नम्बरी दर्शकका लागि अर्को स्वाद लिएर हलमा आउँदैछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.