|

काठमाडौं : नेपालीको महान चाड विजयादशमी घर आँगनमा आइसकेको छ। देश विदेशमा रहेका नेपाली दशैँको तयारी गरिरहेका छन्। तर रोजगारीका लागि विदेशिने नेपालीहरू भने मन गाँठो पारेर बिदाईका हात हल्लाउँदै परदेश जान बाध्य छन्।

अहिले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुग्दा बाहिरबाट आउने र विदेश जानेको भीड छ। दशैँ नजिकिँदै गर्दा एकातिर उत्साहित हुँदै दशैँ मनाउन नेपाल फर्किनेको भीड छ भने अर्कातिर अमिलो मन बनाउँदै बिदाईका हाल हल्लाउनेको भीड।

एयरपोर्टको त्यही भीडमा कालिकोट घर भएका अमनबहादुर विक भेटिए। विमानस्थलको प्रस्थान गेटनजिकै आमा, श्रीमती र सानी छोरीलाई  मलिन स्वरमा सम्झाउँदै थिए।

‘सधैँका लागि जान लागेको हुँ र? दुई वर्षको कुरा त हो नि', सधैँको अभाव झेल्नुभन्दा केही वर्ष दुःख गरेर भए पनि परिवारको आर्थिक उन्नतिका लागि विदेशिएको उनले सुनाए। 

परिवारको सामान्य अवस्था भए दशैँजस्तो चाडबाडको छेकोमा देश छाडेर विदेशिने रहर कसलाई हुन्छ र? उनले भने, ‘घर परिवारलाई छोडेर जान मन त थिएन नि! के गर्नु खाना र छानाको जोहो गर्नै पर्‍यो।’

रोजगारका लागि कतार जान लागेका विक यसअघि पनि कतारमा काम गरेर फर्केका थिए। तत्कालै भिसा लाग्ने सोचेको थिएनन्। दशैँपछि भिसा लाग्ने सोचेर प्रक्रिया अगाडि बढाएका थिए। दशैँअघि नै भिसा आयो।

सोही  भीडमा धादिङ घर भएकी धनलक्ष्मी श्रेष्ठ पनि  भेटिइन्। एक हातमा सुटकेस र अर्को हातले ब्याग बोकेकी उनी मलिन अनुहारमा फोनमा कुरा गर्दै थिइन्।

‘यस्तै हो परदेशीको जीवन कहाँ चाडपर्व भन्न पाइन्छ र?’‚ दशैँको टीका आउन केही दिन मात्र बाँकी हुँदा विदेशिनु परेकाले होला उनीहरू उदास देखिन्थे। प्रस्थान गेटनजिकै निधारमा रातो टीका, सामानको झोला बोकेका विक दशैँअगाडि विदेशिनुको पीडा पोख्दै थिए‚ ‘दशैँ मनाएर जाने सोचेको थिएँ। दशैँअगाडि नै भिसा आयो।’

असारमा विदेश जाने प्रक्रिया अघि बढाएकी श्रेष्ठ पनि दशैँ मनाएर विदेश जाने सोचमा थिइन्। केही दिनअगाडि मात्र भिसा आयो। विदेश जानैपर्ने भयो। विवाह भएको केही वर्षमा श्रीमानसँग सम्बन्धविच्छेद भयो। छोराछोरीको जिम्मेवारी आफ्नै काँधमा छ।

उनले भनिन्, ‘सानैमा विवाह भयो, पारिवारिक जिम्मेवारी थपियो। अहिले अरू उपाय भएन, विदेश नै जान लागेँ।’ वैदेशिक रोजगारीका लागि कुवेत जान लागेको उनले बताइन्।

वैदेशिक रोजगारीमा विदेशिएका कतिपय नेपाली धमाधम घर फर्किरहेका छन्। दशैँको समयमा परिवार छोडेर विदेश जान निकै कठिन भएको उनले सुनाइन्। उनी भन्छिन्, ‘जिन्दगीमा पहिलो पटक दशैँको दिन खाली निधार लिएर परदेशमा परिवार सम्झेर बस्नुपर्ने भयो।’

बाग्लुङ घर भएका रामबहादुर राईले करिब २ महिनाअघि वैदेशिक रोजगारीमा कतार जानका लागि भिसा बुझाएका थिए। अहिले भिसा आयो, विदेश जानैपर्ने भयो।

देशमा रोजगारीको अवसर नदेखेर विदेशिन लागेका राई दशैँअघि जानु पर्दा नरमाइलो लागेको सुनाउँछन्। खेती गरेर खानलाई जग्गाजमिन धेरै छैन। देशमा रोजगारीको अवसर नपाएर विदेश जान लागेको उनले सुनाए।

उनले भने, ‘आफूले उब्जनी गरेको अन्नले ६ महिना पनि धान्न मुस्किल छ।’ मलिन अनुहार लगाउँदै विदेश जाने रहर नभइ बाध्यता भएको उनले सुनाए।

परिवारको पेट पाल्नका लागि रोजगारीमा घरपरिवार भन्दा टाढा रहेकाहरू घर फर्किरहेका छन्। आफू परिवार छोडेर विदेशिनु पर्दा नरमाइलो लगेको राईले बताए।

परिवारको पेट भर्नकै लागि विदेशिनुपर्ने अवस्था आएको उनको भनाइ छ। दशैँमा खाली निधार राखेर विदेशी भूमिमा बस्दाको पीडा परदेशीले मात्र बुझ्न सक्छ। उनले भने, ‘मजस्ता हजारौँ नेपाली यस्तै पीडा भोग्न बाध्य भएका छन्।’

दशैँको टीका लगाउने वेला विदेशिनु परेकाले नरमाइलो लागेको दाङका जीवन श्रेष्ठले बताए। उनी पनि रोजगारीकै लागि साउदी जान लागेका हुन्।

५ वर्षदेखि साउदीमा सेक्युरिटी गार्डको रूपमा काम गर्दै आएका थिए। गत चैतमा २ महिनाको बिदा लिएर उनी नेपाल आएका थिए। ‘दशैँ आयो आफ्नो विदेशिनु पर्ने दिन आयो।’ भारी मन बनाएर परिवारलाई निराश बनाउँदै विदेशिएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.