|

हेटौंडा : पछिल्लो केहिदिन यता नेकपा एमालेसँगको हिमचिमलाई बढाइरहेका कमल थापाको कदमलाई ब्रेक लगाउन मकवानपुरको एमाले नेताहरू बालकोट पुगेका छन्।

एमालेको समर्थनमा मकवानपुर–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा रहेका राप्रपा नेपालका अध्यक्ष थापालाई रोक्न एमाले मकवानपुरका नेताहरू बालकोट पुगेका हुन्। बागमतीका पूर्वमुख्यमन्त्री तथा पार्टी सल्लाहकार परिषद् सदस्य डोरमणि पौडेल, एमाले केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज रामेश्वर राना, एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ, जिल्ला सचिव नवीन सिग्देलले गए राति १ बजे बालकोट पुगेर पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका छन्। भेटमा उनीहरूले पार्टी अध्यक्ष ओलीलाई मकवानपुरको दुवै प्रतिनिधिसभामा पार्टीकै उम्मेदवार उठाउन माग गरेका छन्।

एमालेको एक नेताको अनुसार उनीहरूले मंसिर ४ गते हुने निर्वाचनको लागि जिल्लाको दुईवटा प्रतिनीधिसभा क्षेत्रबाट सिफारिस भएकाहरूमध्येबाट नै उम्मेदवार बनाउनुपर्ने माग गरेका हुन्। एमालेको समर्थनमा राप्रपा नेपालका अध्यक्ष थापाले १ नम्बर क्षेत्रबाट निर्वाचन लड्ने तयारी गरिरहेका छन्।

राजनीतिक जीवनको अन्तिम निर्वाचन उठ्ने जित्ने भन्दै राप्रपा अध्यक्ष थापाले सार्वजनिक रुपमा नै मकवानपुर–१ मा एमालेको साथ मागिरहेका छन्। विभिन्न कार्यक्रम,सामाजिक सञ्जाल र भेटघाटमा समेत एमाले अध्यक्ष ओलीको तारिफ गर्दै आएका थापा दुईदिन अघि एमाले मकवानपुरको चियापान कार्यक्रममा समेत पुगेका थिए।

कुनैपनि हालतमा एमालेको समर्थनमा आगामी चुनावमा उम्मेदवार बनेर जित्ने दाउमा हिडेँका उनलाई एमाले मकवानपुरकै नेताहरूले भने समर्थन गर्न खोजेका छैनन्।

२०७४ मा नेपाली कांग्रेससँग गठबन्धन गरेर मकवानपुर–१ बाटै प्रतिनिधिसभा लडेका थापा एमाले र माओवादी केन्द्रबीचको बाम गठबन्धनका उम्मेदवार कृष्ण दाहालसँग पराजित भएका थिए। आगामी निर्वाचनमा पनि एमालेले थापालाई रोक्न खोज्दा उनलाई थप संकट देखिएको छ।

१ नम्बर क्षेत्रमा एक्लै लडेको खण्डमा थापाले जित्नसक्ने सम्भावना न्युन छ। १ नम्बर क्षेत्रमा राप्रपाको जनमत राम्रो भए पनि पार्टी छोडेर पुरानै दल (राप्रपा नेपाल) ब्यूँताएका थापालाई निर्वाचन जित्न गठबन्धन गर्नुको विकल्प छैन। एमालेले केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज रामेश्वर रानालाई प्रतिनीधिसभा क्षेत्र नम्वर १ को उम्मेदवारको रुपमा सिफारिस गरेको थियो।

तर,सोही निर्वाचन क्षेत्रमा थापाले एमालेको साथ खोजेपछि रानासहितको टोली बालकोट पुगेका हुन्। रानाको भूगोल २ नम्बर क्षेत्र भए पनि उनलाई १ नम्बर क्षेत्रबाट सिफारिस गरी पठाइएको थियो।

शुक्रबारको भेटमा ओलीसँग रानालाई १ नम्बर क्षेत्रबाट उम्मेदवार बनाउनुपर्ने माग राखिएको एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले बताए। उनले अध्यक्ष ओलीसँगको भेट सकारात्मक भएको भन्दै दुई दिनभित्रै उम्मेदवारहरूको नाम टुंगो लाग्ने दावी गरे।

एमालेको ठूलो जनमत रहेको १ नम्बर क्षेत्रमा पार्टीबाटै सिफारिस भएकालाई उम्मेदवार बनाउनु पर्ने विषयमा कुराकानी भएको उनको भनाई छ। ओलीले भने कमल थापालाई सहयोग गरेर जानुपर्नेमा जोड दिएको स्रोतले बताएको छ। स्रोतका अनुसार थापाले १ नम्बर क्षेत्रबाट एमालेको समर्थन पाए २ नम्बर क्षेत्रबाट रानालाई उठाउन सक्ने सम्भावना बलियो छ। राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले कमल थापालाई १ नम्बर क्षेत्रमा एमालेको समर्थन रहने बताए।

उनले एमाले अध्यक्ष ओली थापालाई उम्मेदवार बनाउने विषयमा सकारात्मक भएको बताए। थापा २०५१ यता हालसम्म ८ प्रधानमन्त्रीत्व काल र २०६२ को पूर्वराजा ज्ञानेन्द्रको मन्त्रिमण्डलमा गरी ९ पटक मन्त्री बनिसकेका छन्। तर, पटक–पटक विभिन्न मन्त्रालय सम्हालेका उनलाई जनताले अनुमोदन भने गरेका छैनन्।

थापालाई एमालेका कृष्ण दाहालले हालसम्म ३ पटक पराजित गरिसकेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.