ग्रामीण क्षेत्रमा यात्रा जोखिमपूर्ण

|

काभ्रे : जिल्लाको बसपार्क क्षेत्रमा दशैँ (म्हेनिङ)मा आफ्नो गाउँघर फर्किनेको भीड लागेको छ। विभिन्न पेशा‚ व्यवसाय तथा अध्ययन र नोकरी गरेर शहरमा बस्नेहरू दशैँ (म्हेनिङ)का लागि घर फर्किन थालेकाले बसपार्कमा अत्यधिक भीड भएको हो। 

जिल्लासँगै संघीय राजधानी काठमाडौँमा बसोबास गर्ने सिन्धुली, रामेछाप, दोलखा, सर्लाही, मोरङ, झापालगायत जिल्लाकासमेत अरनिको र विपी राजमार्ग हुँदै गाउँ फर्किन थालेसँगै काभ्रेका बनेपा, धुलिखेलका काभ्रेभन्ज्याङ क्षेत्रमा सवारीको लाम लागेको छ।

जिल्लाभित्रै विभिन्न स्थानीय तहमा पुग्ने यात्रुले गर्दा पनि बनेपा र धुलिखेलका बसपार्कमा यात्रुको भीड देखिएको छ। बसपार्कबाट यसअघि नियमित रुपमा छुट्नेभन्दा धेरै संख्यामा बस छुट्ने गरेका छन्।

यात्रुको संख्या बढेपछि यातायात व्यवसायीले जिल्लाका विभिन्न रुटमा चल्ने बस थपेका छन्। यात्रुको चाप बढेपछि सवारीसाधन थपेर भए पनि पठाउने गरेको यातायात व्यवसायी बताउँछन्। 

सामान्य अवस्थामा आधा संख्यामा सिट खाली भएर गुड्ने बस पनि अहिले खचाखच भरिने गरेका छन्। जिल्लाबाट बाहिरिने मात्रै नभई काठमाडौंबाट जिल्ला हुँदै पूर्वी पहाडी तथा तराई जानेको संख्या पनि ह्वात्तै बढेको छ। 

यात्रुको चाप बढेसँगै पकेटमारदेखि सावधानी अपनाउन तथा जोखिमपूर्ण यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।

ग्रामीण क्षेत्रमा जोखिमपूर्ण यात्रा

जिल्लाको ग्रामीण क्षेत्रमा जाने सडकमा यात्रु जोखिमपूर्ण यात्रा गर्नु परेको छ। ग्रामीण क्षेत्रका कच्ची सडक, त्यसमाथि पानीले हिलाम्मे बाटोको यात्रा जोखिमपूर्ण बनेका छन्।

केही दिनयता दिनहुँ जसो परेको पानीको कारण कच्ची सडक ठाउँ–ठाउँमा भत्किएसँगै खाल्टाखुल्टीले हिलाम्मे भएपछि यात्रुले गाडी धकेल्दै लैजानुपर्ने बाध्यता रहेको छ। जोखिम मोलेर यात्रा गरे पनि कतिपय ठाउँमा पैदलै हिँड्नु पर्छ। 

जोखिम मौल्दै भए पनि गन्तव्यतर्फ पुग्नुपर्ने अवस्था रहेको सवारीचालकहरु बताउँछन्। यात्रुले यात्राको करीब आधा समय गाडी धकेल्दैमा बिताउँछन्। वर्षातका कारण ग्रामीण क्षेत्रको यात्रा जोखिमपूर्ण हुने गरेको हो। 

जिल्लाका खानीखोला गाउँपालिका र महाभारतसँगै भुम्लु, चौरीदेउराली, तेमाल गाउँपालिका लगायतका दर्जनभन्दा बढी ग्रामीण सडक जोखिमपूर्ण भएका छन्। अधिकांश ग्रामीण सडक त अझै खुल्न सकेका छैनन्।

टिपर चलाउन रोक, टाइम कार्ड अनिवार्य

जिल्ला प्रशासन कार्यालय काभ्रेले दशैँमा सवारी दुर्घटना न्यूनीकरण गर्न अरनिको र विपी राजमार्गमा शुक्रबारदेखि टिपर सञ्चालन निषेध गरेको छ। कार्यालयले राजमार्गमा टिपर सञ्चालन निषेध गर्दै अन्य सवारीसाधनका लागि टाइम कार्ड अनिवार्य गरेको छ। 

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले केन्द्रीय राजधानी काठमाडौँबाट दशैँ मनाउन काभ्रेको रुट भएर यताबाट पूर्वी जिल्ला जाने आउने यात्रुको चाप व्यवस्थापन गर्न सो निर्णय गरिएको बताइन्। 

उनका अनुसार विपी राजमार्गअन्तर्गत मंगलटार–भकुण्डे १८ किमी दूरीमा ४० मिनेट, काभ्रेभन्ज्याङ–भकुण्डेबेँसीका लागि ३५ मिनेट र भकुण्डेबेँसी–काभ्रेभञ्ज्याङ १३ किमी दूरीमा ३५ मिनेट समय निर्धारण गरिएको छ। 

अरनिको राजमार्गको धुलिखेल–पाँचखाल १५ किमीमा ३० मिनेट र पाँचखाल–दोलालघाट १० किमी दूरीमा २० मिनेट समय तोकिएको छ। दुई राजमार्गमा दैनिक २ हजार ५ सय टिपरले निर्माण सामाग्री ढुवानी गर्दै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.