|

काठमाडौं : पछिल्लो समय नेपालीहरूमा बिदामा घुम्न जाने संस्कृतिको विकास भइरहेको छ। त्यसमाथि पनि नेपालीहरूको महान चाड विजया दशमी नेपालीको घर घरमा भित्रिइसकेको छ। दशैँमा धेरैजसो स्कुल‚ कलेज र कार्यालयहरू लामो समय बिदा हुने गर्छन्।

निरन्तरको काम र थकाईबाट छुटकारा पाउनका लागि पनि दशैँमा धेरैले घुम्न जाने सोच अधिकांशले बनाएका हुन्छन्। आर्थिक रुपमा सम्पन्नहरू बिदा वा फुर्सदमा भ्रमणका लागि विदेशसम्म पुग्छन् भने मध्यमवर्गीय मानिसहरू स्वदेशकै विभिन्न ठाउँ पुगेर रमाइलो गर्ने गर्छन्।

यसरी नेपालका पर्यटकीय गन्तव्यको सरकारले प्रवर्द्धन गर्दै आएको छ। यो दशैंमा घुम्न जाने सोचमा हुनुहुन्छ तर गन्तव्यको खोजी गर्न सक्नु भएको छैन भने यी हुन सक्छन् तपाईंका लागि उपयुक्त गन्तव्य।

खप्तड

सुदूरपश्चिमको प्रसिद्ध र धार्मिक स्थल मानिन्छ खप्तड। पश्चिम नेपालको ४ पहाडी जिल्ला बझाङ, बाजुरा, डोटी र अछामको संगम स्थलका रुपमा प्रसिद्ध रहेको छ यो ठाउँ। फराकिला फाँट हेर्नकै लागि पनि आन्तरिक तथा बाह्य पर्यटक खप्तड राष्ट्रिय निकिुञ्ज पुग्ने गर्छन्। जहाँ बाह्रै महिना पर्यटकको चहलपहल रहने गर्छ।

खप्तडमा बाह्रै महिना पानीको सतह एकैनासको हुने विशेषता रहेको डेढ सय मिटर लम्बाइ र ५० मिटर चौडाइको खप्तड दह रहेको छ। यहाँ ५२ वटा ताल र दह रहेका छन्।

खप्तड निकुञ्जमा रमणीय नागढुंगा, खापर दह, सहस्र लिंग, त्रिवेणीधाम, पाटन, खप्तड दह (ताल), खप्तड बाबाको आश्रम रहेका छन्। समुद्र सतहबाट ३ हजार ५ सय मिटरसम्म उचाइमा रहेको खप्तड राष्ट्रिय निकुञ्जभित्र ५ सय ६७ थरिका वनस्पति र साढे २ सयभन्दा बढी प्रकारका चराचुरुङ्गी पाईन्छन्।

कसरी जाने खप्तड?

खप्तड पुग्न काठमाडौंबाट धनगढीको बसमा जान सकिन्छ। धनगढीबाट डोटीको सिलगढीसम्म बसमै यात्रा गर्न सकिन्छ। त्यससँगै पैदल यात्रा गर्नुपर्छ। साथै निजी सवारीसाधनको हकमा भने खप्तडसम्म नै जान सकिने अवस्था छ।

रारा

पर्यटकीय गन्तव्य रारा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ। सुमद्र सतहबाट २९ सय ९० मिटरको उचाइमा रहेको छ यो।

रारा तालको लम्बाइ ३ दशमलव २ किलोमिटर र गहिराइ १ सय ६७ मिटर छ। यो ताल कुल १० दशमलव ८ किलोमिटरमा फैलिएको छ। प्रकृतिको उपहारका रुपमा  चिनिने रारा राष्ट्रिय निकुञ्जमा कस्तुरी, रतुवा जस्ता जन्तुहरूका साथै डाँफे र अन्य चराचुरुङ्गीहरू समेत पाइन्छन्। 

कसरी जाने रारा?

रारा पुग्नका लागि हवाई तथा स्थलमार्ग दुवै प्रयोग गर्न सकिन्छ। स्थलमार्ग हुँदै निजी सवारीसाधनमा पनि जान सकिन्छ।

सार्वजनिक सवारीमा जाने हो भने काठमाडौंबाट ३२ घण्टामा जुम्ला सदरमुकाम खलंगा पुग्न सकिन्छ। खलंगाबाट सिन्जा उपत्यका हुँदै मुगु सदरमुकाम गमगढी जाने बस पाइन्छ भने त्यहाँबाट रारा पुग्न ५ घण्टा हिँड्नु पर्छ। यसका साथै साना बस रिजर्भ गरेर पनि पुग्न सकिन्छ।

पोखरा

पोखरा नेपालको प्रसिद्ध पर्यटकीय गन्तव्य हो। यहाँ घुम्न बाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने गरेको छ। फेवातालमा पर्ने माछापुच्छ्रेको छायाँ हेर्दै डुंगा चढ्न र रमणीय हिमालहरू अवलोकन बिन्दवासिनी, तालबाराही  लगायतका मन्दिरको दर्शन  गर्न सकिन्छ।

पोखरामा डेभिड फल, गुफा पस्न, छाँगा छहरा हेर्न साथै प्याराग्लाइडिङको समेत मज्जा लिन पाइन्छ। काठमाडौंबाट सार्वजनिक सवारीसाधनमा पनि पोखरा सजिलै पुग्न सकिने पर्यटकीय गन्तव्य हो। स्थल तथा हवाई मार्गबाट सजिलै पोखरा पुग्न सकिन्छ।

चितवन (सौराहा)

केही समय घुमफिरमा बिताउन चाहने आन्तरिक तथा बाह्य पर्यटकले नछोड्ने पर्यटकीय क्षेत्र हो सौराहा। दशैँको अवसरमा घुम्न यो क्षेत्र उपयुक्त मानिन्छ। चितवनको मुख्य पर्यटकीय क्षेत्रका रुपमा प्रसिद्ध छन्- सौराहा, मेघौली, सिराई चुली, उपरदाङगढी, लामो झरना लगायतका रमणीय स्थलहरू अवलोकन गर्न पर्यटकको घुइँचो लाग्ने गर्छ।

काठमाडौंबाट मुग्लिन हुँदै १ सय ६५ किलोमिटरमा चितवन पुन्न सकिन्छ। सौराहाको मुख्य आकर्षण भनेको हात्ती चढेर जंगल घुम्नु, राप्ती नदीमा डुंगा सयर गर्नु र सूर्यास्त हेर्नु हो।

पाथीभरा

पाथीभरा ताप्लेजुङ जिल्लामा पर्ने प्रसिद्ध तीर्थस्थल हो। समुद्र सतहबाट ३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको ताप्लेजुङमा अवस्थित पाथीभरा देवी विश्वमै प्रख्यात देवीको रुपमा चिनिन्छ। पाथीभराबाट विभिन्न हिमशृखला अवलोकन गर्न सकिन्छ।

काठमाडौंबाट दुई दिनको बस यात्रामा पाथीभरा पुग्न सकिन्छ। साथै काठमाडौंबाट मोटरसाइकल तथा निजी सवारीसाधनमा पनि पाथीभरा पुग्न सकिन्छ।

इलाम

दशैँको आकर्षक गन्तव्यमा इलाम पनि पर्छ। जसलाई  चियाबारी नामले चिनिन्छ। इलाममा घुम्नलायक कन्याम, अन्तुडाँडा, छिन्टापु, सानो पाथीभरा, इलाम बजार रहेका छन्। यहाँ आकर्षक चिया बगानहरू छन्।

पिकनिक स्पट, होमस्टे तथा अवलोकन स्थानहरू प्रशस्तै छन्। राजधानीको कोटेश्वरबाट ६ सय ९० किलोमिटर यात्रा गरेपछि करिब १५ घण्टामा इलाम पुग्न सकिन्छ।

ठूलो क्षेत्रमा फैलिएको चिया बगानमा घोडामा चढेर चियाका डाँडा अवलोकन गर्न सकिन्छ। इलामको अग्लो डाँडो सन्दकपुर ३ हजार ६ सय ३६ मिटर उचाइमा छ। त्यस डाँडाबाट कुम्भकर्ण, कञ्चनजंघा लगायतका हिमाल अवलोकन गर्न सकिन्छ। त्यहाँ खासगरी सूर्योदय हेर्नेको भीड लाग्छ।

बन्दीपुर

दशैँ बिदा मनाउने आकर्षक गन्तव्यमा बन्दीपुर पनि पर्छ। कोलाहल, धुवाँ धुलोबाट केही टाढा जाने सोच बनाएकाहरूका लागि आनन्द दिने ठाउँ हो यो। तनहुँ सदरमुकाम दमौलीबाट १८ किलोमिटर परको डुम्ने हुँदै ८ किलोमिटर उकालो यात्रा गरेपछि बन्दीपुर पुगिन्छ। जहाँबाट मनोरम, हिमश्रृंखला, पहाड, टाकुरा हेर्न सकिन्छ।

प्राकृतिक सौन्दर्यले भरिएको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरी लगायतका हिमश्रृंखला देखिन्छन्। काठमााडौंबाट मुग्लिन हुँदै डुम्नेसम्म बसमा यात्रा गर्न सकिन्छ भने त्यहाँबाट पैदल यात्रा पनि गर्न सकिन्छ साथै त्यहाँबाट जीप पनि पाइन्छ।

भक्तपुरे शैलीमा निर्माण गरिएका घरहरू, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनाखरी, खड्गदेवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायतका स्थलहरू आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्छन्।

त्यस अलावा मुस्ताङ, कालिञ्चोक, जिरी, नगरकोट‚ लुम्बिनी, जनकपुरधाम लगायतका पर्यटकीय स्थल छोटो समयक सदुपयोगका लागि जान सकिने नेपाल पर्यटन बोर्डले जनाएको छ।

कोरोना भाइरसले थला पारेको पर्यटन क्षेत्र सुधारका लागि सरकारले विभिन्न चरणमा काम गर्दै आएको छ। कोभिडको संक्रमण कम भएसँगै  पर्यटक बढेको बोर्डको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.