|

विराटनगर :  झापा खेती केटी हेर्नु

                   इलाम र पाँचथरकी

                  ताप्लेजुङको तोङ्बा सुकुटी.........

प्रदेश नम्बर १ को १४ वटै जिल्लाको विशेषतालाई छुने गरी गाइने पुर्वेली भाकाको गीतले प्रत्येक जिल्लाको भूगोल र पहिचानलाई दर्साउन खोजिएको छ।

 ति मध्ये गीतका हरफमा झैँ ताप्लेजुङको तोङ्बा सुकुटी अक्सर जिल्ला टेकेर फर्किनेहरूले बयान गरेकै हुन्छन्। त्यो ठाउँको तोङ्बा र सुकुटीको स्वाद  धेरैको जिब्रोमा झुण्डिएको छ। तर, पछिल्लो समय फुङलिङ बजारको कफीले पनि उत्तिकै बजार लिएको छ। टाढाटाढा बाट थाकेर पुगेका पाहुना होस या त्यहीँ बसोबास गर्ने स्थानीयवासी नै किन नहोस् दौडधुपको समयलाई थोरै ‘ब्रेक’ लगाएरै भए पनि कफीको स्वाद लिन  कफी हाउस पुग्ने गरेको स्थानीयहरूले किस्सा सुनाउने गर्छन्।

कञ्चनजंगाको सिरबाट वारीपारी डाँडाकाँडा ठोकिदै आफ्नै वेगले शरीरका अंगहरूमा ठोकिएर आउने चिसो सिरेटोको महसुस सँगै ताप्लेजुङको दैनिकी सुरु हुन्छ। मुकुम्लुङ (पाथीभरा) को डाँडालाई छल्दै रापिलो घामले ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा पाइला टेक्न खोज्दै गर्दा पारी डाँडाबाट हुरीएर आउने कुइरोले आफ्नै साम्राज्य जमाउन सुरु गर्छ।

 त्यही लुकामारी खेल्ने मौसम र फुङलिङ बजारको कफी हाउसमा पाइने ‘हेन मेड’ (हातले बनाइएको ) कफीको स्वादको समायोजन साँच्चै चाख लाग्दो छ। बाक्लो दुधसँगै कफी र चिनीको समायोजनले ताप्लेजुङको भूगोल, त्यहाँको मौसम र वातावरणसँग साँच्चै बलियो साइनो गाँसेको भान हुन्छ।

 फुङलिङ बजार टेक्ने धेरै जस्तो पाहुनाहरूले त्यो ठाँउमा पाइने कफीको स्वाद लिएर नै फर्किने गरेको स्थानीय संचारकर्मी एलिना दियाली बताउँछिन्।  तोङ्बा सुकुटीले बेग्लै बजार लिएको भए पनि हातले बनाएर विक्रि गर्ने कफीले ताप्लेजुङ घुम्न आउने पाहुनाहरूका लागि नया स्वाद थपिदिएको उनको भनाइ छ।

सूर्योदयसँगै लिइने कफीको स्वाद मात्रैले ताप्लेजुङको विशेषताले पूर्णविराम लिँदैन।  फुङलिङ बजारको अर्को विशेषतामा  कोसेली घर पनि पर्छ। जहाँ हातबाट निर्माण गरिएका काठका विभिन्न दैनिक उपभोग्य सामाग्रीहरू पाइन्छ।  त्यही ठाउँको  माटोमा फलेका खाद्यान्नहरू पाइन्छ। जहाँ कला सांस्कृतिक र अर्गानिक वस्तुहरूलाई कोसेली स्वरुप खरिद गर्न समेत सकिन्छ।

झापा जिल्लाको विर्तामोड देखि २३४ किलोमिटरको सडकले इलाम र पाँचथरको सदरमुकाम फिदिम हुँदै ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारलाई जोडेको छ।

हिमाली जिल्ला ताप्लेजुङ पूर्वको कर्णालीको रुपमा पनि परिचित छ। भौगोलिक रुपले विकटता भए  ताप्लेजुङलाई .मुकुम्लुङ (पाथिभरा), विश्वको तेश्रो हिमशृङखला कञ्चनजंघाले  पर्यटकीय गन्तव्यको रुपमा थप परिचित बनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.