उच्च अदालतबाट महानगरका नाममा २५ वटा स्टे अर्डर

|
फाइल

काठमाडौं : काठमाडौं महानगरपालिका टुकुचा खोला उत्खनन गर्नबाट पछि हटेको छ । उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेशपछि महानगर टुकुचा भत्काउनबाट पछि हटेको हो।

कतिपयले ‘बेपत्ता’ खोला खोज्न लागेको भन्दै महानगरको तारिफ गरेका छन् भने कतिपयले आफैँले नक्सापास दिएको घरमा आफैँले अवैध भन्दै डोजर लगाउनु गलत भएको भन्दै आलोचना गर्दै आएका छन्।

३० भदौमा काठमाडौं महानगरपालिकाले टुकुचामाथि बनेका संरचना हटाउने अभियान शुरु गर्‍यो। १ सय वर्षभन्दा बढी भएको संरचनालाई पुरातात्विक सम्पदा भएको र जसको संरक्षण गर्नुपर्ने भन्दै अदालतमा मुद्दा दायर भयो।

उच्च अदालत पाटनले जय नेपाल हल, कमलादी क्षेत्रमा २६ असोजसम्मका लागि कुनै पनि संरचना नभत्काउन महानगरका नाममा आदेश जारी गरेसँगै महानगरको डोजरमा ब्रेक लागेको हो।

जय नेपाल हलस्थित टुकुचाको पुरिएको भाग उत्खनन गर्दा खोला भेटिएको थियो। मुद्दा परेसँगै पुरातत्व विभागले अध्ययन गर्ने भन्दै सो समयसम्मका लागि काम गर्न रोक लगाइएको छ। अदालतको आदेशपछि महानगरले ६ असोजदेखि नै टुकुचामा उत्खननको काम रोकेको  महानगरपालिकाले जनाएको छ।

अदालतले दैनिक स्टे अर्डर जारी गर्न थालेसँगै उत्खननको काम रोकिएको महानगरका एक कर्मचारीले बताए। ३१ भदौमा जय नेपाल हलस्थित प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्स प्रालिका भोलाविक्रम थापा, उत्तरमान लामासमेतले उच्च अदालतमा रिट दायर गरेका थिए ।

रिट दिनेमध्ये अधिकांशले ०३२, ०३८, ०४२, ०४५ सालमा महानगरबाट घर निर्माण इजाजतपत्र लिएर घर निर्माण गरेको दाबी गरेका छन्।

अदालतको  आदेशका कारण महानगरले सो क्षेत्रमा डोजर नचलाएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए। खोलामाथि घर बनाउनेलाई अदालतले संरक्षण गर्न नहुने उनको तर्क छ।

महानगरले के गलत गरेको छ? नक्सापास लिँदैमा खोलामाथि बनाएका घर नभत्काउने हो भने टुकुचाको बाँकी भूभाग खाली गराउन समस्या नहुने उनको भनाइ छ। अदालतले आदेश दिएकाले तत्कालका लागि सो काम रोकिएको उनले बताए। अब आदेशअनुसार काम गर्ने महानगरले जनाएको छ।

टुकुचा लुकाउन बनाइएको डुँड प्राचीन रहेको पुरातत्व विभागले जनाएको छ। अझै त्यसबारे अध्ययन भइरहेको पुरातत्व विभागका पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले जानकारी दिए।

विभागले समिति नै बनाएर टुकुचाको अध्ययन गरिरहेको छ। टुकुचाबारे अध्ययन गर्न गठित समितिले  केही दिनमा प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको छ।

‘त्यो संरचना राणाकालीन र प्राचीन हो भन्नेबारे धेरैलाई जानकारी भएकै विषय हो‚ त्यसका अलवा अन्य विषयमा गहन रुपमा अध्ययन भइरहेको छ‚’ विभागले  जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.