|

जनकपुरधाम : जनकपुरधामको मुख्य शक्तिपीठ माता राजदेवी सहितका शक्तिपीठ, मन्दिर र पण्डालमा प्रसाद चढाउने र खोइछ भर्नेको भीड लागेको छ।

फूलपातीको दिन आइतबारदेखि नै खोइछ भर्ने श्रद्धालु महिलाहरू शक्तिपीठमा गएर खोइछ भर्न शुरु गरेका थिए।

उता राजदेवी मन्दिरमा लड्डु, मिष्ठान परिकार र नरिवल सहितको प्रसाद चढाउनेको पनि अत्यधिक भीडभाड देखिएको छ। प्रसाद चढाउनेको लामो लाइन आइतबार मध्यरातदेखि नै लागेको थियो। मध्यरातदेखि राजदेवी मन्दिरमा खोइछ भर्ने नारीको पनि बाक्लो लाइन थियो।

करिब ३० हजारभन्दा बढीले प्रसाद चढाएको व्यवस्थापक महावीर युवा कमिटीको अनुमान छ। सोभन्दा बढी महिलाले खोइछ भरेका छन्। सन्तान र पतिको जीवन रक्षाका लागि नवरात्रमा खोइछ भराई गरिन्छ।

फूलपाती सम्पन्न भएपछि विवाहित महिला दुर्गा भगवतीको अगाडि सफा वस्त्र ओछ्याएर त्यसमाथि पान, सुपारी, नरिवल, सिन्दुर, चुडी, शृङ्गारका सामानहरु, नैवैद्य, रातो चुनरी सहितका विविध सामाग्री राखेर खोइछ भर्ने परम्परा रहेको छ।

मिथिलाञ्चलमा नवविवाहितालाई माइतीबाट बिदाई गर्ने वेलामा आफनो कुल देवतालगायत सम्पूर्ण परिवारको आशीर्वादस्वरुप खोइछ भरेर पठाउने परम्परा छ। त्यसैअनुरुप माता दुर्गा भवानीको समेत विवाहित महिलाले खोइछ भरेर आशीर्वाद लिने परम्परा चलिआएको छ।

शक्तिपीठ तथा दुर्गा मन्दिरमा फूलपातीपछि दुर्गाको प्रतिमामा आँखा खुलेपछि खोइछ भर्ने गरिन्छ।

सोमबार साँझ ७ बजेर ३० मिनेटपछि राजदेवी मन्दिरमा बोकाको बली दिइनेछ। राजदेवी मन्दिरमा प्रत्येक वर्ष १५ हजारको हाराहारीमा बोकाको बली दिइने गरेको छ।

दशैंमा ९ दिनसम्म शक्तिपीठ तथा घरमा पूजा अर्चनासहित दुर्गा भगवतीको स्तोत्र पाठ गरिन्छ। ​नवरात्रको आज आठौं दिन महागौरीको पूजापाठ गरिएको छ। प्रत्येक दिन नवदुर्गाको एक–एक स्वरूपको आराधना गरिने परम्पराअनुरूप आश्विन शुक्ल अष्टमी तिथिमा देवी महागौरीको पूजा–आराधना गरिन्छ।

नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुस्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्री देवीको पूजा गर्ने परम्परा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.