काठमाडौं : बाबरी फिल्मको निर्माण पक्षले सिनेमा हल हाउसफुल भए पनि हलहरूले पर्याप्त शो नदिएको आरोप लगाएको छ।
निर्माण पक्ष र कलाकारले आज फिल्मको माग धेरै हुँदा पनि पर्याप्त शो नदिनु दुःखद् भएको गुनासो पोखेका छन्। बाबरी यही असोज १४ गते प्रदर्शनमा आएको हो।
आज (सोमबार) काठमाडौंमा आयोजित पत्रकार सम्मेलन गरि उनीहरुले यस्तो गुनासो पोखेका हुन्। फिल्मका निर्देशक सुरेन्द्र पौडेलले राम्रो फिल्म बन्दा र दर्शकले पनि राम्रो साथ दिँदा राज्य संयन्त्रले किन उचित व्यवस्था नगरेको भन्दै प्रश्न गरे।
उनले भने, ‘राज्य संयन्त्र के हेरेर बसेको छ? निर्माताहरू र फिल्मकर्मीहरु रुनुपर्ने कारण के हो?’ उनले नियामक निकायमा बसेकाले नेपाली फिल्मको विकास र वृत्तिमा ध्यान दिनुपर्नेमा जोड दिए।
पौडेलले नेपाली फिल्म चलाउनेबारे सही नीति र नियम बनाउनुपर्ने कुरा उठाए। उनले भने, ‘दशैंको टीकाको दिनसम्म फिल्म चल्छ। दर्शकको राम्रो प्रतिक्रिया छ, यस्तो अवस्थामा पनि किन पर्याप्त शो पाईँदैन? यो प्रश्नको विषय बनेको छ।’
यस्तै अवस्था रहे चलचित्र विकास बोर्ड खारेज गरे हुने धारणा उनले राखे।
उनले भने, ‘समस्याको समाधान गर्न नसके भुवन केसीले अध्यक्षबाट छोड्नुपर्यो। उहाँ नेपाली फिल्मको विकासको लागि जानुभएको होईन र? फिल्मको विकास नगर्ने हो भने विकास बोर्ड खारेज गर्दा हुन्छ। जहिल्यै पनि फिल्म लगाउने बेलामा समस्या हुन्छ। बाबरी राम्रोसँग चलेको छ। दर्शकहरु २/३ पटक हेर्न जानुभएको छ। शो छैन भन्ने गुनासो आएको छ। भुवन दाईलाई भनेको हुँ तर केही थाहा छैन भन्नुभयो। नेपाल फिल्म विकास बोर्ड किन राखेको? नेपाली फिल्मको प्रवद्र्धन गर्नको लागि होइन र? अहिले हलवालाहरुले शोहरु घटाईरहेका छन्। हलवालाहरुलाई पनि राज्यले आफ्नो दायराभित्र ल्याउनुपर्छ।’
नेपाल फिल्म निर्माता संघका अध्यक्ष नवल खड्काले नेपाली फिल्मको विकासको लागि आफूहरुले जहिल्यै पनि आवाज उठाएको बताएका छन्। उनले बाबरी फिल्मको मात्रै नभएर नेपाली भाषामा बनेका फिल्म टिक्ने अवस्था नरहेको सुनाए।
उनले भने, ‘यो दुर्भाग्य नै हो। पाकिस्तानको फिल्म उद्योग ध्वस्त भयो। नेपाली भाषामा बनेका फिल्मले राम्रो स्पेश पाउनुपर्छ। नेपाली चाडबाडमा नेपाली भाषाका फिल्ममात्रै चल्नुपर्छ। अहिले नेपाली संस्कृति खत्तम पार्ने काम भैरहेको छ। राष्ट्रिय फिल्म, नेपाली भाषाको पक्षमा वकालत गर्न चाहन्छु। नेपाल फिल्म विकास बोर्डलाई अझै पनि स्वायत्तता प्रदान गरेको छैन। विदेशी फिल्मको प्रवद्र्धन गर्ने हो भने बोर्ड खारेज गर्नुपर्छ।’
खड्काले नेपाली फिल्म सधैं रक्षात्मक पंक्तिमा रहने हो भने बोर्डको के काम भन्दै प्रश्न उठाए। उनले नेपाली फिल्मको हितको लागि आफूहरु चाँडै आन्दोलनमा जाने पनि चेतावनी दिए।
उनले विदेशी फिल्म महिनाको एक पटक मात्रै चलाउने कोटा ल्याउनुपर्ने र नेपालमा विदेशी फिल्मलाई कोटा सिस्टममा लैजानुपर्ने बताए। ‘यसको लागि हामी नेपालका चाडबाड सकिनेबित्तिकै आन्दोलन गर्छौं। नेपाली भाषा समाप्त पार्ने षड्यन्त्र हामीलाई मान्य छैन‚’ उनले भने। उनले बाबरी फिल्म राम्रो बनेको भन्दै शो को समय पर्याप्त दिनुपर्ने माग गरे।
बाबरी फिल्मका नायक धीरज मगरले शो अझै पाउनुपर्ने बताए। उनले फिल्म हेर्न दर्शकको उत्साहजनक सहभागिता रहेको सुनाए।
उनले भने, ‘फिल्मले राम्रो रेस्पोन्स पाएको छ। शो हाउसफुल भएको छ। हिजो २ बजेको शो हाउसफुल थियो। पोखरा, दमक, धरान, दांङ सबैमा हाउसफुल भएको छ। बाबरीलाई दर्शकले माया दिनुभएको छ। त्यति नै शोहरु पाउनुपर्यो। राम्रो मुभी छ। सपोर्ट होस् भन्न चाहन्छु।’
उनले नेपाली फिल्मलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। उनले आफू पनि विदेश छोडेर नेपालमा नै फिल्म उद्योगमा योगदान गर्न आएको सुनाए। उनले दशैंको समयमा शो घटाउनु दुःखदायी भएको सुनाए।
फिल्मकी नायिका अदिति बुढाथोकीले पनि शो पाउनुपर्ने बताईन्। उनले भनिन्, ‘हाम्रो मुभिजलाई शो बढाउनुपर्छ। सम्बन्धित व्यक्तिहरुले सपोर्ट गर्नुहुन्छ होला। समस्या आएपछि र समय आउँदा बोल्नुपर्छ। हामी त नेपालमा धेरै मुभि बनाउने भनेर आएका हौं। हाम्रो समस्याको पनि समाधान हुन्छ होला।’
निर्माता पुष्पलता बुढाथोकीले सरकारले केही सहयोग गरे हुन्थ्यो भन्ने धारणा राखिन्। उनले आफूहरुले फिल्म बनाउँदा यस्तो समस्या आउँछ होला भनेर अनभिज्ञ रहेको सुनाईन्।
उनले अहिले फिल्मको शो घटाईएको सूचना आएको भन्दै कसको कारण यस्तो भएको होला भनेर थाहा नभएको सुनाईन्। उनले आफूलाई परेपछि सबै कुरा थाहा हुने भन्दै अहिले समस्या परेकोले बोलेको बताईन्।
सुरेन्द्र पौडेलको निर्देशनमा बनेको सिनेमामा अदितिले धीरज मगर र धीरज नाडकरसंग जोडी बाँधेकी छन्। त्रिकोणात्मक प्रेमकथाको सिनेमामा बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दीलिप गुरुङ, डिचेन्ला वान्ग्मो ठुंगोनको पनि अभिनय छ।
सिजन दाहाल, मनोज त्रिपाठी, रीत बोहरा र किशोर नेपालको लेखन रहेको सिनेमामा नरेन्द्र मैनालीको छायांकन, कालीप्रसाद बाँस्कोटा/सुजन चापागाईं/अनमोल गुरुङको संगीत र निर्देशक पौडेलको सम्पादन छ। बाबरी फिल्म्सको व्यानरमा निर्मित सिनेमामा गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीको निर्माण छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।