|

बैतडी : बैतडीका विभिन्न भगवती मन्दिरमा आज महाअष्टमी जात्रा सम्पन्न भएको छ।

जिल्लाको दशरथचन्द नगरपालिका-२ देहिमाडौंस्थित निङलाशैनी भगवती मन्दिर, पुर्चौडी नगरपालिका-९ मा रहेको दुर्गा भवानी मन्दिर, मेलौली नगरपालिकामा रहेको मेलौली भगवती मन्दिर, सुर्नया गाउँपालिका-५ मा रहेको फाल्ङासैन मन्दिर लगायतका शक्तिपीठमा बलिसहित जात्रा सम्पन्न भएको हो।

यहाँका मन्दिरमा महाअष्टमीको अवसरमा करिब एक हजार बलि दिइएको छ।

निङलाशैनी मन्दिरमा ३९६ राँगा र २ सयभन्दा बढी बोकाको बलि दिएको दशरथचन्द नगरपालिका-२ का वडा अध्यक्ष सूर्यबहादुर बोहराले जानकारी दिए। यहाँको निङलाशैनी मन्दिरमा नेपालका विभिन्न जिल्लाका साथै भारतीय दर्शनार्थी पनि आएका थिए।

सप्तमीका दिन बाँधिएका राँगा तथा बोकाको महाअष्टमीमा विशेष पूजाआजासहित बलि दिइएको निङलाशैनी धार्मिक सेवा समितिले जनाएको छ।

मेलौली भगवती मन्दिरमा पनि घटस्थापनाका दिनदेखि नै विशेष पूजाआजासहित बलि दिइने गरिएको छ। नवरात्रि शुरु भएको दिनदेखि अष्टमीको दिनसम्म ८१ राँगा र १३५ बोकाको बलि दिइएको छ।

दुर्गा भवानी भगवती मन्दिरमा ११ राँगा र ४० भन्दा बढी बोकाको बलि दिइएको मेला व्यवस्थापन समितिले जनाएको छ। सुर्नया गाउँपालिका-५ मा रहेको फाल्ङासैन मन्दिरमा पनि राँगा तथा बोकाको बलि दिइएको छ।

मंगलबार नवमीको दिन पनि जिल्लाको शिवनाथ गाउँपालिका-५ मा रहेको उदयदेव मन्दिरमा बलिसहित पूजाआजा हुनेछ। अष्टमीको दिन राँगा तथा बोका बाँधिने छन् भने नवमीको दिन बलिसहितको जात्रा हुनेछ।

यसैबीच जात्राको बेला भक्तजनलाई व्यवस्थित र बलिको क्रममा भागदौड हुने भएकाले पर्याप्त संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए।

भगवती मन्दिरमा लाग्ने जात्रा शान्त र भव्य रुपमा सम्पन्न गर्न जात्रा वरपरको क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.