|

काठमाडौं :  दुर्गापक्षको मुख्य दिन आज विजयादशमीको दिन मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको टिका लगाउन घर-घरमा सुरु गरिएको छ।

 टीका प्रसाद ग्रहण गर्ने साइत नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११:५१ बजेको साइत उत्तम रहेको जनाएपछि सबैले घर-घरमा लगाउन थालेका हुन्।

नवरात्रको नौ दिनसम्म विधिपूर्वक नवदुर्गाको पूजा आराधना गरिएको दशैँ घर वा पूजा कोठामा आज विजयादशमीका दिन बिहान देवी विसर्जन गरिन्छ।

आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ। जमराले विभिन्न रोग व्याधीमा औषधिको रुपमा काम गर्ने तथ्य वैज्ञानिकरुपमा समेत पुष्टि भइसकेको छ। कोरोना भाइरस एवं डेङ्गुको सङ्क्रमण फैलिरहेकाले जमराको जुस सेवन गर्नाले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने आयुर्वेदका चिकित्सकको भनाइ छ।

त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ। यसैले आजको दिनलाई विजयको प्रतीकका रुपमा पनि लिइन्छ। आज गुरु पुरोहित, हजुरबा, हजुर आमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.