|

तनहुँ : तनहुँ कारागारमा रहेका कैदीबन्दी आफन्तसँग टीका लगाउन पाउँदा खुशी भएका छन्। विजयादशमीको दशौँ दिन आज कारागारभित्रै आफन्तसँग टीका लगाउन पाउँदा कैदीबन्दी खुशी भएका हुन्।

कोरोना संक्रमणपछि पहिलो पटक कैदीबन्दीले आफन्तको हातबाट टीका लगाउन पाएका हुन्। विगत वर्ष कोरोनाको जोखिमका कारण आफन्तबाट टीका लगाउन रोक लगाइएको थियो।

कारागारमा पुर्पक्षका लागि थुनामा रहेका एक कैदीबन्दीले दशैँका दिन आफन्तसँग भेटघाट गर्दै टीका लगाउन पाउँदा खुशी लागेको बताए । दशैँका बेला निधार खाली हुन्छ कि भन्ने चिन्ता थियो तर आफन्तसँगै टीका लगाउन पाएर एकदमै खुशी लागेको छ,’ उनले भने।

‘यो वर्ष आफन्तको हातबाट टीका लगाउन पाउने व्यवस्था मिलाएका हौँ,’ कारागारका निमित्त प्रमुख नारायण अधिकारीले बताए, ‘आफन्तसँग टीका लगाउन पाउँदा कैदीबन्दीले राम्रो मान्नुभएको छ।’ उनका अनुसार दिउँसो १ः३० बजेसम्म ३४ जना कैदीबन्दीले आफन्तको हातबाट टीका लगाएका छन्।

बिहानैदेखि झरी परेकाले उनीहरूका आफन्त आउन ढिलाइ भएको हुनसक्ने उनले बताए। ‘झरीले केही समस्या बनाए पनि टीका लगाउने व्यवस्थापन मिलाएका छौँ,’ अधिकारीले भने ।

कैदीबन्दीले दशैँ मनाउन खसीबोका खरिद गर्न कोष बनाएका थिए। कोषमा सबै कैदीबन्दीले रकम जम्मा गरेका छन्। सोही कोषमा जम्मा गरिएको रकमले खसी, कुखुरालगायत खरिद गरिएको छ।

‘सरकारले दशैँ खर्चबापत प्रत्येक कैदीबन्दीलाई ३ सय रूपैयाँका दरले रकम उपलब्ध गराउँछ, सोही रकम र मुढा बिक्री गरेर कमाएको पैसा कैदीबन्दीले कोषमा राखेका छन्। त्यही रकमबाट आवश्यक सामग्री खरिद गरी रमाइलो गरिएको छ,’ अधिकारीले भने। तनहुँ कारागारमा १२ महिलासहित २ सय ८७ जना कैदीबन्दी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.