|

दाङ : अविरल वर्षाले दाङका नदी तथा खोलामा पानीको बहाव बढेसँगै स्थानीय त्रसित भएका छन्।

बबईमा पानीको बहाव बढेसँगै तुलसीपुर बखरिया, कचिला, मोतिपुुरका बासिन्दा त्रसित भएका छन् भने अमिलिया तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुरको सितलपुरमा रहेको पुलदेखि दक्षिणतर्फ कजवेमा पानीको बहाव बढेकाले बिहानदेखि तुलसीपुरतर्फ आउने यात्रु र अमिलिया हुँदै बाँके जाने यात्रु अलपत्र परेको स्थानीय देवीराम कुसारीले जानकारी दिए।

उनका अनुसार सितलपुरस्थित बखरिया क्षेत्रमा पनि डुबान भएको छ। बिहान ११ बजेदेखि अमिलिया‚ तुलसीपुर सडकखण्डको बखरियामा यात्रु अलपत्र परेका हुन्।

तुलसीपुर उपमहानगरपालिका-१२ का वडाध्यक्ष खुशीराम चौधरीले आफूहरू अहिले सितलपुरमा रहेको र बबईमा पानीको बहाव बढिरहेको हुँदा उद्धारमा समस्या भइरहेको बताए।

उनका अनुसार बखरियामा रहेका यात्रुहरूलाई ल्याउन उपमहानगरको एउटा टिपर पठाएको भए पनि टिपरले मुश्किलले पार गरेर गएको हुँदा जोखिम बढीरहेको छ।

उनले भने, ‘पुलदेखि दक्षिणतर्फ नदी पसेको छ। त्यसमा पनि रुख ढलेका कारण टिपर मुश्किलले बखरिया पुगेको थियो। अब रुख नहटाउँदासम्म टिपर यता आउन गाह्रो छ। अहिले उपमहानगरबाट २ वटा जेसिबी मगाएका छौँ। रात पनि परिसकेको छ। नदीमा पानीको बहाव अझै बढीरहेको छ।’

उनले सितलपुरमा रहेका यात्रुहरु तुलसीपुरतर्फ फर्कन सक्ने भए पनि अमिलियाबाट बखरिया आएका यात्रु भने उता फर्कन नसक्ने बताए। उनले अमिलियाबाट आउदा बीच बाटोमा रुख ढलेका कारण केही यात्रु बखरिया र केही डाँडामा रहेको बताए।

उनले विगतमा पनि धेरै क्षति गरेको हुँदा जोखिम क्षेत्रका बासिन्दाहरुलाई सजग हुन आग्रह गरेको‚ कुनै समस्या भए तत्काल जानकारी गराउन समेत अनुरोध गरेको बताए। उनका अनुसार यस्तै वर्षा निरन्तर भइरहे बखरिया, कचिला, मोतिपुर, बेलटाकुरा जस्ता बस्ती डुबानमा पर्न सक्छन्।

खहरे खोलाहरूमा आएको बाढीले घोराही-तुलसीपुर सडक बन्द रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। घोराही-तुलसीपुर सडकअन्तर्गत माथिल्लो भाइरल रोडबाट यात्रा गर्नु पर्नेछ।

लगातार वर्षाका कारण राप्ती नदीमा पानीको बहाव बढेको छ। बुधबार दिउँसो साढे १ बजे खतराको तह पार गरी ५ दशमलव ४५ मिटर पुगेको छ, यो खतराको तह हो। राप्तीले खतराको तह पार गरेको भन्दै नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

गएरातिदेखि लगातारको वर्षाका कारण देउखुरीका विभिन्न क्षेत्र जलमग्न भएका छन्। निरन्तर वर्षाका कारण देउखुरीको विभिन्न वडा जलमग्न भएका हुन्। राप्ती आसपासका बस्ती जलमग्न भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.