|

म्याग्दी : म्याग्दीमा बेमौसमी वर्षा र हावाहुरीका कारण सयौँ हेक्टर क्षेत्रफलमा गरिएको धानबालीमा क्षति पुगेको छ।

असोज १७ गते रातिदेखि अहिलेसम्म अविरलरुपमा भएको वर्षा र हावाहुरीका कारण पानीले भिजेर र हावाहुरीले धानका बोट ढलाएर धान बालीमा क्षति पुगेको स्थानीय तहका कृषि प्राविधिकहरुले जनाएका छन्।

पाक्नै लागेका धानको बोट हावाहुरीले ढलाएर र पानीले भिजाएर क्षति पुर्‍याएको हो। कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार जिल्लाभर तीन हजार ८९२ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ। जिल्लाको लेकाली क्षेत्रमा पाकेर काट्ने बेलाको धान लगातारको वर्षाले भिजेर खेतमा नै धानको दाना झरेका कारण क्षति पुगेको छ भने तल्लो क्षेत्रमा पाक्ने लागेका धानको बोट हावाहुरीले ढलाएपछि दाना पोटिलो नहुनुका साथै खेतमा नै दाना झरेकाले उत्पादन कम हुने देखिएको छ।

जिल्लाका रत्नेचौर, बगरफाँट, फापरखेत, गरापानी, खबरा, सीम, बाबियाचौर, पुलाचौर, अर्मन, कुहूँ, देवीस्थानलगायतका ठाउँमा लगाइएको धानबालीमा क्षति पुगेको स्थानीय कृषकले बताएका छन्।

यस वर्ष धानमा रोग किराको प्रकोप नदेखिएको र सिँचाइको सुविधा पनि पुगेकाले विगतका वर्षका तुलनामा धान उत्पादनमा वृद्धि हुने किसानले आशा गरेका थिए। तर, थन्क्याउने बेलामा भएको बेमौसमी वर्षा र हावाहुरीका कारण धान बालीमा क्षति पुगेपछि बेनी नगरपालिका २ ज्यामरुककोटका किसान नारायण सापकोटाले बताए।

म्याग्दीमा गौरिया, जेठो बुढो, जर्नेली, पहेँले, मार्सी, ताकमारे, भट्टे, छमरुङ, माछापुच्छ्रे, अन्नपूर्ण ३, खुमल ४, खुमल १०, लुम्ले २ लगायतका उन्नत जातका धान खेती हुने गर्छ। वार्षिक चार हजार मेट्रिकटन धान उत्पादन हुने केन्द्रको तथ्याङ्क छ।

जिल्लाको उच्च पहाडी क्षेत्रमा भिरालो जमिन र सिँचाइ आवश्यक नपर्ने घैया जातको धान खेती हुन्छ। पछिल्लो समय कृषि औजार र उपकरणको प्रयोगप्रति कृषकको आकर्षण बढेको छ। हल गोरुको विकल्पमा मिनिट्रिलर हलो, ट्रयाक्टरको प्रयोग गर्न थालेका छन्। ठूला गह्रा भएका र फाँटका खेतमा बाँझो जोत्नेदेखि रोपाइँ गर्न ट्रयाक्टर र मिनिट्रिलर प्रयोग गरेका छन्।

गोरुले एक दिनमा जोत्ने खेत ट्रयाक्टर र मिनिट्रिलरले एकै घण्टामा सक्ने हुँदा काम छिटो हुने बगरफाँटका कृषक भीमबहादुर रिजालले बताए। गत वर्ष तीन हजार ९२५ हेक्टरमा १३ हजार ६२६ मेट्रिक टन धान उत्पादन भएकोमा धान भित्र्याउने समयमा भएको मौसमी प्रतिकूलताका कारण उत्पादन घट्ने भएको छ।

म्याग्दीको धवलागिरि गाउँपालिका वडा नं १ गुर्जामा यस वर्ष असोजमा नै हिमपात भएको छ।

विगतका वर्षहरुमा पुसको अन्तिम सातादेखि हिमपात हुने गुर्जामा यस वर्ष असोजमा नै हिमपात भए पछि स्थानीय चिन्तित भएका छन्।

विगत चार दिनदेखि भएको निरन्तर वर्षा अझै रोकिएको छैन। वर्षासँगै हिमपात भएपछि गुर्जाका लेकाली क्षेत्रहरु सेताम्यै भएका र अत्यधिक चिसो बढेपछि स्थानीयलाई सास्ती भएको धवलागिरि गाउँपालिका वडा नं १ गुर्जाका वडाअध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए।

धवलागिरि गाउँपालिकाका प्रवक्तासमेत रहेका छन्त्यालले आफू जान्ने भएदेखि असोजमा कहिल्यै पनि हिमपात भएको थाहा नपाएको बताए।

हिमपातका कारण विशेष गरी वृद्धवृद्धा, बालबालिका र पशु चौपायालाई सास्ती भएको छन्त्यालले जानकारी दिए। विगतमा हिमपात हुँदा खुसी हुने किसानहरू यसवर्ष भने असोजमा नै हिमपात भएकोले चिन्तित छन्।

हिमपातले खेतीबालीमा राम्रो हुने भए पनि यस वर्ष खेतीबाली लगाउने समय अगाडि नै हिमपात भएकाले किसानहरू चिन्तित भएका हुन्।

समुद्री सतहबाट ३ हजार ३ सय २० फिट उचाइमा अवस्थित गुर्जामा बाक्लो हिउँ परेको छन्त्यालले जानकारी दिए। यसैगरी मनाङको उच्च लेकाली क्षेत्रमा पनि हिमपात भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.