|

मुस्ताङ : हिमालपारिको जिल्ला मुस्ताङमा बेमौसमी वर्षाका कारण बाढी र पहिराले जनजीवन प्रभावित भएको छ।

मुस्ताङ घुम्न गएका आन्तरिक तथा बाह्य पर्यटक बिच बाटोमा नै अलपत्र परेका छन्। माथिबाट पहिरो र तलबाट बाढी आए पछि कतिपय पर्यटकले त्रासमा परेका छन्। उनीहरूले उद्धारका लागि सामाजिक सञ्जालबाट अपिल समेत गरेका छन्।

मुस्ताङको घोप्टेभीर, मार्फा, कागबेनी, पाण्डाखोला, छुसाङलगायत क्षेत्रमा आएको बाढी, पहिरोले सडक सञ्जालमा क्षति पुर्‍याएको छ। अविरल वर्षाका कारण सडकभन्दा माथिबाट ठूल्ठूला ढुंगा, लेदो माटो र गेगरसहितको बाढी आएपछि सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। वर्षा र बाढी पहिरोकै कारण सडक ठप्प हुनुका साथै हवाइ उडान बन्द भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए।

यस्तै मार्फाको फाराम खोलामा आएको बाढीले शीतोष्ण बागवानी विकास केन्द्र आसपासको क्षेत्रमा बाढी पसेको छ। शर्माले बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रतिनिधि र कामदार दशैँ मनाउन विदामा गएकाले मेशिन प्रयोग गरेर फाराम खोलाको बाढी तर्काइएको उनको भनाइ छ। मेशिन सानो भएकाले समस्या भएको जानकारी दिए। 

यसैबीच पाँच दिनदेखिको प्रतिकुल मौसमका कारण जोमसोम विमानस्थलमा जोमसोम–पोखरा हवाइ उडानसमेत नहुँदा पर्यटक समस्यामा परेका छन्। खराब मौसमले गर्दा हवाइ उडान नहुँदा मुस्ताङ भ्रमणमा रहेका नेपाली तथा विदेशी पर्यटक, पदयात्री, साइकल यात्री मुस्ताङमै रोकिएका प्रजिअ शर्माको भनाइ छ। बेनी–जोमसोम सडक खण्डको ठाउँ–ठाउँमा पहिरो खसेर सडक बन्द भएपछि मुस्ताङमा रहेका पर्यटकलाई जोखिमपूर्ण यात्रा नगर्न र सुरक्षित रहन निर्देशन दिएको उनले बताए।

वर्षाले बेनी–जोमसोम सडक खण्डअन्तर्गत म्याग्दी खण्डको बैंसरी, नैनीबगर र रुप्से खोलामा सडकभन्दा माथिबाट पहिरो खसेर सडक बन्द भएको म्याग्दीका प्रहरी नायब उपरीक्षक (डीएसपी) तिलक भारतीले जानकारी दिए। यसैगरी पश्चिम म्याग्दी भेग भएर जलजला–ढोरपाटन हुँदै रुकुम जोड्ने बेनी–दरबाङ सडक खण्डको घुमाउनेभीर र बाङ्गेपहिरो भन्ने ठाउँमा पनि पहिरो खसेर सडक बन्द भएको छ। वर्षाले म्याग्दीका ग्रामीण क्षेत्रका सडकहरू पनि हिलाम्मे हुनुका साथै अस्तव्यस्त बनेका छन्। 

त्यस्तै अविरल वर्षासँगै म्याग्दीको पर्यटकीय क्षेत्र खोप्रालेक, गूर्जाखानीलगायत उच्च लेकाली क्षेत्रमा हिमपात भएको छ। मुस्ताङको मुक्तिनाथको डाँडाकाँडासहित धौलागिरि र निलगिरि रेन्ज तथा चौरीखर्क क्षेत्रमा हिउँ परिरहेको मुस्ताङ प्रहरीले जनाएको छ। भारी वर्षासँगै हिमपात भएपछि मुस्ताङमा चिसो महशुस गरिएको छ। सडक बन्द हुँदा मुस्ताङको स्याउ, आलुलगायत कृषिजन्य उत्पादनहरू ढुवानी हुन पाएको छैन। 

अविरल वर्षाको बाबजुुद पनि म्याग्दी र मुस्ताङको पर्यटकीय क्षेत्रमा पर्यटक भने पुगेका छन्। राउण्ड अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने म्याग्दी जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य घोरेपानी र पुनहिल क्षेत्रमा अहिले दैनिक १०० जनाको हाराहारीमा विदेशी पर्यटक भ्रमणमा आएका इलाका प्रहरी कार्यालय घोरेपानीले जनाएको छ। 

मार्फाको फाराम खोला उर्लियो, स्थानीय त्रसित

मुस्ताङको मार्फास्थित फाराम खोला उर्लिदा स्थानीय त्रसित बनेका छन्। लगातारको अविरल वर्षासँगै शुक्रबार बिहान ४ बजेदेखि फाराम खोलाको बाढी उर्लिन थालेको हो। बाढीले मार्फास्थित कालोपत्रे सडक र आंशिक स्याउबारीमा क्षति पुर्‍याएको छ।

अविरल वर्षासँगै एकसाथै बाढी उर्लिएर आए पनि तत्कालको जोखिम भने टरेको बताइएको छ। मार्फास्थित धौलागिरी हिमालको फेदबाट बग्ने फाराम खोला अकल्पनीय रूपमा उर्लिएको मार्फाका स्थानीय दिपक लालचनले जानकारी दिए।

उनका अनुसार खोलाको बहावले मार्फा सामुदायिक भवनलगायत त्यस आसपासका केही घर उच्च जोखिममा परेका थिए भने स्थानीय र शीतोष्ण वागवानी विकास केन्द्रको स्याउबारी जोखिममा परेको थियो।

बाढीले हिमालको फेदबाट लेदो माटो ,गेग्रान र रुख बगाएर बस्ती नजिक ल्याइपुर्‍याएको थियो। बाढीले मार्फा–टुकुचे राष्ट्रिय राजममार्ग सडकसमेत अवरुद्ध बनाएको थियो।

मार्फाको फाराम खोलामा बाढी आएपछि घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन,वडाध्यक्ष, कार्यपालिका सदस्य,जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीयबासी बाढीग्रस्त क्षेत्रमा पुगेका थिए। गाउँपालिकाको पहलमा अहिले डोजर परिचालन गरी फाराम खोलालाई नियन्त्रणमा लिइएको छ। मार्फाका स्थानीय अमर घतानेले बाढीले खोलाको ‘स्पेस’मा पुरै लेदो माटोले भरिएको र पुन: बाढी आए ठूलो विपद् निम्तिन सक्ने बताए।

राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अन्तर्गत मुस्ताङ र म्याग्दीका विभिन्न स्थानमा सडक अवरुद्ध छ। निरन्तर वर्षा भइरहेकाले सडक मर्मत गरी सडक आवागमन सञ्चालन गर्न अप्ठ्यारो परेको छ।

यस्तै, लगातारको वर्षाका कारण उपल्लो मुस्ताङका उच्च पहाडी क्षेत्रमा हिमपात भइरहेको लोमान्थाङ–५ का वडासदस्य छेवाङ रिङझिङ गुरुङले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.