|

म्याग्दी : भोलि असोज २३ अर्थात् प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ता गर्ने दिन। गठबन्धनतर्फबाट हिजो सिट बाँडफाँटमा प्रतिनिधिसभामा म्याग्दी नेकपा (माओवादी) को पोल्टामा परेपछि कांग्रेसमा तीव्र असन्तुष्टि उत्पन्न भएको छ।

प्रतिनिधिसभा निर्वाचनका लागि म्याग्दीबाट यस पटक पनि नेकपा एमाले र नेकपा – माओवादी दुई वामशक्तिका बीचमा नै प्रतिष्पर्धा हुने भएको छ।​

आगामी मंसिर ४ गते हुने संघ र प्रदेशसभा निर्वाचनका लागि शुक्रबार राति अबेरमात्र सत्ता गठबन्धनले सिट बाँडफाँड र नेकपा एमालेले उम्मेदवार चयन प्रक्रिया टुंगाएको छ।

बाहिर मौसम चिसो छ। लगातार पाँच दिनको बेमौसमी झरीपछि आज शनिवार घाम झुल्कँदा नेकपा एमालेमा नयाँ उत्साह थपिए पनि सत्ता गठबन्धन दलहरुमा भने असमन्जस्यको स्थिति उत्पन्न भएको छ।

सत्ता गठवन्धनको तर्फबाट प्रतिनिधि सभाका लागि म्याग्दी नेकपा माओवादीको भागमा परे पनि प्रदेशको चाहना राखेको माओवादी पनि संघ पाउँदा खासै खुशी नभएको बुझिएको छ।

सत्ता गठबन्धनको तर्फबाट सिट बाँडफाँडको प्रक्रियामा म्याग्दी कांग्रेस कत्ति पनि सन्तुष्ट छैन। आज म्याग्दी कांग्रेसको पार्टी कार्यालयमा आयोजित एक छलफल कार्यक्रममा सहभागी अधिकांश नेता, कार्यकर्ता र भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले नेपाली कांग्रेसको केन्द्रीय समिति र प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले म्याग्दी कांग्रेसलाई ठूलो अन्याय गरेको भनी असन्तुष्टि व्यक्त गरे।

छलफल कार्यक्रममा सहभागी अधिकांश कांग्रेसी प्रतिनिधिहरुले कांग्रेसका केन्द्रीय नेताहरुलाई म्याग्दी प्रवेशमा रोक लगाउनेदेखि केन्द्रीय कार्यालयमा तालाबन्दी गर्नुपर्नेसम्मका विरोधका कार्यक्रमहरु म्याग्दी कांग्रेसका नेताहरुले गर्नुपर्ने बताए।

उनीहरुका अनुसार गठबन्धनमा करिव ७० प्रतिशत मत कांग्रेसको र ३० प्रतिशतको हाराहारीमा मात्र नेकपा माओवादीको रहेकोमा माओवादीलाई संघ दिएर कांग्रेसका नेतृत्वले म्याग्दी कांग्रेसका नेता, कार्यकर्ता र समग्रमा जनताको नै अपमान गरेकोले त्यसको परिणाम कांग्रेसको केन्द्रीय समितिले भोग्नुपर्ने र आफूहरु विचार र सिद्धान्तविहीन हुन नसक्ने भएकोले मतदानको क्रममा केन्द्रीय निर्देशन नमान्नेसम्मका चेतावनी दिए।

म्याग्दी कांग्रेसका कार्यकर्ताहरूको यो चेतावनी केवल क्षणिक आवेग मात्र नभएर पटक पटक केन्द्रले गरेको अपमानको प्रतिशोध पनि हो।

२०६४ सालदेखि २०७९ सालसम्म आइपुग्दा कांग्रेसको केन्द्रीय नेतृत्वले म्याग्दी कांग्रेसलाई कहिल्यै पनि न्याय नगरेकोले अब केन्द्रका निर्देशन र निर्णय उपर आँखा चिम्लेर समर्थन गर्न नसकिने अधिकांश कार्यकर्ताहरूको भनाइ रहेको छ।

भोलि मनोनयन दर्ता गर्नुपर्ने छ। तर, आजसम्म म्याग्दी कांग्रेसका पार्टी सभापति तथा शीर्षस्थ नेताहरु जिल्लामा छैनन्। उता नेकपा एमालेले भने सम्पूर्ण तयारी पूरा गरेको छ।

म्याग्दीमा संघतर्फ नेपाली कांग्रेसको भागमा पर्दछ भन्ने लगभग निश्चित जस्तै थियो। कांग्रेस नेता कार्यकर्ता ढुक्क जस्तै थिए। तर शुक्रबार राति अचानक माओवादीको भागमा पर्दा म्याग्दी कांग्रेस र कार्यकर्ताहरु निराश भएका छन्।

म्याग्दी कांग्रेसका पुराना नेता नेत्रबहादुर महत, संविधानसभा सदस्य तथा भूतपूर्व पार्टी सभापति रेशमबहादुर बानियाँ लगायतका नेताहरुले केन्द्रको निर्णयप्रति तीव्र असन्तुष्टि व्यक्त गरे।

माओवादी पनि भित्रैदेखि छैन खुशी

संघको टिकट पाए पनि नेकपा माओवादी सत्ता गठबन्धन केन्द्रको निर्णयप्रति त्यति सन्तुष्ट नभएको बुझिएको छ।

नेकपा माओवादीका एक नेताले थाहा खबरसँग कुरा गर्दै पार्टीको चाहना प्रदेश भएको र प्रदेशका दुईवटै निर्वाचन क्षेत्र नेकपा माओवादीको रोजाइमा रहेकोमा संघ आफ्नो जिम्मामा परे पनि त्यो अप्रत्यासित भएको प्रतिक्रिया दिए।

माओवादीले केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य गोविन्द पौडेल, नेताहरु चन्द्रबहादुर घिमिरे र खुमनाथ सुवेदीलाई प्रतिनिधिसभाको उम्मेदवारका लागि यसअघि नै सिफारिस गरेको थियो।

गठबन्धनका तर्फबाट गोविन्द पौडेल उम्मेदवार बन्ने पक्कापक्की भएको माओवादीका नेता शेरबहादुर केसीले बताए। उनले भने, ‘केन्द्रबाट नै निर्णय भएर आएपछि हामीले केही गर्न सक्ने अवस्था छैन। केन्द्रको निर्णय मानेर निर्वाचनमा जानुको विकल्प हामीसँग छैन। यो कुरामा कांग्रेसका साथीहरु पनि तयार हुनुपर्दछ।’

नेकपा एमाले उत्साहित

नेकपा एमालेमा सज्जन र प्रभावशाली मानिएका हरिकृष्ण श्रेष्ठ उम्मेदवार बन्ने निश्चित भएपछि उत्साहित बनेको नेकपा एमाले प्रतिस्पर्धीको रुपमा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादीका जुनसुकै नेता उम्मेदवार बने पनि आफ्नो पार्टीलाई फरक नपर्ने भन्दै थप खुशी भएको छ।

जिल्लाले एकल रुपमा सिफारिसमा परेका नेता हरिकृष्ण श्रेष्ठलाई नै प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णयलाई केन्द्रले पनि सदर गरिदिएको छ। त्यस्तै पार्टी अध्यक्ष तथा निवर्तमान जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीलाई प्रदेशसभा निर्वाचन क्षेत्र क र गण्डकी प्रदेश कमिटी सदस्य यामबहादुर गर्बुजालाई प्रदेश निर्वाचन क्षेत्र ख का लागि उम्मेदवार बनाउने निर्णय नेकपा एमालेले गरेको छ।

दुई/दुई पटक पार्टी अध्यक्ष बनेका श्रेष्ठ नेकपा हुँदा पार्टी सचिव भएर आफ्नो जिम्मेवारी निर्वाह गरेका थिए। २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा करिव २४ हजार मत ल्याएर निर्वाचन जितेका माओवादीका पौडेलले यसपाली गठबन्धनको शक्तिमा कति मत ल्याउने हुन् ? त्यो त मंसिर ४ गते पछि नै थाहा होला।

कांग्रेस प्रदेशमा खुम्चियो, अधुरो भयो गर्बुजाको संसदीय यात्रा

सत्ता गठबन्धनमा करिव ७० प्रतिशत मत आफ्नो रहेको भनी दावी गर्दै आएको म्याग्दी कांग्रेस संघ माओवादीको जिम्मामा गएपछि प्रदेशमा मात्रै खुम्चिने भएको छ। 
संघ माओवादी केन्द्रले पाएपछि प्रदेशसभातर्फका दुवै क्षेत्र नेपाली कांग्रेसले पाएको छ।

जिल्लामा तेस्रो स्थानमा रहेको माओवादीले गठबन्धनका तर्फबाट संघको सिट पाएको छ। २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा जितेको माओवादी फेरि १५ वर्षपछि गठबन्धनको बलमा जित्ने दाउमा छ। गठबन्धनका तर्फबाट माओवादीका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य पौडेल उम्मेदवार बनेपछि २०७० र २०७४ को निर्वाचनमा पराजित भएका नेपाली कांग्रेसका सभापति खमबीरु गर्बुजाको संसदीय यात्रा बीचैमा अधुरो रहने देखिएको छ।

सभापति गर्बुजा यसपाला भने गठबन्धनको शक्तिबाट निर्वाचन जित्ने महत्वाकांक्षाका साथ सक्रिय थिए। तर सत्ता गठबन्धनको सिट बाँडफाँटमा म्याग्दी नपरेपछि उनको संसदीय यात्रा करिव टुंगिएको आँकलन जिल्लामा हुन थालेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.