|

पर्वत : अघिल्लोपटक २०७४ सालमा भएको प्रतिनिधि तथा प्रदेश निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गठबन्धन बनेको थियो। त्यो बेलामा कुम जोडेर चुनावमा होमिएका नेताहरू अहिलेको निर्वाचनमा एक अर्कालाई परास्त गर्नका लागि सकेसम्मको आलोचनामा उत्रिने पक्का छ।

२०७४ को निर्वाचनमा एक अर्कोको प्रशंसा गर्दै जनताको दैलोमा मत माग्दै पुगेका नेताहरू पार्टी फुटेसँगै अहिलेको चुनावमा एकले अर्काका नराम्रा पक्षलाई उजागर गरेर परास्त गर्ने प्रयासमा हुने अवस्था आएको छ। यस्तै संयोग यी दुवै राजनीतिक दलका ‘हेभी वेट’ नेताको एउटा जोडीमा परेको छ। उनीहरू लमजुङबाट नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ रहेका छन्।

२०७४ को निर्वाचनमा गठबन्धनमा भएको सल्लाहअनुसार देव प्रतिनिधिसभामा लड्ने र पृथ्वी प्रदेश सभामा जाने सहमति भयो। सोहीअनुसार उनीहरूले भारी मतको अन्तरमा विपक्षी दलका उम्मेदवारहरूलाई पराजित पनि गरे। प्रतिनिधिसभाका लागि एक मात्र सिट रहेको लमजुङमा देव गुरुङले नेपाली कांग्रेसका दिलबहादुर घर्तीलाई आठ हजार ४३४ मतको अन्तरले पराजित गरेका थिए। प्रदेशसभा ‘ख’ बाट उम्मेदवार बनेका पृथ्वी सुब्बा गुरुङले पनि आफ्ना विपक्षी नेपाली कांग्रेसका कृष्णप्रसाद कोइरालालाई आठ हजार ६६ मतान्तरले पराजित गरेका थिए।

तर अहिलेको संयोग दुवै पृथ्वी र देव दुवै जना एक सिट मात्रै रहेको प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा उत्रिएका छन्। अहिले एमाले एकातिर र सत्तारुढ दलहरू एकातिर भएर चुनावी प्रतिस्पर्धामा रहेको अवस्थामा पृथ्वी र देव दुवैले एक अर्कालाई पराजित गर्नका सेकसम्मका रणनीति अपनाउनुपर्ने अवस्थामा रहेका छन्।

११ जिल्ला रहेको गण्डकी प्रदेशमा केन्द्रीय तहका ‘हेभी वेट’ वाला नेताहरूको बिचमा हुन लागेको टक्कर लमजुङमा मात्रै देखिएको छ। अरू जिल्लामा केन्द्रीय राजनीतिमा सामान्य प्रभाव राख्ने तथा केन्द्रीय पदाधिकारीहरूसँग नजिकको सम्बन्ध रहेकाहरूको टक्कर हुने भए पनि लमजुङमा भने ठुला दलका दुई पदाधिकारीबिच प्रतिस्पर्धा हुन लागेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.