|

पर्वत : पोखरा घुम्न जाने आन्तरिक पर्यटकहरूको पहिलो रोजाइमा पर्ने फेवा ताल हो भन्दा फरक नपर्ला। माछापुच्छ्रे हिमाल फेवातालमा तैरिरहेको दृश्य हेर्ने रहर बोकेर गएकाहरूलाई जलकुम्भीले दिएको कुरूपताले निराश बनाइदिन्छ।

सुन्दर फेवातालमा शान्त देखिने पानीको सतहमा राखिएका डुङ्गा नै पुर्ने जस्तो गरी जलकुम्भीले सौन्दर्य बिगार्दा वेला वेला फेवाताल सरसफाइ अभियान चल्ने गरेका छन्।

पोखरा महानगरपालिकाको आयोजनामा मंगलबार यस्तै अभियान सञ्चालन गरेर फेवातालको सुन्दरता फिर्ता दिइएको छ। महानगरपालिकाले ‘फेवाताल सरसफाइ महाभियान’ कार्यक्रम आयोजना गरेर मंगलबार बिहान ड्याम साइडदेखि चङ्खपुरसम्मको क्षेत्रमा रहेको तालको जलकुम्भी सफा गरेको हो।

महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जु देवी गुरुङ सहित कास्कीका विभिन्न सरकारी तथा निजी कार्यालयका प्रमुख, प्रतिनिधि, आमा समूह, युवा क्लब सहित नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा तालको सफाइ गरिएको हो।

फेवाताल सरसफाइ महाभियानमा सक्रिय सहभागी भई सम्पदा संरक्षणको मानवीय दायित्व पूरा गर्न पोखरा महानगरपालिकाले पोखरावासीमा अनुरोध गरेको थियो। सोही अनुसार बाक्लो सङ्ख्यामा उपस्थित पोखरावासीको सहयोगमा जलकुम्भी झार निकालिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.