कुल मतदाताको ९ प्रतिशतमात्र नेकपा एकीकृत समाजवादीको मत

|
फाइल

इलाम : इलाम जिल्लाका लागि कुल मतदाता २ लाख २४ हजार ४ सय ७७ छन्। स्थानीय तहको निर्वाचनपछि इलाममा १२९ जना मतदाता थपिएका छन्। जिल्ला निर्वाचन कार्यालयको तथ्यांकले इलाम क्षेत्र नं १ मा १ लाख ९ हजार ५ सय ३५ र क्षेत्र नं २ मा १ लाख १५ हजार ३ सय ४२ मतदाता रहेका छन्।

देशको प्रधानमन्त्रीसमेत पाइसकेकाले इलाम क्षेत्र नं १ को निर्वाचन परिणामले देशको राजनीतिमा विशेष अर्थ राख्छ। २०४८ सालदेखि यस क्षेत्रबाट निर्वाचनमा होमिएका झलनाथ खनालले २०४ दिन देशको प्रधानमन्त्री चलाए।

अब उनको लक्ष्य राष्ट्रपति बन्नु हो। यसअघि २०७४ को सालको निर्वाचनमा समेत उनले विजयी भएर राष्ट्रपति बन्ने इच्छा देखाएका थिए।

वाम गठबन्धनको बहुमत आएलगत्तै उनले मुखै खोलेर भनेका थिए, ‘पार्टीले जिम्मा दियो भने राष्ट्रपति बन्न तयार छु।’ इलाममा मतगणनाका क्रममा मात्रै होइन विजयी भएलगत्तै केपी ओलीको गृहनगर दमकमा पुगेर राष्ट्रपति बन्ने इच्छा व्यक्त गरेका थिए।

खनालले राष्ट्रपति बन्ने तीब्र इच्छा व्यक्त गरिरहेका बेला यसबीचमा भएका घटनाक्रम र केपी ओलीको इच्छाका कारण शीलतनिवासमा विद्या भण्डारीकै निरन्तरता रह्यो। त्यस समयमा खनालले राष्ट्रपति भण्डारीको पनि खुलेरै विरोध गर्दै राष्ट्रपतिमा एउटै व्यक्तिलाई दोहोर्‍याउनु नहुने तर्कसमेत राखेका थिए। दुई तिहाई शक्तिका प्रधानमन्त्री ओलीसामु खनालको भनाइले कुनै अर्थ नै राखेन। माओवादी समेतको साथ पाएर भण्डारीले नै शीतल निवासमा निरन्तरता पाइन्।

त्यसो त खनाललाई राष्ट्रपतिको रुपमा २०७२ मा नै अफर आएको थियो। रामवरण यादवको स्थानमा नयाँ राष्ट्रपतिको लागि माओवादीको समेत समर्थन हुने भएपछि एमालेभित्र राष्ट्रपतिको लागि माधव नेपाललगायत केही सिनियर र जुनियर नेताहरूको नाम अघि सारिएको थियो। बालकोटमा भएको छलफलमा इश्वर पोखरेलले माधव नेपाललाई राष्ट्रपतिको रुपमा नाम प्रस्ताव गरेपछि नेपालले सीधै अस्वीकार गर्दै आफ्नो उमेर नपुगेको तर्क दिए।

नेपाल राष्ट्रपति बन्न तयार नभएपछि विकल्प खोज्ने क्रममा पोखरेलले झलनाथ खनाललाई अफर गरे।

‘माधव कमरेडको उमेर पुगेको छैन रे, लौ जेएन कमरेड, तपाई अघि सर्नुस’, पोखरेलले बैठकमा भनेका थिए। खनालको समेत केही प्रतिक्रिया नआएपछि विद्या भण्डारीले पहिलो महिला राष्ट्रपति हुने अवसर पाइन्। ३ वर्षपछि खनालले राष्ट्रपति बन्नका लागि माओवादीमार्फत पनि लबिङ नगरेका होइनन्। तर, प्रचण्ड र केपी ओलीले विद्या भण्डारी र नन्द बहादुर पुनलाई व्यवस्थापन गर्नुपर्ने बाध्यात्मक अवस्थाबाट गुज्रिएका कारण खनालको इच्छाले महत्व पाएन।

तत्कालीन समयमा राष्ट्रपतिका रुपमा विद्या भण्डारीले वाम गठबन्धनलाई दह्रिलो साथ दिएका कारण पनि खनालको रहर रहरमै सीमित भएको चर्चा छ।  यस पटक पनि खनालको इच्छा राष्ट्रपति नै हो। तर, अघिल्लो पटकको झट्काका कारण उनले यस पटक खुलेर आफू राष्ट्रपति बन्न चाहेको बताएका छैनन्।

खनालले पटक पटक गृह जिल्लाको भ्रमणका क्रममा २०७४ को निर्वाचन नै आफ्नो अन्तिम चुनाव भएको बताउँदै आएका थिए। तर, यस पटकको निर्वाचनको मिति घोषणा भएपछि खनाल अन्तिम पटक भन्दै निर्वाचनमा होमिनुको उद्देश्य सक्रिय राजनीति छाडेर राष्ट्रपति बन्नु नै हो।

खनाललाई राष्ट्रपति बन्नका लागि निर्वाचनमा विजय हासिल गर्नुपर्ने हुन्छ। जसका लागि उनलाई कांग्रेस र माओवादीको मतदाताको भरोसा छ। खनालले जितेको खण्डमा राष्ट्रपति हुने पक्का भने छैन। नेपाली कांग्रेसभित्र रामचन्द्र पौडेललाई राष्ट्रपतिको रुपमा अघि सार्ने तयारी भइरहेको छ। यस्तो अवस्थामा खनालको इच्छा फेरि पनि संकटमा पर्न सक्ने देखिन्छ।​

कुल मतदाताको ९ प्रतिशत मात्र नेकपा एसको मत

अघिल्लो वर्षका झैँ खनाललाई यो निर्वाचन त्यति सहज भने छैन। खनालको विजयका लागि नेपाली कांग्रेस र माओवादीको मतमा भर पर्नुपर्ने हुन्छ। एमाले छाडेपछि माधव नेपालको साथमा गठन गरेको नेकपा एकीकृत समाजवादीको अवस्था इलाम क्षेत्र नं १ मा कमजोर देखिन्छ।

गत स्थानीय तहको निर्वाचनमा वडागत रुपमा ल्याएको मत परिणामलाई हेर्दा खनालको पार्टीको अवस्था झल्कन्छ। समग्र जिल्लामा सूर्योदय नगरपालिका बाहेक अन्य पालिकामा नेकपा एमालेको तुलनामा नेकपा एकीकृत समाजवादी कमजोर नै रहेको देखिन्छ।

भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा खनालको निर्वाचन क्षेत्रमा नेकपा एकीकृत समाजवादीले ९ हजार ५१५ मत ल्याएको थियो। जुन हालको संघीय निर्वाचन क्षेत्रका मतदाताको हिसाबले करिब ९ प्रतिशत (८.६८ प्रतिशत) मात्र हुन आउँछ। नेकपा एसले क्षेत्र नं १ को ३९ वटा वडा मध्ये २० वडामा वडाध्यक्षको रुपमा उम्मेदवारी दिएको थियो। जसमा ७ वटा वडामा विजय हासिल गरेको छ। विजय भएको मध्ये सूर्योदय नगरपालिकाका ६ वटा वडामा एकल र सन्दकपुर–२ मा ४ दलीय गठबन्धन गरेर विजय भएको थियो।

खनालको निर्वाचन क्षेत्रमा पर्ने ५ वटै पालिकामा गठबन्धन भएको थिएन। सूर्योदय नगरपालिका र रोङ गाउँपालिकामा जनता समाजवादीले आफ्नै उम्मेदवार उठाएको थियो। माई नगरपालिका, सन्दकपुर र माईजोगमाईको पालिका नेतृत्वका लागि जसपा गठबन्धनभित्र थियो। धेरै जसो वडाहरूमा दलहरू एकल रुपमा होमिएका थिए।

वडा तहको मत परिणाम अनुसार सो क्षेत्रमा एमालेको मत जम्मा २४ हजार ८२१ छ।

यता गठबन्धन दलको ३७ हजार ३८८ मत थियो। जसमा जसपाको चुनाव चिन्हबाट प्राप्त १ हजार ८ सय २९ मत समेत समावेश गरिएको छ। जसपाले सन्दकपुर–४ मा गठबन्धनबाट ९४८ मतका साथ वडाध्यक्ष जितेको थियो। अन्य उम्मेदवारी दिएको वडामा ८ सय ८१ मत पाएको थियो।​

स्थानीय निर्वाचन लगत्तैको विवादास्पद अभिव्यक्ति

स्थानीय तहको निर्वाचनमा अपेक्षाकृत परिणाम नआएपछि खनालले कांग्रेसले आफ्ना उम्मेदवारलाई भोट नहालेको सार्वजनिक अभिव्यक्ति दिएर विवादमा आएका थिए। सोही कारण कांग्रेसभित्र उनको अभिव्यक्तिलाई लिएर कार्यकर्ताहरू भित्र असन्तुष्टी रहेको छ। सूर्योदयमा विजय हासिल गरेको नेकपा एकीकृत समाजवादीका अध्यक्षका उम्मेदवार माईजोगमाईमा पराजित भएका थिए। नेपाली कांग्रेसबाट गठबन्धनकी उम्मेदवार भने विजय भएकी थिइन्।

त्यसपछि खनालको निर्वाचन क्षेत्रमा पर्ने सूर्योदयको कार्यपालिका र जिल्ला समन्वय समिति गठनमा सत्ता गठबन्धन तोडिएको थियो। सूर्योदयको कार्यपालिका र जिसस गठनमा नेकपा (एस) र नेकपा (एमाले) ले गठबन्धन गरी विजय हासिल गरेका थिए। खनालको यही भूमिकालाई लिएर अहिले पनि असन्तुष्टी देखिन्छ।

अर्कोतर्फ निर्वाचनको लागि नेकपा एसबाट उम्मेदवार सिफारिस हुनुभन्दा अघि खनाल कम्युनिष्ट गठबन्धन नै हुनुपर्ने पक्षमा थिए। कम्युनिष्ट गठबन्धनको प्रस्ताव लिएर केपी ओली गुहार्न पुगेका खनाललाई ओलीले महत्व नदिएपछि निराश भएर फर्किएका थिए। त्यसपछि उनी बाम–लोकतान्त्रिक गठबन्धन कार्यान्वयनका लागि अघि बढेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.