|

काठमाडौं :  रोजगारीको  सिलसिलामा वर्षौँ  विदेशमा रहेर ​बडादशैँका अवसरमा स्वदेश फर्किने नेपालीको संख्या उल्लेख्य थियो। अर्कातिर रोजीरोटीका लागि विदाइका हाल हल्लाउनेको लर्काे पनि कम थिएन। 

रोजगारीका लागि जाने र दशैँ मनाउनका लागि स्वदेश फर्किनेको लर्काेका बिचमा रातो बाकस देखियो। विमानस्थलको प्रस्थान द्वार नजिकै रहेको त्यो बाकसमा धन कमाउने सपना बोकेर साउदी पुगेका महमत अलिफको चिसो शरीर थियो।

बाकसलाई डोरीले बाँधेर सम्बन्धित जिल्ला पुर्‍याउने तयारी भइरहेको थियो। शवको विषयमा चासो राख्नेको भिड थियो। कोही बाकस हेर्दै रसाएका आँखा पुछ्दै थिए। कोही परिवारको अवस्था कस्तो होला भन्दै एक आपसमा कुराकानी गर्दै थिए। दशैँमा परिवारको साथ छोडी रोजगारीका लागि उड्ने नेपालीको मुटु पनि यो दृश्यले चिसो बनाएको थियो।

अनेक सपना बोकेर दिनहुँ सयौँ नेपाली विदेशिने गरेका छन्। कतिको सपना आंशिक वा पूर्णरूपमा पूरा पनि हुन्छ। तर कतिका सपना रातो बाकसमै बन्द भएर फिर्ता हुन्छन्।

भैरहवा घर भएका मोहम्मद अलिफ पाँच वर्षअघि रोजगारी गर्न साउदी अरब गएका थिए। उनी छाना,नाना र खानाको जोहो गर्नका लागि रोजगारीको खोजीमा साउदी अरब पुगेका थिए। कमाइ पनि राम्रो नै थियो। यो दशैँको छेको पारेर घर फर्किने तयारी भइरहेको थियो।

काम गर्ने क्रममा सवारी दुर्घटनामा परी उनको मृत्यु भयो। उनी आएनन्। शव आयो।  उनको पर्खाइमा रहेका परिवारका सदस्य विक्षिप्त अवस्थामा छन्।

घरमा श्रीमती, छोराछोरी र वृद्ध बुबाआमा छन्। शव बुझ्नका लागि आफन्त काठमाडौं आउनसक्ने अवस्था नरहेकाले वैदेशिक रोजगार बोर्डले भैरहवा  पुर्‍याउने तयारी गरिरहेको थियो।

त्यसैगरी झापाको विर्तामोड घर भएका अमित (नाम परिवर्तन) पनि दशैँकै समयमा रातो बाकसमा फर्किए। दशैँमा छोरा आउने आशमा बसेका आमाबुबा शव बुझ्न बाध्य भए।  

वैदेशिक रोजगार बोर्डकाकर्मचारी मिङ्मा लामा यो वर्ष दशैँको अव​धिमा १० शव आएको र मृतकको आफन्तलाई बुझाएको जानकारी दिए। लामा करिब ११ वर्षदेखि वैदेशिक रोजगारीमा गएर मृत्यु भएकाको शव परिवारलाई बुझउँदै आएका छन्।

चाडपर्वका समयमा शव आउँदा पुर्‍याउन धेरैसमस्या हुने उनी बताउँछन्। ‘शव पुर्‍याउन जाँदा परिवारको अवस्था देख्दा आफैँलाई सम्हाल्न कठिन हुन्छ’, लामा भन्छन्।   

पछिल्लो समय  रोजगारीको खोजीमा विदेशिने नेपालीको संख्या बढ्दो छ। जुन गतिमा रोजगारीको खोजीमा  युवा विदेशिएका छन्, त्यही मात्रामा विदेशी भूमिका मृत्यु हुने संख्या पनि बढेको छ। चालु आर्थिक वर्षको तीन महिनामा ५५ शव नेपाल आएको बोर्डले जनाएको छ। बोर्डका अनुसार १४ वर्षमा वैदेशिक रोजगारीको सिलसिलामा १० हजार ९३२ जनाको मृत्यु भएको छ। 

आर्थिक वर्ष २०६५/६६ मा वैदेशिक रोजगारीमा गएकामध्ये ७८ जनाको मृत्यु भएको थियो। आर्थिक वर्ष २०६६/६७ यो संख्या ४२१ थियो। बोर्डका अनुसार आर्थिक वर्ष २०६७/६८ मा ५६४, २०६८/६९ मा ६४७, २०६९/७० मा ७७२, २०७०/७१ मा ८७७, २०७१/७२ मा एक हजार ६ र २०७२/७३ मा ८२६ जनाको मृत्यु वैदेशिक रोजगारीको सिलसिलामा भएको थियो। 

यस्तै, आर्थिक वर्ष २०७३/७४ मा ७५८, २०७४/७५ मा ८२६, २०७५/७६ मा ७६३ जना, २०७६/७७ मा ६७२, २०७७/७८ मा एक हजार २४३ र २०७८/७९ मा १ हजार ४७९ जनाको मृत्यु भएको छ।  यो अवधिमा ५० लाखभन्दा बढी नेपाली वैध तरिकाले वैदेशिक रोजगारीमा गएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.