|

इलाम : नवौँ राष्ट्रिय खेलकुदमा बिहीबारदेखि हक्की प्रतियोगिता हुँदैछ। तर अझै मैदान तयार भएको छैन। पर्याप्त भौतिक व्यवस्थापन नहुँदा प्रतियोगिता नजिकिँदै जाँदा व्यवस्थापनमै चुनौती देखिन्छ। 

पुरुष तर्फको हेम्जाको गौरिशंकर खेल मैदानमा तथा महिला तर्फको गण्डकी बोर्डिङ स्कुलमा आयोजना गरिँदै छ। प्रतियोगिताका लागि  बुधबार हेम्जाको गौरिशंकर खेल मैदान व्यवस्थापनको काम गरेको नेपाल हक्की संघको केन्द्रीय उपाध्यक्ष हिमाल खड्काले बताए। 

बुधबार राति अवेर सम्म मैदानको घाँस काटिएको र बिहीबर बिहानै बिहानै मार्किङ लगायत हुने उनले जानकारी दिए। हतार हतारमा व्यवस्थापन गरिएका यस्ता किसिमका पूर्वाधारका कारण खेलाडीलाई चोटपटकको चुनौती रहने उनको भनाइ छ।

‘समयमा खेल मैदान व्यवस्थापनतर्फ ध्यान दिइएन’, उनले भने, ‘मैदानमा अहिले भर्खर काटिएका घाँसका ठुटा र स–साना ढुंगाका टुक्रामा खेलाडीलाई कसरी खेलाउने?’ स्थानीय निकाय, खेल व्यवस्थापक लगायत सम्बन्धित निकायबीच समन्वय नभएकोका कारण दयनीय भौतिक अवस्थामा प्रतियोगिता गराउँदा दुःख लागेको उनले बताए । 

यता राष्ट्रिय खेलकुद् परिषद सदस्य राजेश गुरुङले छोटो समयमा सबै खेलको भौतिक व्यवस्थापन गर्दैगर्दा कुनै प्रतियोगिता अभाव र चुनौतीका बाबजुत सञ्चालन गर्नुपरेको बताए। गण्डकी प्रदेश आयोजक रहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि केन्द्रबाट नै समयमा बजेट प्राप्त नभएकोले पूर्वाधार व्यवस्थापन गर्न आयोजक चुकेको उनले बताए।

‘प्रतियोगिताको लागि भौतिक व्यवस्थापनका लागि बजेट प्राप्त भएको छैन। मौखिक रूपमा मात्रै बजेटको कुरा भएको छ’, सदस्य गुरुङले भने, ‘बजेट नभएकाले हामी चुकेका छौँ।’ खेल स्थल छनौट व्यवस्थापन हतारमा भए पनि प्रतियोगिता सफल बनाउनको लागि आयोजकका विभिन्न निकाय लागि परेको उनले बताए । 

हक्कीमा पुरुषतर्फ नौ टिम र महिलातर्फ सात टिमले प्रतिस्पर्धा गर्दैछन्। असोज २८ गते औपचारिक रूपमा उद्घाटन हुने भनिए पनि नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतका केही खेल सुरु भइसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.