|

       
विराटनगर : मंसिर ४ गते हुने निर्वाचनले यतिवेला राजनीतिक माहोल निकै तातिएको छ।

प्रदेश १ मा यतिवेला अबको निर्वाचनबाट कुन दलले विजय हासिल गर्ने हो र भावी मुख्यमन्त्री कसको पोल्टोमा पर्ने हो भन्ने समेत चर्चा चलिरहेको छ।

प्रदेश १ मा चार दलका झण्डै दर्जन नेताले मुख्यमन्त्रीको आकांक्षा सहित निर्वाचन लड्दै छन्। मुख्यमन्त्रीको दौडमा वर्तमान मुख्यमन्त्री, बहालवाला मन्त्रीदेखि पूर्वमेयर समेत रहेका छन्।

कांग्रेसबाट को–को छन् मुख्यमन्त्रीको लाइनमा ?   
भावी मुख्यमन्त्रीको अपेक्षासहित प्रदेशसभाको  निर्वाचनमा होमिएका उम्मेदवारमध्यै सबैभन्दा धेरैजसो नेपाली काँग्रेसका उम्मेदवार छन्। काँग्रेसबाट ६ जना नेता यतिवेला प्रदेश १ को भावी मुख्यमन्त्रीको दौडमा छन्। यसअघि नेपाली काँग्रेस प्रदेश १ का संसदीय दलका नेता रहेका राजीव कोइराला पनि मुख्यमन्त्रीको दौडमा छन्। यसअघि सुनसरी क्षेत्र नम्बर २ (ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका उनी हाल पनि सोही निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका छन्।

यसअघि दुईपटक संघीय सांसद बनिसकेका अमृत अर्ज्याल नेपाली काँग्रेसका केन्द्रीय सदस्य हुन्। मोरङ क्षेत्र नम्बर ५ (ख)बाट उम्मेदवार बनेका अर्ज्याल गठबन्धन दल माओवादीलाई संघीय निर्वाचन क्षेत्र दिनुपरेपछि मुख्यमन्त्री बन्ने शर्तमा प्रदेशमा यतिवेला चुनावी मैदानमा छन्।

यसैगरी मोरङको क्षेत्र नम्बर ४ (क) बाट उम्मेदवार बनेका नेपाली काँग्रेसका युवा नेता गुरुराज घिमिरे पनि मुख्यमन्त्रीको दौडमा छन्। घिमिरेका लागि संसदीय निर्वाचनको पहिलो अनुभव हो। यता काँग्रेसका प्रदेश १ सभापति उद्धव थापा पनि मुख्यमन्त्रीको दौडमा छन्। थापा काँग्रेसको समानुपातिक कोटाबाट सांसद बन्ने सूचीमा छन्।

यस्तै विराटनगर महानगरपालिकाको प्रमुख रहेर आफ्नो कार्यकाल पूरा गरेका भीम पराजुली पनि मुख्यमन्त्रीको दौडमा छन्। पराजुली मोरङ क्षेत्र नम्बर ४ (ख)बाट उम्मेदवार बनेका छन्।

एमालेमा पूर्वमन्त्रीहरू लाइनमा
नेकपा एमालेबाट दुईजना पूर्वमन्त्री मुख्यमन्त्रीको लाइनमा देखिएका छन्। झापा क्षेत्र नम्बर ५ (ख)बाट उम्मेदवार बनेका हिक्मतकुमार कार्की तथा मोरङ क्षेत्र नम्बर ४ (ख)बाट उम्मेदवार बनेका जीवन घिमिरे मुख्यमन्त्रीको दौडमा छन्।

यसअघि प्रदेश १ को शेरधन राई नेतृत्वको मन्त्रिपरिषद्मा दोस्रो वरीयताका मन्त्री बनिसकेका कार्की नै मुख्यमन्त्री बन्ने बढी सम्भावना रहेको उनी निकटका नेता, कार्यकर्ता बताउँछन्। एमालेका स्थायी समिति सदस्य समेत रहेका कार्की प्रदेशमा उठ्ने सिनियर नेता रहेको एमालेका एक नेताले बताए।

यता जसपासँगको गठबन्धन हुँदा मोरङको ४ (ख) गुमिसकेको टिकट अन्तिम समयमा घिमिरेले फिर्ता ल्याएर चुनावी मैदानमा होमिएका छन्। घिमिरे पनि यसअघि शेरधन राई नेतृत्वको सरकारको पालामा सामाजिक विकासमन्त्री बनेका थिए। उनी मोरङ ४ (ख) बाट विजयी भएका थिए।

त्यो समय घिमिरेले तत्कालीन केपी शर्मा ओलीले संसद् विघटन गरेपछि असन्तुष्टि व्यक्त गर्दै पदबाट राजीनामा दिएका थिए। यद्यपि एमालेका १० नेताले एमालेको संस्थापन पक्षसँग १० बुँदे सहमति गरेपछि घिमिरे एमालेमै रहेका हुन्।

माओवादी र समाजवादीबाट मुख्यमन्त्री र मन्त्री नै लाइनमा
माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बाट मुख्यमन्त्री र आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो मुख्यमन्त्रीको दौडमा छन्।

दुईपटक मन्त्री बनिसकेका आङ्बो पाँचथरको निर्वाचन क्षेत्र १ (ख)बाट उम्मेदवार बनेका छन्। यसअघि पनि आङ्बो सोही निर्वाचन क्षेत्रबाट विजयी भएका थिए। यस्तै नेकपा (एकीकृत समाजवादी)बाट मुख्यमन्त्रीको दौडमा राजेन्द्रकुमार राई रहेका छन्।

राई वर्तमान मुख्यमन्त्री  हुन्। यसअघि भोजपुरको १ (क)बाट उनी निर्वाचित भएका थिए। यसपटक प्रतिनिधिसभाको उम्मेदवार बन्ने चाहना राखेका राईका लागि मुख्यमन्त्री बनाउने शर्तमा टिकट लिएको नेकपा समाजवादीका कार्यकर्ता बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.