|
फाइल तस्वीर

बागलुङ : नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा यस वर्षको पहिलो शिकार याम शुरु भएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पहिलो शिकार असोज–कात्तिकका लागि ८ नाउर र ५ झारलको शिकार अनुमति दिएको छ।

ढोरपाटन शिकार आरक्ष केन्द्रका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार शिकारका लागि नेपाली सहयोगीसँग विदेशी व्यावसायिक शिकारीहरू आरक्षको शिकार ब्लकमा पुग्न थालेका हुन्।

शिकारीका लागि आवश्यक बन्दोबस्ती र मार्ग निर्देशनका लागि आरक्षको कार्यालयले आफ्ना कर्मचारी र शिकारीका भरिया सम्बन्धित ब्लकमा पठाइसकेको छ। विभागले हरेक वर्ष दुई याममा गरी वार्षिक २० नाउर र ११ झारलको शिकार अनुमति दिने गर्छ।

पहिलो याममा नेपाल ट्राभल एक्पिडिसन, ग्लोबल सफारिज नेपाल, हिमालयन सफारिज र ट्र्याक्स एण्ड ट्रेल्स कम्पनीमार्फत अमेरिकी, मेक्सिकाली र क्यानेडियालीले शिकारका लागि अनुमति पाएको प्रमुख संरक्षण अधिकृत कँडेलको भनाइ छ।

शिकारका लागि आरक्ष क्षेत्रलाई ७ ब्लकमा विभाजन गरिएको छ। पहिलो याममा सेड, फागुने, घुस्तुङ, दोगाडी र सुनदह ब्लकमा शिकार हुनेछ। ढोरपाटन क्षेत्रमा बर्सेनि (असोज–मंसिर) पहिलो याम र (फागुन–वैशाख) दोस्रो याम गरी दुई चरणमा शिकार हुँदै आएको छ।

पहिलो यामका लागि सूर्तिबाङ ब्लकमा कुनै पनि शिकारीले शिकार गर्ने छैनन्। खर्चिला र साहसी शिकारीले विकटमा रहेका ‘ब्लक’ मा शिकार खेल्न रुचि राख्ने गरेको शिकार आरक्ष कार्यालयको अनुभव छ। शिकारीसहितको टोलीले १५ दिन जङ्गलमै समय बिताउँछन्।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक शिकार याममा विद्युतीय बोलपत्र आह्वान गरेर शिकारको कोटा र राजश्व दर निर्धारण गर्छ। साहसिक यात्रा र रोमाञ्चक शिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ।

नाउर झारलको मूल्य, ब्लक रिजर्भ, लाइसेन्स, हेलिकप्टर सबै बन्दोबस्तीको सामग्री तयार गर्दा एकजना शिकारीले करिब २० देखि २२ लाख रूपैयाँ खर्च गर्ने गरेको ढोरपाटन शिकार आरक्ष कार्यालयले जनाएको छ।

यो वर्ष नाउरको न्यूनतम १५ लाखदेखि अधिकतम २१ लाख ४० हजार प्रतिगोटा र झारलको न्यूनतम १ लाख १० हजारदेखि अधिकतम ६ लाखसम्म राजश्व तिरेर शिकारीहरू शिकारका लागि तयार भएको कँडेलको भनाइ छ।

नेपाल ट्राभल एक्पिडिशन प्रालि काठमाडौंमार्फत पहिलो याममा अमेरिकाली नागरिकले एउटा नाउरको शिकार गर्नेछन्। शिकार आरक्ष कार्यालयका अनुसार उनलाई शिकारका लागि गुस्तुङ ब्लक तोकिएको छ।

ग्लोबल सफारिज नेपालमार्फत ३ जना शिकारीले २ नाउर र एउटा झारलको शिकार अनुमति पाएका छन्। क्यानेडियालीले नाउर र २ जना अमेरिकालीले एउटा नाउर र एउटा झारलको शिकार अनुमति पाएका हुन्।

शिकारीहरूले हिमालयन सफारिजमार्फत ३ नाउर र २ झारलको शिकार अनुमति पाएका छन्। उनीहरू मेक्सिकाली र अमेरिकाली हुन्। उनीहरूलाई दोगाडी, सुनदह र सेङ ब्लकमा शिकार अनुमति दिइएको छ। ट्र्याक्स एण्ड ट्रेल्स कम्पनीमार्फत २ जना अमेरिकालीले २ नाउर र २ झारलको शिकार अनुमति पाएको आरक्ष कार्यालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.