|
फाइल

बागलुङ :  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी १५ वर्षपछि फेरि चुनावी मैदानमा आएका छन्। २०६४ सालमा बागलुङ क्षेत्र नम्बर २ बाट प्रत्यक्ष चुनाव जितेका केसी २०७० समानुपातिकबाट संसद भवन छिरेका थिए।

२०७४ को चुनावमा भने उनले सांसद बन्ने चाहना राखेनन्। त्यस बेला धेरैले केसी अब संसदीय राजनीतिबाट बिदा लिएको अनुमान गरेका थिए।

तर केसी आगामी मंसिर ४ मा हुने निर्वाचनमा बागलुङ–१ बाट पाँच दलीय गठबन्धनका तर्फदेखि उम्मेदवार बनेका छन्। २०७४ को प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा केसी उम्मेदवार बनेका थिएनन्। बाम गठबन्धनबाट बागलुङका दुई निर्वाचन क्षेत्रमा क्षेत्र नम्बर १ बाट नेकपा एमालेका सूर्य पाठक र क्षेत्र नम्बर २ बाट शिक्षा मन्त्री तथा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेललाई सघाएका थिए।

चार प्रदेश क्षेत्र मध्ये त्यस बेला दुई प्रदेश सभा सदस्य पाएको जनमोर्चाले क्षेत्र नम्बर १ (ख) बाट कृष्ण थापा र २ (ख) टेकबहादुर घर्ती विजयी भएका थिए। घर्तीको निधनपछि उप निर्वाचनबाट जनमोर्चाकै खिमविक्रम शाही विजयी भएका थिए।

क्षेत्र नम्बर १ (क) मा नेकपा एमालेका इन्द्रलाल सापकोटा र क्षेत्र नम्बर २ (क) मा माओवादी केन्द्रका चन्द्रबहादुर बुढा विजयी भएका थिए।

यसपाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि जनमोर्चाका अध्यक्ष केसी उम्मेदवार बनेपछि अन्य क्षेत्र नेपाली कांग्रेसलाई छोडेको छ। गत निर्वाचनमा दुई प्रदेश सभा जितेको जनमोर्चाले यस पटक एउटा प्रतिनिधि सभा जितेर साख जोगाउने दाउमा छ।

केसीको प्रतिद्वन्द्वीका रुपमा एमालेका केन्द्रीय सदस्य डा.सूर्य पाठक छन्। अघिल्लो निर्वाचनमा केसीलाई डा. पाठकलाई सघाएका थिए। यसपाली क्षेत्र नम्बर १ को निर्वाचन निकै रोचक हुने नेता कार्यकर्ताको अनुमान छ। पाठक युवा पुस्तामा निकै लोकप्रिय नेताका रुपमा परिचित छन्। उनको उम्मेदवारीले केसीलाई साख जोगाउन हम्मे पर्ने धेरैको आंकलन छ। तर स्थानीय तह निर्वाचन २०७९ को मत परिणामलाई हेर्दा केसी सुरक्षित हुने देखिन्छ।

क्षेत्र नम्बर १ मा चार पालिकामा ३७ वडा छन्। गत स्थानीय तहको मत परिणामलाई हेर्दा गठबन्धनले ३७ वडा मध्ये २९ वडामा गठबन्धनका उम्मेदवार विजयी भएका थिए भने आठ वडामा मात्रै एमालेका उम्मेदवारले जीत हासिल गरेका थिए। गठबन्धनका दलहरू मध्ये सबैभन्दा बढी नेपाली कांग्रेसले १९ वडा, माओवादी केन्द्रले तीन वडा, एकीकृत समाजवादीले तीन वडा र राष्ट्रिय जनमोर्चाले चार वडा जितेका छन्।

गठबन्धनले ३१ हजार ६३७ मत पाएको थियो भने नेकपा एमाले २२ हजार ३७६ मत पाएको थियो। यो मत परिणाम हेर्दा गठबन्धन नौ हजार २६१ मतले अगाडि देखिन्छ। यस पटक यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कंडेल, स्वतन्त्रबाट चन्द्र क्षेत्री, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी प्रसाद सापकोटा, नेपाली कांग्रेस (विपी) का शिवलाल सापकोटा पनि यस क्षेत्रबाट उम्मेदवार छन्। उनीहरूले पनि केसीको केही मत काट्न सक्ने गठबन्धनका नेता बताउँछन्।

गठबन्धनका एक नेताले भने, ' गठबन्धनका नेता तथा कार्यकर्ताले गठबन्धनको मर्मअनुसार लाग्नुभयो भने यसपटक चित्रबहादुर केसीले १० देखि १२ हजार मतान्तरले जित्नुहुन्छ भन्ने हामीले अनुमान गरेका छौँ, हार्ने त एक प्रतिशत पनि संभावना छैन।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.