|

काठमाडौँ: पहिलो चरणको स्थानीय तह निर्वाचन मतगणना जारी हुँदै गर्दा अनेकथरि उम्मेदवारहरूले जीत हात पारिरहेका छन्। ललितपुर महानगरपालिका- १० मा पनि यस्तै एक जना अनौठा उम्मेदवारले वडा अध्यक्षमा जीत हात पारेका छन्। उनी हुन्, नरसिंह व्यञ्जनकार।

उमेरले ७७ वर्षका भए उनी। अहिलेसम्म जम्माजम्मी नौ पटक वडा अध्यक्षमा चुनिएका छन् नरसिंह। अहिले पनि उनै व्यञ्जनकार १० नम्बर वडाको अध्यक्षमा स्वतन्त्र उम्मेदवारको रूपमा बिजेता बनेका छन्। 

२०२९ सालदेखि सुरु भएको उनको वडा अध्यक्ष बन्ने यात्राले २०७४ सालको स्थानीय तह निर्वाचनसम्म विश्राम लिएको छैन। राजतन्त्रमा वडा अध्यक्ष भएका व्यञ्जनकार एक पटक फेरि गणतन्त्रमा पनि वडा अध्यक्षमा विजयी भएका छन्। महानगर १० मा व्यञ्जनकारले नेपाली कांग्रेसका कर्मलाल व्यञ्जनकारलाई ९७ भोट अन्तरले पछाडि पारे। नरसिंहले ६९१ मत हात पार्दै गर्दा उनका निकटतम प्रतिद्वन्द्वी कर्मलालले ५९४ र एमालेका उम्मेदवार कुलबहादुर आचार्यले जम्मा १८७ मत हात पारेका थिए। 

विभिन्न पार्टीले उनलाई आफ्नो तर्फबाट उम्मेदवार बनाउन नखोजेका होइनन्, तर व्यञ्जनकार कहिल्यै कुनै पार्टीको तर्फबाट उम्मेदवार बन्न तयार भएनन्। तपाईंलाई कुनै दलको नेता या कार्यकर्ता बन्न मन लागेन त? भनेर सोध्दा उनी मुस्कुराए र भने- 'मलाई कहिल्यै कुनै दलको कार्यकर्ता बनूँ भन्ने नै लागेन। दलको कार्यकर्ता बन्दा सीमित घेरामा कैद भइन्छ जस्तो लाग्छ।'

जहिले उठे पनि उनी बिजयी नै भएका छन्। किन तपाईंको भागमा सधैँ जीत मात्र नि? भन्ने जिज्ञासामा उनले भने, 'म कुनै दलको स्वार्थभित्र छैन। जे गर्छु, जनताको लागि गर्छु। त्यही भएर नै मलाई जनताले मनपराएका होलान्।'

ललितपुर महानगरको १० नम्बर वडा पाटनका स्थायी बासिन्दा हुन् उनी। औपचारिक रूपमा धेरै पढेका छैनन्। उनको परिवारमा केही राजनीतिक पृष्ठभूमि थिएन। २०२९ सालमा ललितपुर नगरपालिका- १ बाट चुनाव जितेका थिए उनले। त्यतिबेला पनि उनी स्वतन्त्र भएरै उठेका थिए। त्यतिबेला उनले आफ्ना प्रतिद्वन्द्वी देवेन्द्रलाल अमात्यलाई ४२२ मतान्तरले जितेका रहेछन्। 

चुनाव जितेपछि उनले दिलोज्यानले जनताको काम गरे। पाटनतिरका बासिन्दा अहिले पनि उनका राम्रा कार्यको सराहना गर्छन्। उनको जीतमा विजय जुलुस मनाउन आएका एक समर्थकका अनुसार व्यञ्जनकारले गरिबको पक्षमा काम गर्ने गरेका छन्। २०३४ सालको चुनावमा पनि उनको भागमा जीत पर्‍यो।

२०३६ को जनमतसंग्रह हुने समयमा उनले वडा अध्यक्षबाट राजिनामा दिएर बहुदलको पक्षमा काम गरेका थिए। जनताको लागि बहुदल नै ठीक छ भनेर लागेका उनलाई जनताले २०३९ सालको चुनावमा पनि साथ दिए। त्यतिबेलाको स्थानीय तह निर्वाचनमा उनी निर्विरोध भएका थिए। 

व्यञ्जनकार लोकप्रिय हुनुका पछाडि जनताको लागि उनले काम गर्ने शैली गज्जबको छ। उनी जे काम गर्न लाग्छन्, त्यो पूरा गरेरै छाड्छन्। २०४० सालमा तत्कालीन प्रधानपञ्चसँग उनको गलफत्ती परेपछि उनले राजिनामा दिएका थिए। प्रधानपञ्चसँग नगरपालिकाको भवन बनाउने विषयमा उनको ठाकठुक परेपछि नैतिकताको आधारमा उनले राजिनामा दिएका थिए। २०४१, २०४३ र २०४९ मा भएका तीनवटै चुनावमा उनी निर्विरोध भएका थिए। २०५४ सालमा र संकटकालको बेलामा राजाले गराएको निर्वाचनमा पनि उनको हातमा जीत नै हात पर्‍यो। 

वि. सं. १९९७ मा जन्मिएका उनी स्वस्थ देखिन्छन्। २०७१ सालको स्थानीय तह चुनावमा उठ्दासम्म उनी ७७ वर्षका भएका छन्। यो उमेर सामान्यतयाः वृद्धावस्थाको संकेत हो, तर जनताको काम गर्नका लागि स्वतन्त्र उम्मेदवार बन्दै आएका व्यञ्जनकार भन्छन्,  'म जतिञ्जेल सक्छु, काम गर्नेछु। हामीले अरूको मुख ताकेर मात्रै हुँदैन। आफूले सक्नेजति काम आफैँ गर्नुपर्छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.