टाउकाको मूल्य तोक्ने र तोकिने मिल्दा हामी मिल्नु सामान्य : कमल थापा

|

काठमाडौं : लामो समयदेखि हिन्दु राष्ट्र र राजतन्त्रको सिद्धान्त बोकेर राजनीति गर्दै आएका राप्रपा नेपालका अध्यक्ष कमल थापा एमालेको चुनाव चिह्नबाट प्रतिनिधिसभा सदस्यका लागि भिड्दै छन्।

कुनै पनि हालतमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने दाउमा रहेका सूर्यबाट मकवानपुर–१ को उम्मेदवार बनेका छन्।

उनको अबको बाटो, एमालेको चुनाव चिह्नबाट लड्नुको कारण, यसले उनको पार्टीको अस्तित्वबारे थाहाखबरले कुराकानी गरेको छ। उनीसँग गरेको कुराकानीको सम्पादित अंश :

विगतभन्दा फरक चिह्नबाट चुनावमा जाँदै हुनुहुन्छ। पक्कै फरक महसुस हुँदैछ होला

अब जनतासँग मत माग्ने कुरा हो। मत माग्दा स्वाभाविक रुपले समसामयिक राजनीतिक परिस्थिति जनताका चाहना र भावनालाई सम्बोधन गर्नुपर्ने हुन्छ। त्यसक्रममा खासगरी नेकपा एमाले र राप्रपा नेपालबीच जुन सहकार्य भएको छ। यो सहकार्यको मुख्य उद्देश्य भनेकै राष्ट्रियताको सुदृढीकरण र लोकतन्त्रलाई सशक्त र प्रभावकारी बनाउने आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने कुरा हो।

यिनै कुराहरू र त्यसको साथै जिल्लाको विकास निर्माणको कुराहरू जनतासमक्ष राखेर हामी अगाडि बढिरहेका छौँ। मैले अत्यन्तै उत्साहपूर्वक रेस्पोन्स जनताबाट पाएको छु।  

मेरा पार्टीका कार्यकर्ताले त खुसी भएर सूर्यमा भोट हाल्छन्। किनभने साझा उम्मेदवार भएको कुरा पार्टीका नेताले बुझेका छन्। उनीहरूले भोट नहाल्ने कुरै छैन। बरू राप्रपा नेपाल हिजो एक्लै चुनाव लड्छु भनेर अड्डी हाँक्ने पार्टीले समेत झापा लगायतका जिल्लामा सूर्यका लागि भोट माग्दै हिँड्नुभएको छ। 

तपाईंको उम्मेदवारीलाई मकवानपुरका एमालेजनले स्वीकार्न अलिक गाह्रो मानेजस्तो देखिएको छ नि

त्यस्तो छ जस्तो मलाई लाग्दैन। अलिकति सुरुमा असमझदारीहरू थियो। त्यो असमझदारी अहिले पूर्ण रूपले हटेर अब नेकपा एमाले एकढिक्का भएर सूर्य ध्वजाबाहक उम्मेदवारहरूलाई जिताउन क्रियाशील भइसकेका छन्। यसमा कुनै किसिमको द्विविधा र विवाद छ जस्तो लाग्दैन। 

तर, संयुक्त रूपमा खुलेर कार्यक्रम गरेर कमल थापाको पक्षमा भोट माग्न अलिकति हिचकिच्याहट चाहिँ देखिएको छ नि नेताहरूमा पनि

पटक्कै छैन। आजै पनि हामीले संयुक्त कार्यक्रम गरेका थियौँ। नेकपा एमालेका जिल्लाका शीर्ष नेताहरू उपस्थिति हुनुहुन्थ्यो। केन्द्रीय सदस्य पनि हुनुहुन्थ्यो। एकाध समस्या हुनु बेग्लै कुरा हो। होइन अन्य समस्या छैन। 

तपाईं चुनावमा होमिँदै गर्दा तपाईं एउटा पार्टीको अध्यक्ष अर्को पार्टीको चुनाव चिह्न लिएर चुनावी मैदानमा जानुपर्ने बाध्यता किन आइलाग्यो

यसमा भ्रम सिर्जना गर्ने प्रयास भएका छन्। यो कुनै  अस्वाभाविक एउटा कार्य होइन। नेपालको कानुनले अर्थात् राजनीतिक दलसम्बन्धी ऐनले प्रष्ट रुपमा दुई वा दुईभन्दा बढी दल मिलेर साझा चिह्न लिएर चुनावमा लिएर जान सक्नेछन् भन्ने व्यवस्था गरेको छ। 

अब त्यो कानुनअनुसार हामी साझा चुनाव चिह्न लिएर अगाडि बढिरहेका छौँ। 

साझा चुनाव चिह्न लिएर जाँदा एमालेको सूर्य छ, राप्रपाको तीर छ। अहिलेको अवस्थामा तीर तुलनात्मक रूपमा नयाँ चिह्न छ। अब सूर्य एक स्थापित र लोकप्रिय चिह्न छ। यसकारण हामी चुनाव जित्नका निमित्त सहकार्य गरिरहेका छौँ भने जुन लोकप्रिय छ, त्यही चुनाव चिह्न लिएर जाने हो नि त। दुवै चिह्न लिएर जान सकिँदैन। 

त्यो क्रममा हामीले सूर्य चिह्न लिएका हौँ। यसमा अन्यथा केही हैन। यो केवल कमल थापासँग मात्र सम्बन्धित छैन। अन्य राजनीतिक दलले पनि दुई दल मिलेर पनि साझा चिन्ह लिएका छन्। सहकार्य गर्ने कुरामा त एकले अर्कालाई भोट माग्नैपर्ने हुन्छ। हिजो मसँग काम गरेका राप्रपाका साथीहरूले एक किसिमको भ्रम सिर्जना गर्ने प्रयास गरेका छन्। 

झापा जिल्लामा पनि एमालेलाई भोट हाल्न पार्टीले ह्विप जारी गरेको छ। यो अस्वाभाविक कुरा नै होइन नि। विगतमा पनि हामीले नेपाली कांग्रेससँग सहकार्य गरेका थियौँ। त्योबेला राप्रपाका साथीले रूख चिह्नमा भोट हालेकै हुन् नि। यसलाई अस्वाभाविक नै मान्नुपर्ने कारण छैन। 

तपाईंका पार्टीका अन्य नेताले पार्टीकै चिह्नमा चुनाव लड्ने अनि तपाईं चाहिँ एमालेको पार्टीको चिह्नबाट? यो आमचासो त रह्यो नि

यसको एक कारण के हो भने जित सुनिश्चित नै हो। यसमा अन्य कारण छैन। म योपटकको चुनाव जसरी पनि जित्न चाहन्छु जित्नका लागि जुन धेरै उपयुक्त हुन्छ। त्यही लिएर जाने हो। 

अहिले राजनीतिक दलमा गठबन्धनको अभ्यास चलिरहेको छ। यो अवस्थामा चुनाव एक्लैले लडेर जित्न पनि कठिन छ। खासगरी हाम्रो जस्तो पार्टीका लागि। त्यसका लागि हामीले सहकार्य गरेका हौँ। जुन पार्टीसँग विचार मिल्छ, त्यही पार्टीसँग सहकार्य गर्ने हो। अहिलेको सन्दर्भमा राष्ट्रियता र आर्थिक समृद्धिको सवालमा हामी एमालेसँग निकट भएको महसुस गर्दछौँ। 

तर, तपाईंका पार्टीका कार्यकर्तामा कतै नै पार्टी नै अस्तित्वमा नरहने होकि, अब  कमल थापाले जितिसकेपछि फेरि एमाले नै बन्नुपर्ने होकि भन्ने चिन्ता पनि देखियो नि

यो भ्रमबाट मुक्त हुन पनि पार्टीका सम्पूर्ण कार्यकर्ता तथा शुभचिन्तकहरूलाई अनुरोध गर्दछु। मैले चुनाव जितेर गइसकेपछि स्वाभाविक रुपले अब नेकपा एमालेको सहयोगमा चुनाव जितेको हुनाले नैतिक रूपमा नेकपा एमालेका नीतिलाई पनि गुण र दोषको आधारमा सहयोग गर्नुपर्ने हुन्छ। तर, मलाई लाग्छ राप्रपा नेपालले औपचारिक रूपमै निर्णय गरेरै केन्द्रीय अध्यक्षलाई एमालेबाट नै चुनाव लड्ने गरेका हौँ। त्यसमा कुनै किसिमको विरोधाभासको स्थिति छैन।

भोलिको दिनका त्यो किसिमको स्थिति आउँदैन। हामीले चुनाव जितेर गइसकेपछि संसद्‍मा उत्साह थपिदिन्छ। 

फरक राजनीति विचार बोकेका नेपाली कांग्रेस र माओवादी जो हिजो टाउकोको मोल तोक्ने र तोकिनेहरू एकै ठाउँमा उभिएर चुनाव प्रचारमा हिँडिरहेका छन्। मैले त त्यस्तो कुनै अपराध गरेको छैनन् नि। बेइमानी गरेको छैन। धोका दिएको छैन।

तपाईंका कार्यकर्ताले सूर्यमा भोट हाल्छन् भन्ने लाग्छ

मेरा पार्टीका कार्यकर्ताले त खुसी भएर सूर्यमा भोट हाल्छन्। किनभने साझा उम्मेदवार भएको कुरा पार्टीका नेताले बुझेका छन्। उनीहरूले भोट नहाल्ने कुरै छैन। बरू राप्रपा नेपाल हिजो एक्लै चुनाव लड्छु भनेर अड्डी हाँक्ने पार्टीले समेत झापा लगायतका जिल्लामा सूर्यका लागि भोट माग्दै हिँड्नुभएको छ। 

राप्रपा नेपालले त एमालेसँग सहकार्य नै गरेको छ। मलाई जिताउन मेरा पार्टीका नेताले सूर्यमा भोट नहाल्ने भन्ने त प्रश्न नै उठ्दैन नि। 

टिकटको सन्दर्भमा अलिकति कुरा गरौँ न। केपी शर्मा ओलीसँग तपाईं निरन्तर संवादमा हुनुहुन्थ्यो। अब रामेश्वर राणाले पाइसकेको टिकट अन्तत : तपाईंले उम्काइदिनु भयो। यो चाहिँ पहिलेकै सहमति थियो भने अन्तिमसम्म किन कुरेको? यदि पहिल्यै सहमति थिएन भने... खास भएको के थियो कुराकानी

यो च्याप्टर क्लोज भइसकेको छ। क्लोज भइसकेको कुरालाई उखेल्ने काम नगरौँ होला। सारमा बुझ्नुपर्ने कुरा के भने अहिले देशी विदेशी शक्तिहरूको एउटा योजनाअनुसार एउटा गठबन्धन निर्माण  गरेर नेकपा एमालेलाई पराजित गर्ने, केपी ओलीलाई पराजित गर्ने, राष्ट्रवादी शक्तिलाई कमजोर बनाउने प्रयास भइरहेको छ। 

यो अवस्थामा राष्ट्रवादी शक्तिहरू एक ठाउँमा आउनुपर्दछ। र त्यो ठूलो पार्टीको नाताले राष्ट्रवादी भएको नाताले अन्य शक्तिलाई समन्वय गर्ने काम नेकपा एमालेले गर्नुपर्छ र गठबन्धनलाई परास्त गर्नुपर्छ भन्ने कुरा एमालेका सम्पूर्ण नेतृत्वदेखि कार्यकर्ताले बुझेका छन्। अहिले गठबन्धनसँग एमाले चुनावी युद्ध गर्न लागिरहेको छ। 

जुन एजेण्डा बोक्नुभएको थियो, त्यो एजेण्डा छोड्नुभयो। पछि गएर महाधिवेशनपछि पार्टी छोड्नुभयो। नयाँ पार्टी गठन गर्नुभयो। अहिले आफ्नो पार्टीको चुनाव चिह्न छोडेर अर्को पार्टीको चुनाव लिएर लड्दै हुनुहुन्छ। तपाईंमा विचलन देखिएको हो

कुनै विचलन छैन। मेरो मूलभूत सिद्धान्त भनेको जन सर्वोच्चता हो। प्रजान्तत्रप्रतिको विश्वास हो। मैले राजनीतिक यात्रा सुरु गरेदेखि नै जुनसुकै व्यवस्था वा संविधानअन्तर्गत रहँदा  पनि मैले जनताको सर्वोच्चतालाई मैले सर्वोपरि साध्यका रूपमा लिएको छु। यही कारणले गर्दा पनि राजनीतिक परिवर्तनका बाबजुद पनि राष्ट्रिय राजनीतिमा शिर ठाडो पारेर बाँच्न सफल भएको छु। यसमा कुनै पनि प्रकारको राजनीतिक विचलन देख्नुपर्ने जरुरी छैन। 

फरक राजनीति विचार बोकेका नेपाली कांग्रेस र माओवादी जो हिजो टाउकोको मोल तोक्ने र तोकिनेहरू एकै ठाउँमा उभिएर चुनाव प्रचारमा हिँडिरहेका छन्। मैले त त्यस्तो कुनै अपराध गरेको छैनन् नि। बेइमानी गरेको छैन। धोका दिएको छैन।

जनताको सर्वोच्चतामा विश्वास गरेको छु। चुनावमा भाग लिएको छु। जनताको विश्वास जितेर चुनाव जितेको छु। यहाँ राजनितिक विचलन छैन। अब रह्यो राजनीतिक एजेण्डाको कुरा। यो समय काल परिस्थितिअनुसार परिवर्तन हुँदै जाने कुरा हो। म लोकतान्त्रिक स्थितिमा उभिएको छु। मैले राष्ट्रियता छोडेको छैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.