|

बागलुङ :  धौलागिरी क्षेत्रमा धेरै गुन्जिने गीत हो ‘यानीमाया’। एक दशक अगाडिसम्म मेला, महोत्सव, चाडपर्व र मेलापात गर्दा गाइने यानीमाया गीत अहिले गुन्जिन छोडेको छ। एकल तथा समूहिक रुपमा महिला र पुरुष भएर गाइने यो गीत नयाँ पुस्ताले भने गाउन सिकेनन्।

यो गीत एक जनाले सुरु गर्ने र उसँगै समुहका अन्य कलाकारहरूले गाउने गर्छन्। केहीले एकल रुपमा पनि गाउने गर्छन्। अहिले बजारमा आएका आधुनिक, लोकदोहोरी लगायतका गीतले गर्दा यानीमाया गीत गाइन छोडेको बुढापाकाको भनाइ छ।

धौलागिरीको म्याग्दी, बागलुङमा बढी चर्चित यानीमाया गीत पर्वतका मगर तथा मुस्ताङका केही थकाली समुदायले गाउने गरेको पाइन्छ। खास गरी आदिवासी जनजाति समुदायमा लोकप्रिय मानिने यो गीत मगर र छन्त्याल जातिले बढी गाउने गर्छन्। बजारमा भन्दा बढी गाउँहरूमा गुन्जिने यानीमाया गीत कम गाइन थालेको पाइन्छ।

बागलुङ जिल्लाको निसीखोलाका बुढापाकाले अहिले पनि मेला महोत्सव हुँदा यो गीत गाउने गरेको पाइन्छ। तर पहिलेको जस्तो रौनक भने छैन। गाउँदा गाउँदै मान्छेलाई रुवाउने र हँसाउने यो गीत लोक र दोहोरीगीत भन्दा विल्कुलै फरक हुन्छ। गीतको बीच–बीचमा यानीमाया जोडेर गाइने हुँदा यसलाई यानीमाया गीत भन्ने गरिएको निसीखोला गाउँपालिका–६ सिपकी ५९ वर्षीया तिर्सना घर्ती मगरले बताउँछिन्। उनले यो गीत नयाँ पुस्ताले नजान्ने बताइन्।

'गीतहरू सबै एउटै हुँदैनन्, शब्दै एउटै भए पनि त्यसको लय फरक हुन्छ, यानीमाया गीतको बीच–बीचमा यानीमाया भनेर जोडिन्छ, त्यही भएर यसलाई यानीमाया गीत भन्ने गरिएको हो, पहिले–पहिले हामीहरूले निकै गाउने गथ्र्यौं', घर्ती मगरले भनिन्,'अहिले यो गीत कहीँ कतै पनि सुनिँदैन, अहिलेका युवायुवतीहरूले गाउन जान्दैनन्, हामीहरू पनि बुढो भइयो, पहिलेको जस्तो स्वर तान्न सकिदैन, यो गीतका लागि धेरै लामो स्वर तान्नु पर्छ, यानीमाया गीत गाउँदा गाउँदै कति रुन्छन्, कति हाँस्छन्, यो गीतमा मान्छेलाई रुवाउने र हँसाउन सक्ने शक्ति हुन्छ।'

घर्ती मगरले आफूहरूले रोधी बस्दा पनि यानीमाया गीत गाउने गरेको भन्दै अहिले रोधीनै बस्न छोडिएको बताइन्। पछिल्लो समय रेडियो, टेलिभिजन तथा मोबाइलमा आउने आधुनिक र लोकगीतहरूले यानीमाया गीत हराउन थालेको उनको भनाइ छ। घर्तीले यानीमाया गीत कलाकारहरूले पनि कमै मात्रा गाउने गरेको बताउँछिन्।

'हाम्रो गाउँ तिर पहिले–पहिले रोधी बस्ने चलन थियो, रोधीमा तरुनी तन्नेरी भएर गीत गाउने गथ्र्यौं, धेरै वर्ष भयो रोधी बस्ने र गीत गाउने चलन हरायो, रेडियो टेलिभिजनमा आउने लोकगीत, आधुनिक गीत सुन्न थालेपछि यानीमाया गीत गाउन छोडिएको हो,' उनले भनिन्,'यो गीत त कलाकारहरूले पनि गाएका छैनन्, पुराना केही कलाकारले गाएको त सुनियो तर अहिले सुनिँदैन।'

उनले रोधीमा यानीमाया गीत गाउँदा गाउँदै आफूले विवाहसमेत गरेको सुनाउँदै अहिले त्यो चलन हटेको बताइन्। गीत गाउँदा गाउँदै यस क्षेत्रमा धेरैले विवाह गरेको उनको भनाइ छ। घर्ती मगर भन्छिन्, 'पहिले त रोधी बस्ने, गीत गाउने, गीत गाउँदै गाउँदै तरुनी तन्नेरी मन पर्‍यो भने बिहे गर्ने चलन थियो, अहिले रोधी पनि बस्न छोडियो, त्यसरी बिहे पनि हुँदैन, गीत गाउनेहरू पनि छैनन्, हामीभन्दा पछाडिका नयाँ युवाले यो गीत गाउँदैनन्।'   

बागलुङ गलकोटका पूर्णबहादुर श्रीसले यानीमायासँगै गीतमा मौलिकता हराउँदै गएको बताए। श्रीसले यानीमाया गीतहरू मध्ये विशिष्ट गीत रहेको भन्दै पछिल्लो समय धौलागिरी क्षेत्रमै निकै कम गुन्जिने बताए। 'यानीमाया गीतले मौलिकता बोकेको थियो, त्यो गीतले जस्तो अन्य कुनै पनि गीतमा मौलिकता पाइँदैन, यसले सांगीतिक क्षेत्रमा सिंगो धौलागिरीको पहिचानलाई बेग्लै बनाउन सफल भएको थियो, अहिले हराउन थालेको', उनले भने।

उनले लोक, आधुनिक र पप गीत जस्तै रेकर्ड भएर विभिन्न माध्यमबाट नागरिकसम्म पुगेको भए अरु गीत ओझेलमा पर्ने बताए। यानीमायासँगै सुनिमाया र शिरफुलेमाया पनि हराएको श्रीसको भनाइ छ। 'यानीमाया तीन दिन तीन रात गाएर पनि सकिदैन, गाउँदै गयो भने यसको गहिराइमा पुगिन्छ, गहिराबाट निस्किन समय लाग्छ,' श्रीसले भने,'अहिले गाइने गीतहरू जस्तै यानीमाया गीत पनि रेकर्ड भएर रेडियो, टेलिभिजन र मोबाइलहरूमा आएको भए, अरु गीत ओझेलमा पर्ने थियो, यानीमाया गीत गाउन सुन्न थालियो भने अरु गीत सुने जस्तो, गाए जस्तो हुन्न।'

उनले यानीमाया गीत टिभी, रेडियोमा सुनेर नभई बुढापाकाले गाएको सुनेर सिकेको बताए। कलाकारहरूले यो गीतलाई रेकर्ड गरेर जनस्तरमा ल्याउन सके संरक्षित हुन सक्ने श्रीसको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.