|

काठमाडौं : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचन भोजपुरमा रोचक बन्दैछ। एक मात्र निर्वाचन क्षेत्र रहेको भोजपुरमा पूर्वमुख्यमन्त्री शेरधन राई र सत्ता गठबन्धनका उम्मेदवार सुदन किराँती बीचको प्रतिस्पर्धा रोचक हुने भएको हो।

प्रदेश नम्बर १ को मुख्यमन्त्री भइसकेका नेकपा एमालेका नेता राई र नेकपा माओवादी केन्द्रबाट संघीय सांसदको प्रतिनिधित्व गर्ने किराँती एक अर्कालाई पछार्ने दाउमा छन्। 

२०७४ सालको निर्वाचनमा वाम गठबन्धनको सहयोगमा सांसद बनेका किराँतीले नेपाली कांग्रेसका उम्मेदवार रमेशजंग रायमाझीलाई पराजित गरेका थिए।

किराँतीले ३४ हजार ३९३ मत पाएका थिए भने रायमाझीले २१ हजार ६९६ मत मात्रै । २०७० सालको निर्वाचनमा विजयी भएको एमाले यसपटक गठबन्धनसँग बदला लिने दाउमा छन्।

२०४८, २०५१ र २०५६ सालको निर्वाचनमा लगातार विजयी भएको एमालेले पहिलो संविधानसभा निर्वाचनमा नमिठोसँग पराजय भागेको थियो। त्यसबेला माओवादीले जितेको थियो। साथै  २०७४ सालको निर्वाचनमा भने भागवण्डाअनुसार एमालेले दुईजना प्रदेश सांसद पायो भने माओवादीले संघीय।

जनयुद्ध लडेका किराँतीले पहिलो संविधानसभा निर्वाचनमा राईलाई पराजित गरेका थिए। राष्ट्रिय राजनीतिका जल्दाबल्दा मुद्दामा फरक ढंगले प्रस्तुत हुने किराँती निर्वाचन जितेर पनि आफ्नो क्षेत्रमा जाने, जनताको आवाजलाई संसदमा सशक्त रुपमा प्रस्तुत गर्ने सांसदको रुपमा परिचित छन् । 

०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा एमाले नेता राईलाई हराएर विजयी भएका किराँती २०७० सालमा भने उनै राईसँग पराजित भएका थिए । 

९ वटा स्थानीय तह रहेको भोजपुरमा गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेले तीन, नेपाली कांग्रेसले तीन, माओवादीले दुई र एक जना स्वतन्त्र उम्मेदवारले चुनाव जितेका थिए। 

एमालेले षडानन्द नगरपालिकाको मेयर, पौवादुङमा र हतुवागढी गाउँपालिकाको अध्यक्ष जितेको थियो। कांग्रेसले भोजपुर नगरपालिकाको मेयर, अरुण र टेम्केमैयुङ्ग गाउँपालिकाको अध्यक्ष जितेको थियो। यस्तै माओवादी केन्द्रले आमचोक र रामप्रसाद राई गाउँपालिकाको अध्यक्ष जितेको थियो। स्वतन्त्र उम्मेदवारले साल्पासिलिछो गाउँपालिकाको अध्यक्ष जितेको थियो।  वडा गत मतका आधारमा एमाले २७ हजार ६५६ मतसहित पहिलो स्थानमा छ।

यस्तै नेपाली कांग्रेस २३ हजार ५९९, माओवादी केन्द्र १४ हजार ७६१, एकीकृत समाजवादी १९४५ र जनता समाजवादी पार्टी १६४५ मत पाएका छन्। मतका आधारमा एमाले पहिलो दल देखिए पनि सबै दल एक ठाउँमा हुँदा एमालेलाई भोजपुरमा हम्मेहम्मे देखिएको  छ।

यसो त मुख्यमन्त्री भएका बखत शेरधनले जिल्लाको विकासमा चासो नदेखाएको मतदाताको गुनासो छ। २०५६ सालको निर्वाचनमा राई कान्छो सांसदका रूपमा चुनिएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.