|
फाइल फोटो

काठमाडौं : स्थानीय मतदाताले नवलपरासी पश्चिमको प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार उद्योगपति विनोद चौधरीबाट पनि कुनै अपेक्षा नगरेको बताएका छन्।

अहिलेसम्म निर्वाचनबाट जितेर सांसद भएकाहरुले नगरेको र सत्तारुढ गठबन्धनको तर्फबाट सो क्षेत्रमा उम्मेदवारी दिएका उद्योगपति चौधरीबाट पनि केही होला भन्ने आशा नगरेको उनीहरुको भनाइ छ।

स्थानीय बैदनाथ खरालले अहिलेसम्म कसैले केही नगरेकाले चौधरीले पनि गर्नुहोला भन्ने नलागेको प्रतिक्रिया दिए। न्यूज एजेन्सी नेपालसँगको संक्षिप्त कुराकानीमा उनले अब जितेर जाने सांसदले बाटोको आवश्यक व्यवस्था मिलाइदिए हुने अपेक्षासमेत गरे।

उद्योगपति चौधरीले चाहेमा आफ्नो क्षेत्रको सडक बाटोको २ दिनमै आवश्यक व्यवस्था मिल्ने थियो भन्दै खरालले त्यसका लागि उनमा चाहना हुनुपर्ने बताए। खरालले भने, ‘अब उहाँले केही गर्नुहोला भन्ने आशा त छैन। तर आशावादी भई यो बाटो बनाई दिएमा राम्रै हुन्थ्यो। तर गर्नुहोला भन्ने आशा छैन है फेरि ढुक्कै। उहाँले चाहे २ दिनमा पनि बाटो बनाई दिन सक्नुहुन्छ। यसमा उहाँले चाहनुपर्‍यो। अहिलेसम्म कसैले गरेका छैनन्। अब कसैले गर्लान भन्ने आशा पनि छैन्।’

उद्योगपति चौधरीबारे कुनै जानकारी नभएको केही मतदाताले बताएका छन। स्थानीय दिननाथ कँडेलले चिन्दै नचिनेकाले उनीसँगबाट आशा गर्ने ठाउँ नै नरहेको बताए। जनतालाई खुशी राख्ने, गरिबलाई हेर्ने, रोजगारी दिने काम गर्न सक्नु हुन्छ कि हुन्न? त्यो बुझेर मात्रै उनलाई मतदान गर्न सकिने उनको प्रतिक्रिया थियो। कँडेलले भने, ‘चिनिएको छैन, जानिएको छैन। चिनिन पर्‍यो। सबैभन्दा ठूलो कुरा चुनाव जितेर गएर उहाँले के गर्नु हुन्छ? अनि, हामी जनतालाई के भन्नु हुन्छ ? जनतालाई खुशी राख्न सक्नु हुन्छ कि हुन्न ? रोजगारी दिने, गरिव जनतालाई हेर्ने काम गर्न सक्नु हुन्छ कि हुन्न ? वास्तवमा हामीले उहाँलाई चिनेका पनि छैनौं।’

नेताहरु व्यक्तिगत स्वार्थका लागि सांसद बन्न चाहेकाले उनीहरुबाट विकास, निर्माणको काममा पनि आशा गर्न सकिने ठाउँ नरहेको केही मतदाताको आरोप थियो। उनीहरुले जनताको पीडा बुझ्ने, सडक बाटा पीच गरिदिने नेतालाई आगामी निर्वाचनमा जनताले मत दिने धारणासमेत राखेका छन्।

नेपाली कांग्रेसले उद्योगपति चौधरीलाई सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ। तर, जनताले भने उनीबाट पनि अपेक्षा गर्ने ठाउँ नरहेको बताएका छन्। विगतमा त्यस क्षेत्रबाट सांसद बनेकाहरुले केही नगरेकाले अब बन्ने सांसदले पनि केही नगर्ने स्थानीय मतदाताको बुझाइ छ।

उद्योगपति चौधरी एमालेको समेत समर्थनमा उम्मेदवार बन्नुभएका जनता प्रगतिशील पार्टीका नेता एवम् पूर्वमन्त्री हृदयेश त्रिपाठीसँग चुनावी प्रतिस्पर्धा गर्दै छन्। राजनीतिक पृष्ठभूमिका त्रिपाठी र व्यापारिक पृष्ठभूमिका चौंधरीबीचको चुनावी प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.