|

मुलुक प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको संघारमा छ। निर्वाचनले गाँउबस्ती, शहर बजारको चोक र गल्लिहरुमा राजनीतिक माहोल तातिएको छ। निर्वाचन आउन ३३ दिन बाँकी रहँदा उम्मेदवारहरूले मतदातासँगको भेटघाटलाई तिव्रता दिइरहेका छन्। निर्वाचनको माहौलले अबको निर्वाचनबाट यहाँको राजनीति गतिविधिसँगै नेताहरुको अवस्था कस्तो होला भन्ने विषयमा सबैको ध्यान मोडिएको छ।

प्रदेश–१ जहाँ ठूलाठूला राजनीतिक दलको नेतृत्व गर्ने ‘हेभिवेट’ नेताहरुको थातथलो र राजनीतिक भविष्यको भाग्य रेखा कोरिएको छ भने, मजदुर आन्दोलनले जन्माएका शीर्ष नेता गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, बीपी कोइरालालगायतको राजनीतिक उर्वर भूमी पनि यही प्रदेश हो।

यस्तै परम्परागत राजनीतिले गिजोलेको पछिल्लो समयको राजनीतिक अवस्थालाई निमिट्यान्न पार्नुपर्छ भन्ने उद्देश्यसहित  प्रदेश १ को विभिन्न निर्वाचन क्षेत्रमा ‘हेभिवेट’ नेताहरुलाई चुनौती दिँदै कलाकारदेखि लेखकसम्म चुनावी मैदानमा उत्रिएका छन्।  

यो प्रदेशबाट २३ जना शीर्ष नेताहरु चुनावी मैदानमा उत्रिएका छन्। पूर्वप्रधानमन्त्रीदेखि संविधानसभा अध्यक्षसम्म चुनावी मैदानमा छन्।  १४ वटा जिल्ला रहेको प्रदेश १ मा २८ वटा निर्वाचन क्षेत्र रहेका छन्।

योगेशलाई चुनौती

पार्टी विभाजन सँगै १० बुँदे सहमति पछि एमालेमै रहेका योगेश भट्टराईलाई यस पटकको निर्वाचन जित्न त्यति सहज छैन। उनीसँग सत्ता गठबन्धनबाट माओवादी नेता खिलप्रसाद बुढाथोकी प्रतिस्पर्धामा उत्रिएका छन्।

सोही क्षेत्रबाट  बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेर निर्वाचन जितेका उनले ताप्लेजुङमा स्वतन्त्रसहित ११ जना उम्मेदवारसँग प्रतिस्पर्धा गर्दैछन्। उनले पार्टी विभाजनपछि तत्कालिन समय ओलीकाविरुद्धमा उनले गरेको यसअघिका भाषणहरू सामाजिक सञ्जालमा सार्वजनिक गर्दै आलोचना समेत गरिएको छ।

एमाले निकटकै कतिपयले भट्टराईको आलोचना गरिरहेका छन्। सो क्षेत्रमा स्थानीय निर्वाचन पार्टीगत वडाध्यक्षका उम्मेदवारले पाएको मतअनुसार सत्ता गठबन्धन माओवादीको मत धेरै छ। स्थानीय निर्वाचनको मत परिणाम अनुसार पनि यो निर्वाचनलाई योगेशलाई जित हात पार्न सकसपूर्ण देखिन्छ। स्थानीय निर्वाचनमा एमालेले २४ हजार २९५ मत पाएको छ भने कांग्रेस १८ हजार २८४, माओवादी ४ हजार ४९७, नेकपा एसको १ हजार ३०८ मत छ।

वसन्त र भीष्मबीच टक्कर

पाँचथरबाट नेकपा एमालेका नेता वसन्तकुमार नेम्वाङ र नेपाली कांग्रेसका सहमहामन्त्री  भीष्मराज आङदेम्बेबीच प्रतिष्पर्धा हुँदैछ। ०७४ को निर्वाचनमा बाम गठबन्धनको सहयोगमा निर्वाचन जितेका नेम्वाङले यसपटक बलियो प्रतिस्पर्धी पाएका छन्।

अघिल्लो निर्वाचनमा नेम्वाङलाई सघाएको माओवादी केन्द्रले यो निर्वाचनमा आङदेम्बेलाई सघाउने छ। पाँचथरमा १५ उम्मेदवार भए पनि  मैदानमा भने  एमालेका  नेम्वाङ र कांग्रेसका आङ्देम्बेबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ। बदलिएको राजनीतिक अवस्थामा नेम्वाङलाई चुनाव जित्न कठिन छ। तर, उनी आफ्नो निर्वाचन क्षेत्रमा मतदाता माझ लोकप्रिय नेताको रुपमा परिचित छन्।​

इलाम-१

नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल इलाम क्षेत्र नम्बर १ बाट चुनाव लड्दैछन्। २०७४ सालको निर्वाचन एमालेबाट जितेका खनालले २०४८ साल यताका सबै निर्वाचनमा पराजय भोग्नुपरेको छैन्।

खनाल पहिलोपटक नेकपा एमाले छोडेर नेकपा एसबाट चुनावी मैदानमा होमिएका हुन्। इलाम-१ बाट एमालेले जिल्ला अध्यक्ष महेश बस्नेतलाई मैदानमा उतारेको छ। खनालले यसपटकका निर्वाचन आफ्ना चेलासँग लड्न लागेका हुन्।

एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादीपार्टी गठनमा महत्वपूर्ण भूमिका खेलेका खनाललाई निर्वाचन जित्नै पर्ने चुनौती छ। स्थानीय तह निर्वाचन मत परिणामले पनि खनाललाई आगामी निर्वाचनमा जित हात पार्न चुनौती देखिन्छ। गत स्थानीय तहको निर्वाचनमा एमालेले २६ हजार २३३ मत प्राप्त गरेको थियो। जनता समाजवादी पार्टीले १८२९ मत प्राप्त गरेको थियो। 

यस्तै नेपाली कांग्रेसले २५ हजार ७७२, नेकपा एस ९४८१, माओवादी केन्द्र १२३५, राप्रपाले ११६९ मत पाएका थिए। इलाममा नेपाली कांग्रेसका नेता विक्रम पाण्डेले बागी उम्मेदवारी दिएका छन्। उक्त क्षेत्रमा गत स्थानीय तहदेखि दुई दलबीच राम्रो सम्बन्ध छैन्। ​

सुवास-खड्का भिडन्त

इलाम-२ मा एमालेका नेता एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले सत्ता गठबन्धनको तर्फबाट कांग्रेस स्थानीय नेता डम्बरबहादुर खड्का प्रतिस्पर्धामा छन्। नेम्वाङको निर्वाचन क्षेत्रमा एमाले विभाजनको छिटा स्थानीय तह निर्वाचनमा देखिएको छ।

वैशाखमा सम्पन्न निर्वाचनमा सत्तारुढ दलहरूको मत बढी देखिएको हुँदा नेम्वाङको लागि यो निर्वाचन जित्नु अघिल्लो निर्वाचनमा जस्तो सहज छैन। सो क्षेत्रको स्थानीय निर्वाचनमा पार्टीगत वडाध्यक्षका उम्मेदवारमा सत्ता गठबन्धन पार्टी अर्थात नेपाली कांग्रेसको धेरै छ। कांग्रेसले   ३२ हजार ९७८ मत प्राप्त गरेका छन्  भने ,एमाले ३२ हजार ५२७, माओवादीले २ हजार ७१७ मत प्राप्त गरेका छन्।

झापा– ५

झापा क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली चुनावी मैदानमा छन्। सत्ता गठबन्धनले ओलीविरुद्ध नेपाली कांग्रेसका डाक्टर खगेन्द्र पाण्डव अधिकारीलाई उम्मेदवार खडा गरेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीको साथ पाएका ओलीले कमजोर प्रतिस्पर्धी पाएका छन्। सातौँ पटक निर्वाचनको प्रतिस्पर्धामा होमिएका ओलीले राप्रपासँगको चुनावी तालमेलका कारण राम्रै नतिजा ल्याउने आंकलन गरिएको छ। 

२०६४ सालको निर्वाचनमा पराजय व्यहोरेका ओली त्यसयताका निर्वाचनमा लगातार विजयी हुँदै आइरहेका छन्। यसपटक पनि उनले बाजी मार्ने लगभग पक्का छ। राप्रपाको पकड मानिएको उक्त क्षेत्रमा गत स्थानीय तहको मत परिणामलाई आधार मान्ने हो भने एमाले अध्यक्ष ओली सुरक्षित देखिएका छन्। 

एमालेको वडाध्यक्ष उम्मेदवारले ४१ हजार ६ सय १९ मत पाएका छन्। सत्ता गठबन्धन नेपाली कांग्रेस, माओवादी केन्द्र र समाजवादीका वडाध्यक्षका उम्मेदवारले ३४ हजार ६ सय ६९ मत पाएका छन् । साथै राप्रपाका वडाध्यक्षका उम्मेदवारले आठ हजार तीन सय ५३ मत ल्याएका थिए। 

झापा-३

झापा क्षेत्र नम्बर ३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाबीच चुनावी प्रतिष्पर्धा हुँदैछ। दोस्रो संविधानसभा निर्वाचनदेखि प्रतिष्ठाको लडाईं लड्दै आएका यी नेताहरु फरक राजनीतिक विचार राख्ने नेताको रुपमा परिचित छन्।

पहिलो संविधानसभा निर्वाचनमा विजयी भएका सिटौला २०७४ मा लिङ्देनसँग पराजित भएका थिए। वाम गठबन्धनको समेत समर्थन पाएका लिङ्देन ४४ हजार ६ सय १४ मत पाएर विजयी भएका थिए भने सिटौलाले ३१ हजार १ सय ५९ मत मात्रै पाएका थिए।

सिटौलाले यो निर्वाचन आफ्नो अन्तिम भएको बताइरहेका छन् भने, लिङ्देनले पनि यो मंसिरको निर्वाचनपछि नयाँ पुस्तालाई सहयोग गर्ने र आफू उम्मेदवार नबन्ने बताउँदै आएका छन्।   गत वैशाखमा सम्पन्न स्थानीय तहको मत परिणामलाई हेर्ने हो भने राप्रपा र एमालेको मत सबैभन्दा धेरै छ। राजेन्द्रलाई एमालेको समर्थन छ। स्थानीय तहमा वडाध्यक्षहरुले प्राप्त गरेको मतअनुसार राप्रपाको २१ हजार १५९, नेकपा एमालेको २१ हजार ८५ मत रहेको छ। नेपाली कांग्रेसको  २५ हजार ९४९ र नेकपा माओवादी केन्द्रको ६ हजार ६८८ मत रहेको छ।  ​

झापा- १

झापा क्षेत्र नम्बर १ बाट नेकपा एमालेका नेता अग्नि खरेल र नेपाली कांग्रेसका महामन्त्रीबीच चुनावी प्रतिष्पर्धा हुँदैछ। 

२०७० सालको दोस्रो संविधानसभा र २०७४ सालको निर्वाचनमा पराजय भोगेका शर्मा तेस्रो पटकको प्रयासमा संसद छिर्ने दाउमा छन्। ०७४ को निर्वाचनमा  शर्माले ३३ हजार तीन सय १० मत प्राप्त गरेका थिए।

उनी नेकपा माओवादी केन्द्रका राम कार्कीसँग पराजित भएका हुन्। कार्कीले ३६ हजार एक सय ७३ मत ल्याएका थिए। खरेललाई राप्रपाको साथ छ। गत वैशाखमा सम्पन्न स्थानीय तहको मत परिणामलाई हेर्ने हो भने नेकपा एमालेसँग ३१ हजार २३२ मत रहेको छ भने राप्रपाको ५ हजार ९२२ मत पाएको छ। यस्तै नेपाली कांग्रेससँग २४ हजार ५९, माओवादी केन्द्रसँग तीन हजार ९०५ मत रहेको छ।  

मोरङ- ६

मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका नेता शेखर कोइराला र नेकपा एमालेका लालबाबु पण्डितबीच प्रतिष्पर्धा हुँदैछ। २०७४ सालको निर्वाचनमा पण्डितसँग हार व्यहोरेका कोइराला यसपटक बदला लिने दाउमा छन्।

अघिल्लो निर्वाचनमा ६४८ मतले पराजय व्यहोरेका कोइरालालाई यसपटक माओवादी केन्द्र र नेकपा एसले सहयोग गर्नेछन्। पण्डित ३३ हजार ९४१ मत ल्याएर विजयी भएका थिए भने कोइरालाले ३३ हजार २६६ मत पाएका थिए।

स्थानीय तहको मत परिणामलाई आधार मान्ने हो भने उक्त क्षेत्रमा गठबन्धन अगाडि छ। जसअनुसार नेपाली कांग्रेसको २७ हजार ८६, नेकपा माओवादी केन्द्रको ४ हजार ९९६, नेकपा एसको २ हजार ३५५, लोसपाको ८९५ मत रहेको छ। यस्तै नेकपा एमालेको २४ हजार ५५६, जसपाको ३९३९ र राप्रपाको ३११५ मत रहेको छ। 

विरासत फर्काउने दाउमा सुजाता 

मोरङ-२ मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाको भाग परेको छ। सो क्षेत्रमा भने ३ जना स्वतन्त्रसहित १३ जना उम्मेद्वार बनेका छन्। कोइरालाको प्रतिस्पर्धामा एमाले गठबन्धनबाट ऋषिकेश पोखरेल रहेका छन्।

यसअघिको  निर्वाचनमा पोखरेल डा. मिनेन्द्र रिजालसँग पराजित भएका हुन्। २१ वर्षपछि आफ्नै निर्वाचन क्षेत्रमा चुनाव लड्न आएकी सुजातालाई त्यही क्षेत्रमा दैनिकी विताएका एमाले नेता पोखरेललाई पराजित गर्न सकसपूर्ण रहेको सो क्षेत्रका मतदाताहरुले बताउने गरेका छन्। 

कोइरालाले पार्टी भित्रको  आन्तरिक अन्तरविरोध हल गर्दै एमाले भित्रको असन्तुष्टि र गठबन्धन दलको मत मिलाउन सके  मात्रै जित हात पार्न सक्ने केही नेताहरुको भनाई छ। सो क्षेत्रमा स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतमा एमाले अगाडी छ। एमाले ३१३३० मत प्राप्त गर्दा कांग्रेसले  २८६१७ पाएको छ भने, माओवादीले ७२७१ मत प्राप्त गरको  छ। स्थानीय तह निर्वाचनको मत परिणाम अनुसार पनि कोइरालालाई जीत हात पार्न निकै सकस पर्ने देखिन्छ।

भानुभक्तलाई छैन सहज

पूर्व स्वास्थ्य मन्त्रीसमेत रहेका एमाले नेता भानुभक्त ढकालले पुनः मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका छन्। उनीसँग पुरानै प्रतिस्पर्धी कांग्रेस नेता सुनिल शर्मा चुनावी मैदानमा छन् भने शर्मा र ढकालको प्रतिस्पर्धामा अभिनेत्री रेखा थापा पनि मिसिएकी छन्। वाम गठबन्धनको सहयोग पाएका ढकालले शर्मालाई अघिल्लो निर्वाचनमा पराजित गरेका थिए। तर, यो निर्वाचनमा ढकाललाई शर्मा चुनौतीका रुपमा खडा भएका छन्। माओवादी केन्द्र र नेकपा एसको समर्थन पाएका शर्माले ढकाललाई अघिल्लाे निर्वाचनको हारको बदला लिने तयारी गरेका छन्। 

मोरङको क्षेत्र नम्बर ३ मा भ १९ जना स्वतन्त्र सहित ३३ जना उम्मेदवार बनेका छन्। राप्रपाबाट थापाको प्रवेशसँगै सो क्षेत्रमा कसको मत धेरै काटिन्छ भन्ने तनावका बीच ढकालका लागि एमाले विभाजन, टिकट वितरणमा देखिएको असन्तुष्टिको व्यवस्थापन पनि चुनौतिपूर्ण बनेको छ।

अशोकले बाजी मार्लान् त ?

नेकपा एमाले र जसपाबीच चुनावी तालमेल भएपछि सुनसरी क्षेत्र नम्बर एक जसपाको भागमा परेको छ। जसपाबाट नेता अशोक राईले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन्। भने सत्ता गठबन्धनको तर्फबाट मुक्सामहाङ मेन्याङबो उम्मेदवार बनेका छन्।

सुनसरीको क्षेत्र नम्बर १  मा अशोक राईसहित २० जनाले उम्मेदवारी दर्ता गराएका छन्। एकल निर्वाचन लड्ने मानसिकतामा रहेको एमालेमा अशोकलाई सघाउने भएपछि पार्टी भित्र नै विद्रोह भएको छ। उनको उम्मेदवारीसँगै एमाले नेता मनोज मेन्याङ्बोले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

दलका उम्मेदवार भन्दा मेन्याङ्बो बलियो उम्मेदवारका रुपमा रहेका छन्। सत्ता गठबन्धनको आडमा चुनावमा लड्ने मानसिकता बनाएका राईलाई सत्ता गठबन्धनको मत आउने ठूलो अपेक्षा थियो। तर, पछिल्लो समय एमालेसँगको तालमेलले सत्ता गठबन्धनले पनि मत नपाउने र एमालेको पनि सबै मत नपाउने हुँदा उसलाई झड्का लागेको छ। उक्त क्षेत्रबाट २०७४ सालको निर्वाचनमा एमाले नेता जसकुमार राई निर्वाचित भएका थिए।

भीम आचार्यको अवस्था

प्रदेश १ का मुख्यमन्त्री भइसकेका एमाले नेता भीम आचार्य सुनसरीको क्षेत्र नम्बर २ बाट निर्वाचन लड्दैछन्। आन्तरिक पार्टीको गुटबन्दीले समस्याग्रस्त बनेको सुनसरी एमालेको व्यवस्थापन नै आचार्यका लागि पहिलो चुनौति हो। भने, उनलाई सोही क्षेत्रबाट २०७४ सालमा विजयी बनेका सिताराम मेहताले चुनौति दिएका छन् उनलाई सोही क्षेत्रबाट २०७४ सालमा विजयी बनेका सीताराम मेहताले चुनौति दिएका छन्।

गच्छदारसँग बदला लिने दाउमा भगवती चौधरी

सुनसरी क्षेत्र नम्बर ३ पनि पछिल्लो समय निर्वाचन ताका चर्चाको विषय बन्छ। नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार र एमाले नेतृ भगवती चौधरी बीचको प्रतिस्पर्धा अहिले मात्रैको होइन।

२०७४ सालमा बाम गठबन्धनबाट उम्मेदवार बनेकी चौधरीलाई गच्छदारले पराजित गरेका थिए। गच्छदारले ३८ हजार ९ सय ७२ मत ल्याएका थिए भने चौधरीले ३८ हजार ६ सय ५१ मत ल्याएकी थिइन्। यसपटक गच्छदारलाई सत्ता गठबन्धन दलहरुको समर्थनले सजिलो बनाएको छ।

सो क्षेत्रमा यसअघि स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले पाएको मत अनुसार एमाले अगाडी छ भने कांग्रेस दोश्रो र जसपा तेश्रो स्थानमा छ। एमाले  ३५ हजार ५३, कांग्रेस ३३ हजार ५७१,  जसपा ५ हजार ५१६ र माओवादी केन्द्रले ३८ सय मत ल्याएका छन्। 

कार्कीविरुद्ध-कुशियत

क्षेत्र सुनसरीको ४ नम्बरबाट  सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवार बनेका छन्। ०७४ को निर्वाचनमा बाम गठबन्धनको बर्चस्व हुँदा उनले कांग्रेसबाट जित हात पारेका थिए। पटकपटक भोजपुरबाट पराजय भोगेर सुनसरी झरेका कार्कीले २०७४ सालमा सोही निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभामा जितेका थिए।

२०७४ को निर्वाचनमा कार्कीले ३२ हजार ३ सय ४७ मत ल्याउँदा श्रेष्ठले २५ हजार ७ सय ५० मत ल्याएका थिए।  प्रदेश १ का तत्कालिन मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारमा पर्यटन मन्त्रीसमेत भएका जगदिश कुसियतमन्त्री कार्की विरुद्ध चुनावी मैदानमा उभिएका छन्।  

यसअघि एक्लै जितेको क्षेत्रमा माओवादी केन्द्र तथा एमालेबाट विभाजित भएको पार्टी नेकपा एसले उनलाई सहयोग गरेको कारण निर्वाचन जित्नेमा कार्की ढुक्क जस्तै छन्। त्यसो त कार्की निर्वाचनमा उत्रिएको क्षेत्र कांग्रेसको प्रभाव क्षेत्र मानिन्छ।

बदला दिने दाउमा सुनिल 

एक मात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा नेकपा एमालेबाट राजेन्द्र राई र सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री सुनिलबहादुर थापाबीच रोचक प्रतिष्पर्धा हुँदैछ। पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको  नामसँग जोडिएको धनकुटा जिल्लामा राजनीतिक जगको छुट्टै पहिचान छ थापा परिवारका लागि। सूर्यबहादुर थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीको एउटा जग बसाएको धनकुटामा यतिबेला उनको छोरा सुनिल बहादुर थापा सत्ता गठबन्धनको तर्फबाट चुनावी मैदानमा उत्रिएका छन्।  

यता एमालेको पकड  क्षेत्र रहेको धनकुटामा २०७४ सालको निर्वाचनमा राई अत्याधिक मतका साथ विजयी बनेका थिए। धनकुटामा माओवादी पार्टी तेस्रो स्थानमा छ। सत्ता गठबन्धन दल माअ‍ोवादी केन्द्रका नेताले स्वतन्त्र उम्मेदवारी दिएसँगै थापाका लागि चुनौती थपिएको छ। उक्त पार्टीका धेरै कार्यकर्ता माओवादी नेता हेमराज भण्डारीको चुनावी प्रचारमा हिँडिरहेकाले थापालाई यो चुनाव जित्न निकै सकसपूर्ण रहेको सो क्षेत्रका माओवादी नेताहरु बताउँछन्।

किराँती-राईबीच प्रतिष्ठाको लडाईं

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचन भोजपुरमा रोचक बन्दैछ। एक मात्र निर्वाचन क्षेत्र रहेको भोजपुरमा पूर्व मुख्यमन्त्री शेरधन राई र सत्ता गठबन्धनका उम्मेदवार सुदन किराँती बीचको प्रतिस्पर्धा रोचक हुने भएको हो। प्रदेश नम्बर १ को मुख्यमन्त्री भइसकेका नेकपा एमालेका नेता राई र नेकपा माओवादी केन्द्रबाट संघीय सांसदको प्रतिनिधित्व गर्ने किराँती एक अर्कालाई पछार्ने दाउमा छन्। 

२०७४ सालको निर्वाचनमा वाम गठबन्धनको सहयोगमा सांसद बनेका किराँतीले नेपाली कांग्रेसका उम्मेदवार रमेशजंग रायमाझीलाई पराजित गरेका थिए। किराँतीले ३४ हजार ३९३ मत पाएका थिए भने रायमाझीले २१ हजार ६९६ मत मात्रै। २०७० सालको निर्वाचनमा विजयी भएको एमाले यसपटक गठबन्धनसँग बदला लिने दाउमा छन्।

२०४८, २०५१ र २०५६ सालको निर्वाचनमा लगातार विजयी भएको एमालेले पहिलो संविधानसभा निर्वाचनमा नमिठोसँग पराजय भागेको थियो। त्यसबेला माओवादीले जितेको थियो। साथै २०७४ सालको निर्वाचनमा भने भागवण्डाअनुसार एमालेले दुईजना प्रदेश सांसद पायो भने माओवादीले संघीय।

जनयुद्ध लडेका किराँतीले पहिलो संविधानसभा निर्वाचनमा राईलाई पराजित गरेका थिए। राष्ट्रिय राजनीतिका जल्दाबल्दा मुद्दामा फरक ढंगले प्रस्तुत हुने किराँती निर्वाचन जितेर पनि आफ्नो क्षेत्रमा जाने, जनताको आवाजलाई संसदमा सशक्त रुपमा प्रस्तुत गर्ने सांसदको रुपमा परिचित छन्। 

०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा एमाले नेता राईलाई हराएर विजयी भएका किराँती २०७० सालमा भने उनै राईसँग पराजित भएका थिए।  ९ वटा स्थानीय तह रहेको भोजपुरमा गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेले तीन, नेपाली कांग्रेसले तीन, माओवादीले दुई र एक जना स्वतन्त्र उम्मेदवारले चुनाव जितेका थिए। 

एमालेले षडानन्द नगरपालिकाको मेयर, पौवादुङमा र हतुवागढी गाउँपालिकाको अध्यक्ष जितेको थियो। कांग्रेसले भोजपुर नगरपालिकाको मेयर, अरुण र टेम्केमैयुङ्ग गाउँपालिकाको अध्यक्ष जितेको थियो। यस्तै माओवादी केन्द्रले आमचोक र रामप्रसाद राई गाउँपालिकाको अध्यक्ष जितेको थियो। स्वतन्त्र उम्मेदवारले साल्पासिलिछो गाउँपालिकाको अध्यक्ष जितेको थियो।  वडा गत मतका आधारमा एमाले २७ हजार ६५६ मतसहित पहिलो स्थानमा छ।

यस्तै नेपाली कांग्रेस २३ हजार ५९९, माओवादी केन्द्र १४ हजार ७६१, एकीकृत समाजवादी १९४५ र जनता समाजवादी पार्टी १६४५ मत पाएका छन्। मतका आधारमा एमाले पहिलो दल देखिए पनि सबै दल एक ठाउँमा हुँदा एमालेलाई भोजपुरमा हम्मेहम्मे देखिएको  छ। यसो त मुख्यमन्त्री भएका बखत शेरधनले जिल्लाको विकासमा चासो नदेखाएको मतदाताको गुनासो छ। २०५६ सालको निर्वाचनमा राई कान्छो सांसदका रूपमा चुनिएका थिए। 

उदयपुरको अवस्था

परराष्ट्रमन्त्रीसमेत रहेका नारायण खड्काले उदयपुर-१ बाट उम्मेदवारी दिएका छन्। सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेको उनको मुख्य प्रतिस्पर्धीमा एमालेकी मन्जुकुमारी चौधरी रहेकी छन्।

बाम गठबन्धन हुँदा पनि सोही क्षेत्रबाट २०७४ मा विजयी बनेका खड्काका पुरानै प्रतिस्पर्धी दोहरिएकी हुन्। वाम गठबन्धनविरुद्ध एक्लै चुनावी मैदानमा उत्रिएका खड्काले ३३ हजार १ सय ४२ मत पाएका थिए भने चौधरीले ३२ हजार ५ सय ९४ मत पाएकी थिइन्। 

यस्तै नेकपा समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडा उदयपुर २ बाट चुनाव लड्दै छन्। गठबन्धनको समर्थन पाएका खतिवडाले पूर्व सहकर्मी एवं नेकपा एमालेका उम्मेदवार अम्मरबहादुर रायमाझीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। नेकपा समाजवादीसँग राम्रो मतभार नभएका कारण उनलाई कांग्रेस–माओवादीको भर पर्नुपर्ने देखिएको छ। स्थानीय तहको मत भारलाई हेर्दा नेकपा एससँग ३ हजार ४२७ मात्रै छ।

नेपाली कांग्रेसको ११ हजार ३४४ मत, नेकपा माओवादी केन्द्रको ८ हजार २ सय मत रहेको छ। नेकपा एमालेको १८ हजार ५७३ र जसपासँग १ हजार ३३४ मत रहेको  छ। यसरी हेर्दा सत्ता गठबन्धनसँग २२ हजार ९७३ मत रहेको छ। गठबन्धनको मतभार र कांग्रेसबाट सबै भोट झरेको खण्डमा खतिवडाका लागि यसपटकको निर्वाचन सहज हुने देखिएको  छ। 

विशाललाई ब्रेक गर्ने दाउमा पासाङ

एक मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा सत्ता गठबन्धनबाट रामकुमार राई पासाङ र नेकपा एमालेकोतर्फबाट विशाल भट्टराई उम्मेदवार छन्। २०७४ सालको निर्वाचनमा सहयात्री बनेका राई र भट्टराई यसपटक प्रतिष्पर्धीको रुपमा उत्रिएका छन्।

०७४ सालको निर्वाचनमा राई र भट्टराई सहयात्री थिए। वाम गठबन्धनबाट भट्टराई प्रतिनिधिसभा सदस्य भए भने राई खोटाङ ‘ख’बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। २०७० र ०७४ सालका दुईपटक निर्वाचन जितेका भट्टराईलाई रोक्ने दाउमा जुटेका छन् पासाङ। 

०५६ सालमा पहिलो पटक निर्वाचन लडेका भट्टराई त्यसबेला कांग्रेसका शिवकुमार बस्नेतसँग पराजित भएका थिए। 

०६४ सालमा माओवादी नेता समिता कार्कीसँग पराजित भएका भट्टराईले ०७० को निर्वाचनमा पहिलो पटक निर्वाचन जितेका थिए। यसपटक हारे पनि जिते पनि भट्टराईको ‘ह्याट्रिक’ हुनेछ। 

गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरूले पाएको मतपरिणामअनुसार सत्ता गठबन्धन अगाडि छ। एमालेले २८ हजार ७९७ मत पाएको थियो। कांग्रेसले २६ हजार ६३३, माओवादी केन्द्रले १८ हजार ७३६, जसपाले ३ हजार र एकीकृत समाजवादीले २ हजार मत पाएका थिए। 
खोटाङमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धन छ। 

सुनुवारलाई रोक्ने रामहरीको चाल

ओखलढुंगामा सत्ता गठबन्धनको सहयोगमा वाम गठबन्धनबाट नेपाली कांग्रेसका नेता रामहरी खतिवडा उम्मेदवार छन्। नेकपा एमालेले खतिवडा विरुद्ध यज्ञराज सुनुवारलाई मैदानमा उतारेको छ। दोस्रो संविधानसभासम्म दुई वटा निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा हाल एक मात्र निर्वाचन क्षेत्र रहेको  छ। ्

२०६४ सालदेखि नै फरकफरक चुनावी मैदानमा उत्रिएका सुनुवार र खतिवडा २०७४ देखि एकअर्काको प्रतिस्पर्धी बनेका छन्। २०७४ मा वाम गठबन्धनको सहयोग पाएका सुनुवार यसपटक एक्लै चुनावमा छन् भने खतिवडालाई गठबन्धनको साथ छ। 

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन मत परिणामअनुसार नेपाली कांग्रेस पहिलो स्थानमा छ। कांग्रेसको ३२ हजार २८८ मत छ भने नेकपा माओवादी केन्द्र ६ हजार ९६१, नेकपा एसको ५२१ मत रहेको छ।  यस्तै दोस्रोमा एमाले रहेको छ। एमालेको २९ हजार ५९१ मत छ भने जसपाको २ हजार १९४ मत र राप्रपा नेपालको १४६ मत रहेको छ। 

बदला लिने दाउमा खड्का

संखुवासभामा नेकपा एमालेले राजेन्द्र प्रसाद गौतमलाई उम्मेदवार बनाएको छ। २०७४ सालको निर्वाचनमा वाम गठबन्धनको सहयोगमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित गौतमलाई एमालेले यसपटक पनि उम्मेदवार बनाएको हो। सत्ता गठबन्धनले नेपाली कांग्रेसका उम्मेदवार दिपक खड्कालाई उम्मेदवार खडा गरेको छ। गौतमले ३२ हजार ७६९ मत ल्याएर निर्वाचित हुँदा खड्काले ३१ हजार ६३९ मत पाएका थिए। 

एक मात्र निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका बलबहादुर केसी उम्मेदवार रहेका छन्। २०७४ सालको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका हेमकुमार राईसँग पराजित भएका थिए। राईले २० हजार ७४७ मत पाउँदा केसीले १७ हजार २९४ मत पाएका थिए। यसपटक केसीलाई माओवादीको केन्द्रको पनि साथ छ। त्यस्तै नेकपा एमालेले केन्द्रीय सदस्य मानवीर राईलाई उम्मेदवार बनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.