|

काठमाडौं : कतार रोजगारीमा जान पूर्व श्रम स्वीकृति लिएका नेपाली रोकिएका छन्। भिसा समस्याका कारण स्वीकृति लिइसकेका नेपालीहरू कतार जानबाट रोकिएको  वैदेशिक रोजगार कार्यालय ताहाचलले जनाएको छ।

कतारले श्रमिक माग गरेसँगै सरकारले विश्वकप फुटबललक्षित कामका लागि नेपालीलाई कतार पठाउने निर्णय गरेको थियो। तर भिसा समस्याका कारण पूर्व श्रम स्वीकृति लिइसकेर पनि कामदार कतार जान नपाएका हुन्।

कानुनतः वैदेशिक रोजगारीमा जानेलाई १ वर्षभन्दा थोरै अवधिका लागि श्रम स्वीकृति दिन मिल्दैन। श्रम‚ रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विश्वकपलाई लक्षित गर्दै ६ महिनाका लागि श्रमिक पठाउने  विशेष निर्णय गरेको थियो। 

६ महिनाका लागि कतार जान २ हजार नेपालीले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार कार्यालयकी प्रमुख सुशीला अर्यालले जानकारी दिइन्। तीमध्ये १५० जना मात्र कतार जान पाएको उनको भनाई छ। उनका अनुसार व्यक्तिगत पहलमा भने १ जना मात्र श्रम स्वीकृति लिएर कतार गए।

किन रोकिए कामदार ?

कतारमा शुरु हुन लागेको विश्वकप फुटबल हेर्न नेपालीले हाया भिसामार्फत कतार जान पाउनेछन्। यो भिसा विश्वकपका लागि मात्र हो। सरकारले सोही भिसामार्फत श्रमिकलाई पनि पठाउने तयारी गरेको थियो तर त्यसबाट कामदार पठाउन नसकिने भएकाले रोकिएको अर्यालको भनाई छ। 

पूर्व श्रम स्वीकृति अर्थात कामदारको विवरण लिईएको थियो।  थप जनकारी नआएकाले समस्या भएको कार्यालयले जनाएको छ।

एयरपोर्टमा क्यूआर कोड स्क्रिनिङ गर्नुपर्ने र त्यसमा हाया भिसामार्फत गएकाको हकमा श्रमिक नदेखाउने हुँदा समस्या भएको उनको भनाइ छ। श्रमिक भनेपछि कम्पनीको नाम र काम दुवै प्रष्ट देखाउने गरी मात्र पठाउनुपर्ने हुन्छ। 

भिसामा समस्या आएपछि कार्यालयले वैदेशिक रोजगार विभागलाई जानकारी गराएको तर कुनै जवाफ नआएको कार्यालयले जनाएको छ। 

जनवरी २०२१ मा नेपाल र कतारको संयुक्त संयन्त्र ज्वाइन्ट कमिटीको छैठौं बैठक काठमाडौंमा बसेको थियो। बैठकले नेपालबाट विश्वकपलक्षित सिजनल कामदार पठाउने निर्णयसमेत गरेको थियो। त्यसको कानूनी व्यवस्था नभए पनि नेपालले निर्णय नै गरेर कामदार सिजनल वर्करका रूपमा पठाउने भनेको थियो।

नेपालको कानूनअनुसार छोटो अवधिका लागि कामदार पठाउन मिल्दैन तर वर्ल्ड कपका लागि छोटो समयका लागि कामदार पठाउने निर्णय गरेको मन्त्रालयका सहायक प्रवक्ता डा थानेश्वर भुसालले जानकारी दिए।

विश्वकपका लागि भनेर गएका कामदारहरूले आवश्यक कानूनी प्रक्रिया पूरा गरेर लामो समयका लागि काम गर्न सक्ने उनको भनाइ थियो। विश्वकपलाई मात्र भनेर गएकाहरू त्यहाँको कानुनअनुसार स्टे परमिट लिएर थप समय पनि बस्न सक्नेछन्। त्यसका लागि भिसा लगाउने, नेपालको श्रम स्वीकृति नवीकरण गर्नुपर्ने हुन्छ।

विश्वकपलाई जाने कामदारले पैसा तिर्नुपर्ने छैन। कम्पनीलाई राम्रो लागेर भिसा थप गरिदियो भने थप समय बस्न पनि सक्ने उनको भनाइ छ। भिसा प्रक्रियामा समस्या आएको भए समाधान गरेर कामदार पठाउन सकिने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.