|

काठमाडौं : गत बिहीबार काठमाडौं महानरपालिकाको थापाथलीस्थित प्रसूति गृहको मूलद्वार अगाडिबाट पानीपुरीको ठेलागाडा जफत गर्‍यो। ठेलागाडा जोगाउन नगर प्रहरीसमक्ष शर्मिला तामाङले अनुरोध गरिन्।

काठमाडौं महानगरका नगर प्रहरीले उनले गरेको अनुरोध सुनेनन्। सामान छरपस्ट पारी गाडा उठायो। तामाङले ठेलागाडा समातेर रोएको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई ठेलागाडा जोगाउन अनुरोध गर्दै रोएको फोटोले सामाजिक सञ्जालमा निकै चर्चा पायो। त्यसलगत्तै धेरैले ठेलागाडाबाट जीविकोपार्जन गर्दै आएकी शर्मिलालाई आर्थिक सहयोग गर्ने घोषणा गरे।  

काठमाडौंलाई फुटपाथ व्यापारमुक्त गर्ने भन्दै काठमाडौं महानगरले लामो समयदेखि  सडक व्यापार अर्थात फुटपाथ व्यवसायलाई लखेट्दै आएको छ। काठमाडौंका मेयर साहले स्थानीय तहको निर्वाचनका वेला काठमाडौंको फुटपाथ व्यापारलाई व्यवस्थापन गर्ने घोषणा गरेका थिए।

तर काठमाडौंका मेयरमा निर्वाचित भएसँगै बालेनका योजना फेरिए‚ व्यवस्थापन गर्ने  भनेका उनी यति वेला फुटपाथ व्यापार हटाउने मात्र नभएर उन्मूलन गर्न नै लागिपरेका जस्तो महानगरका क्रियाकलापले देखाएका छन्। 

सडक पेटी पैदलयात्री हिँड्नका लागि हो‚ व्यवसाय गर्नका होइन भन्ने नारा नै महानगरले बनाएको छ। अझ व्यवसाय गर्नका लागि व्यवसाय दर्ता गरी आधिकारिक रुपमा आउनुपर्ने महानगरले बताउन थालेको छ।

फुटपाथ व्यापार व्यवस्थापन गर्न नसकिने भन्दै हटाउने योजना रहेको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए। 

उपत्यकामा २ महानगर‚ दुवैका नीति असमान

काठमाडौं उपत्यकामा दुईवटा महानगर छन्- काठमाडौं र ललितपुर। काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिका फुटपाथ व्यवसायमा असमान नीति देखिएको छ।

दैनिक छाक टार्न फुटपाथमा व्यापार गर्ने अति सामान्य व्यापारीका सामान जफतपछि लिलाम गरेर काठमाडौं महानगरपालिकाले लाखौँ उठाउँदै आएको छ भने ललितपुर महानगरले भने फिर्ता दिने गरेको छ। 

फुटपाथ व्यापार अर्थात सडकलाई नै आफ्नो जीविकोपार्जनका लागि  फुटपाथ व्यापारीबाट जफत गरेका सामान चल्तीको दररेट अनुसार बेचबिखन गर्दै आएको काठमाडौं महानगरका प्रवक्ता नविन मानन्धरले जानकारी दिए। कतिपय सामान बेचबिखन हुने र कतिपय सामान गोदाममै थन्केर खेर जाने गरेको महानगरपालिकाले जनाएको छ। 

चालू आवको ४ महिनामा नगर प्रहरीले सडक पेटीबाट ९० लाख रूपैयाँ बराबरको समान जफत गरेको काठमाडौं महानगरले जनाएको छ। दैनिक उपभोग्य वस्तु फलफूल, चटपटे, तरकारी जफत गरेको नगर प्रहरी प्रमुख पाण्डेले जानकारी दिए। यसका साथै करिब २ सय ठेलागाडा जफत गरेको महानगरको तथ्यांक छ। 

महानगरले सडकपेटीमा राखिएको समाज जफत पहिला पनि गर्ने गरेको थियो। तर पछिल्लाे समय यसलाई तीव्र पारिएको छ। महानगरले सडक तथा फुटपाथबाट बरामद गरेका सामान फिर्ता दिँदैन। त्यसलाई महानगरले लिलाम प्रक्रियाबाट बेच्ने गरेको छ। 

तत्काल बिग्रने तरकारी‚ फलफूल जस्ता उपभोग्य सामग्री गोदाममा नै कुहिने गरेको छ भने कतिपयले जरिवाना तिरेर फिर्ता लिने गरेका छन्। तर महानगरले अहिले ठेला भने फिर्ता नहुने जनाएको छ। 

फागुन ०७६ मा काठमाडौंका तत्कालीन मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बोर्ड बैठकले फुटपाथमा बेच्न राखिएका सामान जफत गर्ने निर्णय गरेको थियो। सोही आधारमा  हालसम्म सामान जफत गर्दै आएको प्रवक्ता मानन्धरले बताए।

ललितपुरमा फुटपाथ व्यापारीलाई टाइमकार्ड 

ललितपुर महानगरपालिकाले सडकमा व्यापार व्यवसाय गर्न टाइम कार्डको व्यवस्था गरेको छ।

काठमाडौंले जफत गरिरहेको छ भने ललितपुरले निश्चित समय तोकेर व्यापार व्यवसाय गर्न दिएको छ। सडक पेटीबाट सामान नियन्त्रणमा लिए पनि सम्झाएर सम्बन्धित व्यापारीलाई नै फिर्ता दिँदै आएको छ।

अहिलेसम्म कुनै ठेला वा फुटपाथ व्यापारीको सामान जफत नगरेको ललितपुर महानगरका नगर प्रहरी प्रमुख सिताराम हाछेथूले जानकारी दिए। 

उनले भने, ‘स्थानीय सरकार जनताको अभिभावक हो। सडक व्यापारबाट गुजारा चलाउँदै आएका व्यक्तिको व्यवस्थापन गर्ने हो, हटाउने होइन।’

ललितपुरमा फुटपाथ व्यापार व्यवसायका लागि निश्चित ठाउँ र टाइम कार्डको व्यवस्था गरिएको छ। सडकपेटीमा नभई खुल्ला स्थानमा व्यवसाय गर्न लागि समय तोकिएको उनको भनाइ छ। 

ललितपुर महानगरले कुन समय र कुन–कुन स्थानमा फुटपाथ व्यापार गर्न दिने टुंगो लगाएको छ। मुख्य चोकहरू पुल्चोक, लगनखेल, इतिटोल, कुपन्डोल, सातदोबाटो, सुन्धारा, नख्खु, एकान्तकुना लगायतका क्षेत्रमा खुल्ला ठाउँ हेरी व्यवसाय गर्न दिएको उनको भनाइ छ।

महानगरभित्र बिहान ८ बजेसम्म र बेलुकी ५ बजेपछि मात्रै व्यापार गर्ने समय ललितपुरले तोकेको छ। फुटपाथ र सडक व्यापारीलाई नै लक्षित गरी लगनखेलको इतिटोलमा खुला बजार सञ्चालनको तयारीसमेत भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.