|

म्याग्दी : ‘बेनीको बजार, जता माया उतै छ नजर किरेमिरे जाले रुमाल...’

कुनै वेला अत्यन्त चर्चित यो गीतका हरफमा भनिए झैँ जता नजर लगाए पनि सुन्दर देखिने म्याग्दीको बेनी बजार नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताले अझै चर्चामा आएको छ।

प्राकृतिक सुन्दरता, ऐतिहासिक भूमिका र सुरम्य वातावरणका कारण चर्चामा रहने गरेको म्याग्दी र कालीगण्डकीको संगमस्थलमा अवस्थित बेनीबजारले अब खेल पर्यटनको सम्भावना रहेको ठाउँ भनेर पनि नयाँ परिचय पाएको छ। 

हिमाली पर्यटकीय जिल्ला म्याग्दीमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका महिला भलिबल र तेक्वान्दोका खेल सदरमुकाम बेनीमा सञ्चालन भइरहेका छन्।  प्रतियोगितामा खेलाडी, प्रशिक्षक र व्यवस्थापनका गरी ११ टिमका ६१७ जना म्याग्दी आएका छन्। त्यसैगरी खेल हेर्नका लागि विभिन्न जिल्लाबाट दैनिक एक हजारभन्दा बढी दर्शक बेनीमा आइरहेका छन्।

नवौं राष्ट्रिय खेलकुदका कारण यहाँका होटेल भरिभराउ छन्। गण्डकी प्रदेशका विभिन्न ८ जिल्लामा चलिरहेको प्रतियोगिताअन्तर्गत म्याग्दीको बेनीमा महिला भलिबल र तेक्वान्दो चलिरहेको छ।

प्रतियोगितामा सहभागी खेलाडी, प्रशिक्षक, रेफ्री र दर्शकको उपस्थितिले बेनी बजारका होटेल भरिभराउ छन् भने म्याग्दीमा खेल पर्यटनको समेत शुरुवात भएको छ।

असोज २७ गते शुरु भएको खेलकुदमा ७ प्रदेश र विभागीय गरी ११ टोलीका खेलाडी, प्रशिक्षक र दर्शकले यहाँका होटलहरू र पर्यटकीय स्थलहरू भरिभराउ भएको स्थानीय व्यापारीले बताएका छन्। 

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले खेलकुदले सदरमुकामको अर्थतन्त्र चलायमान बनेको दाबी गरे। होटेल व्यवसायी संघको समन्वयमा खेलाडीलाई राख्ने होटलको व्यवस्थापन गरिएको छ।

बेनी नगरपालिकाका ७ र ८ नम्बर वडा कार्यालयले अतिथि सत्कार, सरसफाइ, झाँकी प्रदर्शनी गरेर खेलकुद प्रेमी तथा पर्यटकहरूलाई समेत आकर्षित गरेको बेनी नगरपालिका-७ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठले बताए।

जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीले  बेनीका १२ वटा होटलमा खेलाडी, प्रशिक्षक एवं अफिसियललाई राखिएको जानकारी दिए। प्रतियोगिताका लागि बेनी आएका सबैलाई सुविधासम्पन्न होटलमा राखिएको उनको भनाइ छ।

सेवा सुविधाअनुसार होटल रोजेर बसेका खेलाडीले दैनिक १ हजारदेखि १ हजार ५ सय रुपैयाँसम्म तिरिरहेका छन्। प्रतियोगिताका कारण अहिले बजारका होटल भरिभराउ भएको होटल व्यवसायी संघ म्याग्दीका अध्यक्ष बाबुराम आचार्यले बताए।

उनले जिल्लामा भइरहेको राष्ट्रियस्तरको खेल प्रतियोगिताले होटल व्यवसायीसहित जिल्लाका अन्य व्यवसायीलाई पनि फाइदा पुगेको दाबी गरे। आचार्यले जिल्ला आएका पर्यटकहरूको आरामदायी बसाइ र स्वादिष्ट खानाका लागि होटेल व्यवसायीहरूले सकेसम्म राम्रो व्यवस्था गरिएको बताए। खेलाडी, प्रशिक्षक र अफिसियललाई पर्यटकीय स्थान जान बसको समेत व्यवस्था गरिएको छ।

खेलाडी र टाढाका जिल्लाबाट खेल हेर्न बेनीमा आएका दर्शकहरू खेलबाहेकको समयमा नजिकका पर्यटकीय स्थल जाने गरेका छन्। सदरमुकाम बेनीबजारदेखि ९ किलोमिटर पश्चिममा पर्ने प्राकृतिक तातोपानी कुण्ड, सदरमुकामसँगै जोडिएको बेनी नगरपालिका-२ ज्यामरुककोटको खतरामा पर्ने लभ्ली हिल, म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाम लगायत स्थलमा खेलकुद प्रतियोगिताकै कारण दैनिक भीड लाग्ने गरेको छ।

खेल पर्यटनलाई लक्षित गरी ३ वर्ष अगाडि सञ्चालन गरिएको पर्यटकीय स्थल टोड्केको हाई अल्टिच्युड खेल मैदान तथा हिमाल दृश्यावलोकनका लागि पनि टोड्केमा खेलाडी र दर्शक पुगेका स्थानीयले बताएका छन्।

जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष केसीले नवौं राष्ट्रिय खेलकुदका कारण म्याग्दीमा खेल पर्यटनको समेत शुरुवात भएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.