काठमाडाैं : बाल्यकालदेखि नै इतिहासमा रुची भएका रिमेशलाई पछि गएर आफूले पनि देशका लागि केही गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो। नेपाली सैनिकका वीरताका कथा पढेर उनको छाती सानैदेखि ढक्क फुलेर आउँथ्यो। पछि उनी फिल्म क्षेत्रमा प्रवेश गरे।
केही फिल्ममा अभिनयसहित आधा दर्जनभन्दा बढी फिल्म निर्माण गरे। त्यसपछि उनले फिल्म क्षेत्रबाटै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देशलाई के दिन सकिन्छ? भनेर सोचे। उनी नेपाली फिल्म क्षेत्रलाई र सिंगो देशलाई एउटा उपहार दिन चाहन्थे जो बालकदेखि वृद्ध सबैका लागि होस्, मनोरञ्जन पनि होस् र ज्ञान पनि होस्।
त्यसपछि उनको दिमागमा नालापानीको युद्धमा आधारित फिल्म बनाउने महत्वाकांक्षी चाहना सलबलाउन थाल्यो। नौ वर्ष लगाएर उनको चाहनाले फिल्मको स्वरुप पाएको छ जो शुक्रबार प्रदर्शनमा आउँदैछ।
रिमेशलाई धेरै पहिले नै नालापानीको युद्धमा आधारित रहेर फिल्म बनाउन मन लागेको भए पनि फिल्म विधा डिजिटल युगमा प्रवेश गरेपछि मात्र उनलाई यो सब सम्भव लाग्यो। त्यसपछि उनी फिल्मको तयारीमा लागे।
यो युद्धबारे सबै नेपाली र विश्वले नै थाहा पाउनुपर्छ जस्तो लागेपछि उनी फिल्म बनाउन अघि सरेका थिए। इतिहासको घटनालाई चलाउँदा अध्ययन, अनुसन्धान, अनुशासन, निरन्तरता पनि उत्तिकै चाहिन्थ्यो।
‘३ वर्ष पटकथामा मात्रै काम गरेको छु। इतिहासका जानकारहरूलाई भेट्नेदेखि उक्त घटनाका बारेमा लेखिएका देशी, विदेशी धेरै किताबहरू पढेपछि मात्र पटकथामा काम गरेको हुँ‚’ रिमेश भन्छन्, ‘त्यो बीचमा तीन महिना युद्ध भएकै ठाउँमा बसेँ, देहरादुनमा महिनौँ बसेँ। एकपटक फिल्म बनाउने भनेर अठोट गरेपछि कहिल्यै विचलित भइनँ।’
आफूले निकै महँगो सपना देखिरहेको छु भन्ने उनलाई राम्रोसँग थाहा थियो। कहिलेकाहीँ फिल्म बनेर आउने वेलासम्म साथीहरूको साथ छुट्दै पो जाने हो कि, एक्लै पो हुने हुँ कि भनेर झस्किन्थे पनि उनी। तर फिल्मको पटकथालाई नेपाली सेनाले देखाएको चासोले उनलाई ठूलो राहत मात्र दिएन जिन्दगीकै अविस्मरणीय क्षण पनि दियो।
उनी सम्झन्छन्, ‘राजेन्द्र क्षेत्री प्रधानसेनापति हुनुहुन्थ्यो। मैले यस्तो विषयमा यसरी फिल्म बनाउँदैछु भनेर भनेपछि उहाँहरू खुशी हुनुभयो। आफूहरूले गर्नुपर्ने काम मैले आँटेको देखेर सकेको सहयोग गर्ने वाचा पनि गर्नुभयो। सुटिङमा चाहिने गाडी, तोप, हात्ती, घोडा र सैनिकको व्यवस्था सेनाले गरिदिनु हाम्रा लागि ठूलो राहत थियो।’
रिमेशका अनुसार सेनाले नालापानीका लागि झण्डै ८ देखि ९ करोड रूपैयाँ बराबरको सहयोग गरेको थियो।
ठूलो कलाकारको समूहलाई लिएर काम गर्नु र नालापानीलाई लिएर जे महशुश रिमेश गर्थे सबैलाई त्यही महशुश गराउनु, एकै ठाउँमा उभ्याउनु उनका लागि ठूलो चुनौतीको विषय थियो।
यो उनका लागि त नयाँ र एउटा चुनौतीपूर्ण काम थियो नै साथै कुनै फिल्मको निर्माणबाट पाठ सिकेर आफू मैदानमा उत्रनको लागि नेपालमा अहिलेसम्म त्यसरी काम भएको थिएन। जसकारण छायांकन अनुमान गरिएको भन्दा लामो समय चल्यो।
‘फिल्मको सुटिङ मात्रै झण्डै एक वर्ष चल्यो‚ जुन हामीले सोचेभन्दा लामो समय थियो‚’ छायांकन गर्दाका अप्ठ्यारा क्षणहरू सम्झँदै उनी भन्छन्, ‘हामी आजभन्दा दुई सय वर्ष पहिलेको कथा भन्दै थियौँ। वेशभूषादेखि लोकेशनमा त्यतिवेलाको समय झल्किनु पर्थ्यो। फिल्ममा युद्धका दृश्य धेरै छन्। त्यसको छायांकनमा कति कलाकार घाइते पनि भए तर एउटा टिमको रुपमा एक ढिक्का भएर काम गर्यौं र यो सम्भव भयो।’
पहिले आफूले निर्माण गरेका केही फिल्ममा आफैँ मुख्य अभिनेताको रुपमा देखिएका रिमेशले नालापानीमा भने एउटा छोटो भूमिका मात्रै गरेका छन्। अभिनय आफ्ना लागि नरहेको र फिल्म क्षेत्रका लागि आफूले गर्नुपर्ने कर्म अर्कै रहेको बुझेपछि लेखन, निर्देशनमा लागेको उनी बताउँछन्।
फिल्म तयार भइसकेपछि इतिहासविदहरूलाई फेरि देखाइयो र आवश्यक ठाउँमा काँटछाँट गरियो। दुई वर्ष पहिले नै सेन्सर भएको फिल्म यसअघि देशका विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरूलाई देखाइसकिएको छ। जहाँबाट रिमेशले उत्साहजनक प्रतिक्रिया पनि पाएका थिए।
विश्वले उदाहरणको रुपमा लिने देशको गौरवको कथामा फिल्म बनाउन सफल भएकोमा गर्व लाग्दै गर्दा फिल्म क्षेत्रभित्रबाटै अपेक्षित सहयोग नहुनुले भने उनलाई अलिकति दुःख पनि लागेको छ। साथै फिल्म बनाउँदा भन्दा प्रदर्शनको वेला देखिएको झमेलाले उनी अचम्मित पनि छन्।
भर्खरै काठमाडौंमा नालापानीको विशेष प्रदर्शन पनि भएको छ। जहाँ नेपाली सेना, सरकार र फिल्म क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति थियो। जहाँ नालापानीलाई करछुट लगायतका सरकारी सुविधाको लागि पहल गर्ने पनि बताइयो।
आगामी दिनमा राष्ट्रिय गौरवका विषयमा फिल्म बनाउन चाहनेहरूका लागि नालापानीले एउटा नजिर बसाल्दै बाटो खोलिदिएकोमा सबैभन्दा बढी खुशी रहेको उनी बताउँछन्।
फिल्ममा जम्माजम्मी १४ करोडमाथि रकम लगानी भए पनि यसको कमाइले आफ्ना लागि त्यस्तो ठूलो अर्थ नराख्ने रिमेश बताउँछन्। उनी भन्छन्, ‘यो पैसा कमाउनको लागि बनाएको फिल्म होइन। म गीतामा विश्वास गर्ने मान्छे हुँ। मैले आफ्नो कर्म गरेको छु। कर्म सही छ भने फलको आश गर्नु पर्दैन कुनै न कुनै रुपमा त्यसको फल आउँछ नै।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।