|

काठमाडौं : पूर्व श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले गत १४ चैतमा थाहाखबरसँग कुरा गर्दै भनेका थिए। ‘चुनावको संघारमा फ्री भिसा लागू गर्न सक्दिन।’

तर, यतिबेला बारा जिल्लामा आफ्नो चुनावी प्रचार प्रसारको क्रममा बेरोजगार युवालाई फ्री भिसा फ्री टिकटमा विदेश पठाउने भन्दै प्रलोभन देखाउन थालेका छन्।

स्थानीय तहको निर्वाचन अगाडि थाहाखबरसँगको अन्तवार्तामा श्रेष्ठले भनेका थिए, ‘सरकारले फ्री भिसा फ्री टिकटको नीति लागू गरेको छ तर व्यवहारिक छैन। निर्वाचनको मिति नजिकिएको छ। त्यसैले अहिले फ्री भिसा लागू गर्न सक्दिनँ।’ 

यतिबेला देशभर प्रदेश र प्रतिनिधिसभा निर्वाचनको माहोल छ। ५ वर्ष अगाडि चुनाव जितेर सिंहदरबार पसेका नेताहरु अहिले गाउँघरतिर धाउन थालेका छन्। त्यस्तै बारा प्रतिनिधिसभा क्षेत्र नं. ४ का उम्मेदवार नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्व श्रममन्त्री श्रेष्ठ पनि अहिले चुनावी प्रचारप्रसारमा व्यस्त छन्।

मन्त्री रहँदा फ्री भिसा फ्री टिकट लागू गर्न सक्दिन भन्ने अभिव्यक्ति दिएका श्रेष्ठ सोही विषयलाई एजेन्डा बनाएर चुनाव जित्ने दाउमा छन्। 

​अन्तर्वार्ता लिने स्थानमा पूर्वमन्त्री श्रेष्ठ र प्रदेशसभा सदस्य उम्मेदवार जितेन्द्र सोनलको ब्यानर राखिएको थियो। फ्री अन्तर्वार्तामा छनोट भएकाहरुलाई अर्को अन्तर्वार्ता लागि दुई दिनपछि काठमाडौं आउन तथा तीन महिनाको प्रक्रियापछि मलेसिया पठाउने आश्वासन दिएर फर्किए।

त्यसलगत्तै सो विषय सार्वजनिक भएसँगै निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। निर्वाचन आचारसंहिता उल्लघंन गरेकाले स्पष्टीकरण सोधिएको आयोगको भनाइ छ।

त्यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारी दर्ता गराउन २३ असोजमा डडेलधुरा पुगेकी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा कांग्रेस नेतृ आरजु राणाले रोजगारीका खोजीमा रहेका युवालाई फ्री भिसा फ्री टिकटमा पठाउने बताइन्।  यसअघि ४ सय नेपालीलाई फ्री भिसा फ्री टिकटमा पठाएको सुनाइन्।

पटकपटक बेरोजगार युवालाई देशभित्रै रोजगारीको अवसर छ भन्दै भाषण गर्दै आएका नेता तथा कार्यकर्ता अब वैदेशिक रोजगारीलाई चुनाव जित्ने अत्र बनाउन लागि परेका छन्।

चुनाव नजिकिएसँगै झूटा आश्वासन बाँड्नेको सूची बढ्न थालेको छ। यस्तै आश्वासन बाँड्नेमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि थपिएका छन्।

चुनावी कार्यक्रमका लागि रौतहट पुगेका पूर्वप्रधानमन्त्री नेपालले आफूले चुनाव जिते देश भित्र र बाहिर युवालाई रोजगारीको अवसर दिने आश्वासन बताए। विनाशुल्क वैदेशिक रोजगारीमा पठाउने साथै काठमाडौमा फ्री मा तालिम दिइने बताएका थिए। मतदातालाई प्रलोभनमा पारेको भन्दै निर्वाचन आयोगले रौतहट प्रहरीलाई अनुसन्धान गर्न पत्राचार गरेको छ।

नीति एकातिर काम अर्कातिर

सरकारले वैदेशिक रोजगारीका जाने श्रमिकलाई परेको आर्थिक भार कम गर्न भन्दै ‘फ्री भिसा फ्री टिकट’ निर्णय गरेको सात वर्ष बितिसक्दा पनि श्रमिकले त्यसको फाइदा लिन पाएका छैनन्। चुनाव नजिकिएसँगै  फ्री भिसा फ्री टिकट नेताका चुनावी एजेण्डा बन्न थालेका छन्।

तत्कालीन श्रम राज्यमन्त्री टेकबहादुर गुरुङको पालामा २०७२ सालमा वैदेशिक रोजगारीमा जाने कामदारसँग म्यानपावर कम्पनीले १० हजार रूपैयाँ मात्रै सेवा शुल्क लिन पाउने निर्णय भएको थियो। नेपालको मुख्य श्रम गन्तव्य मुलुक मलेसिया, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, जोर्डन र ओमानका लागि उक्त निर्णय गरिएको हो।

सरकारले गरेको यो निर्णयको कार्यान्वयन फितलो हुँदा विदेश जाने श्रमिकले स्वतः अधिकारका रुपमा पाउनुपर्ने ‘फ्री भिसा’को सुविधा पाउन दलका शीर्षस्थ नेताहरुको सोर्सफोर्स रहेको छ। सरकारमा रहँदा म्यानपावरबाट ठगिएको, दैनिक युवाशक्ति विदेशिएका नदेख्ने नेता यतिबेला एजेण्डा बनाएर  लागि परेका छन्। 

तर, ती देशमा रोजगारीका लागि जान प्रतिव्यक्ति १ देखि ५ लाख रूपैयाँसम्म  शुल्क तिरेर विदेशिएका छन्। यस्तो अवस्थामा म्यानपावरले विदेशबाट ल्याउने फ्री भिसा र टिकट नेताहरुको चुनावी हतियार बन्न पुगेको छ। निर्वाचन आचार संहिता विपरीत राणा, श्रेष्ठ र नेपालको अभिव्यक्ति चुनाव जित्ने अस्त्र भएको प्रस्ट देख्न सकिन्छ।​

सरकारको फितलो नीति, नेताका एजेण्डा 

सरकारले लागू गरेको फ्री भिसा फ्री टिकटको नीति फितलो बनाएको छ। फितलो कार्यान्वयनको अवस्थाले नेतालाई लाभ मिलेको वैदेशिक रोजगार विज्ञ डा. गणेश गुरुङ  बताउँछन्। नीति कार्यान्वयन नगर्ने तर व्यवसायीबाट फ्री भिसा लिएर त्यसैलाई चुनावी हतियार बनाउने काम  जायज नभएको उनको तर्क छ।

नेताहरु चुनावमुखी हुँदा जनताले सास्ती खेप्नु परेको छ। भाषण गर्दा रोजगारीको अवसर सिर्जना गर्ने विषय उठाउँछन्। निर्वाचनका मुखमा वेरोजगार युवालाई रोजगारीको आश्वासन दिई झुलाउने गरेको उनको भनाइ छ। पछिल्लो समय रोजगारी दिलाउने नेताको एजेण्डा बनेका छन्।

उनले भने, ‘पहिला पहिला मासु भातमा केही पैसा दिएर  मतदातालाई प्रभावित बनाउँथे। देशमा रोजगारीको अभाव र वैदेशिक रोजगारीमा ठगी बढेकाले त्यही एजेण्डा बनाएर चुनावमा आउँदैछन्।’ 

निर्वाचन आयोगले बारामा कृष्णकुमार श्रेष्ठले फ्री भिसामा विदेश पठाइदिने भन्दै युवाहरुलाई अन्तरवार्ता लिएको उजुरी परेको छ। त्यस्तै पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई समेत स्पष्टीकरण सोधिएको छ।  निर्वाचन आचारसंहिता विपरीत काम गरेकाले स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.