|

विराटनगर : निर्वाचनको मिति नजिकिँदै गर्दा मोरङको चुनावी सरगर्मी उत्तिकै बढ्दै गएको छ।

यही मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदाता रिझाउन कोही खेतैमा पुगेका छन् भने कोही आफैँ रिक्सा चलाउँदै घरदैलो गर्दै छन्। कतै आफूहरूले जिताएर पठाएका प्रतिनिधिले भने जस्तो विकास नगरेको भन्दै पुरानो अनुहारलाई भोट नदिने भन्दै ब्यानर टाँगेर मौन विद्रोह जनाइरहेका छन्।

६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा पूर्वमन्त्रीदेखि कलाकारसम्मले उम्मेदवारी दिएका छन्।

कुन क्षेत्रमा कसको उम्मेदवारी ?

क्षेत्र-१ : लिम्बू र खतिवडाको भिडन्त

मोरङ क्षेत्र-१ बाट सत्ता गठबन्धनका तर्फबाट डिगबहादुर लिम्बू र  एमाले गठबन्धनबाट घनश्याम खतिवडाबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ।

मोरङको निर्वाचन क्षेत्र १ बाट प्रतिनिधिसभाका लागि १४ जनाले प्रतिस्पर्धा गर्ने भएका छन्। सो क्षेत्रबाट ५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

लिम्बू र खतिवडाबाहेक सो क्षेत्रमा राप्रपाबाट होमनाथ गौतम, नेपाल मजदुर किसान पार्टीबाट लक्ष्मीप्रसाद कवा, हाम्रो नेपाली पार्टीका राजेन्द्रप्रसाद पौडेल, मंगोल नेशनल अर्गनाइजेशनबाट सुरज लिम्बू, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट हर्कमान सम्वाहाम्फे, राष्ट्रिय जनमुक्ति पार्टीबाट बुद्धमाया लिम्बू र राष्ट्रिय स्वतन्त्र पार्टीबाट कमलबहादुर श्रेष्ठ रहेका छन्।

२०४९ को स्थानीय निर्वाचनमा पहिलो पटक प्रतिस्पर्धामा लिम्बू र खतिवडा उत्रिएका थिए। त्यो निर्वाचनमा लिम्बूलाई पराजित गर्दै खतिवडा गाविस अध्यक्ष निर्वाचित भएका थिए।

फेरि ३ दशकपछि दुवै जनाको प्रतिस्पर्धा रोचक हुने स्थानीयहरु बताउँछन्। एमाले प्रदेश कमिटी सदस्य रहेका खतिवडालाई जसपा सघाउनेछ भने काँग्रेस जिल्ला सभापति रहेका लिम्बूलाई माओवादी र एकीकृत समाजवादीले सघाउनेछ।

२०६४ सालको पहिलो संविधानसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका लिम्बू माओवादीका नगेन्द्र धिमालसँग पराजित भएका थिए भने २०७० को दोस्रो संविधानसभा सदस्य निर्वाचनमा खतिवडा र लिम्बू चुनावी प्रतिस्पर्धामा थिए।

दोस्रो संविधानसभा निर्वाचनमा भने खतिवडालाई हराउँदै लिम्बूले बाजी मारेका थिए। २०७० को हारको बदला खतिवडाले २०७४ को निर्वाचनमा लिएका थिए।

२०७४ देखि २०७९ सम्म आइपुग्दा राजनीतिक समीकरण फेरिएको छ। तत्कालीन वाम गठबन्धनभित्रको अन्तरविरोध, एमाले विभाजनले अब खतिवडालाई यो निर्वाचनमा जित निकाल्न निकै सकस पर्ने स्थानीय सञ्चारकर्मीको आँकलन छ।

तत्कालीन वाम गठबन्धनको उम्मेदवार बनेका घनश्याम खतिवडाले माओवादी केन्द्रको साथ पाएको थियो भने अबको निर्वाचनमा काँग्रेसका डिगबहादुर लिम्बूले माआवोदी केन्द्र र एकीकृत समाजवादीको साथ पाउनेछ।

अर्थात सत्ता गठबन्धनबाट चुनावी मैदानमा उत्रिएकाले लिम्बूलाई अलिक सहज देखिए पनि स्थानीय निर्वाचनअनुसार एमाले अगाडि छ।

स्थानीय निर्वाचनको मत परिणामअनुसार उक्त क्षेत्रमा गत स्थानीय तहको निर्वाचनमा एमालेका वडाध्यक्षले ३२ हजार ३६६ मत पाएका थिए। कांग्रेसले ३१ हजार ४१३ मत पाएका थिए।

माओवादीले ६ हजार ५८३ मत पाएको छ, राप्रपाले २ हजार ८९० मत पाएको छ, एकीकृत समाजवादीले १ हजार ९३ मत र जसपाले ४९४ मत पाएको छ।

स्थानीय तहको निर्वाचनमा क्षेत्र १ मा एमाले विजयी भएकाले पनि प्रतिस्पर्धामा सहज हुने एमाले नेताहरू बताउँछन्। यता सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको साथ पाएको हुँदा लिम्बूलाई पनि त्यति गाह्रो नपर्ने सत्ता गठबन्धनका नेताहरूको दाबी छ।

क्षेत्र-२

मोरङको क्षेत्र-२ मा भने ३ जना स्वतन्त्रसहित १३ जना उम्मेदवार भएका छन्।

उक्त क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाको उम्मेदवारी परेको छ। कोइरालाको प्रतिस्पर्धामा एमाले गठबन्धनबाट ऋषिकेश पोखरेल रहेका छन्।

यसअघि उक्त क्षेत्रमा काँग्रेसका डा मिनेन्द्र रिजाल विजयी भएका थिए। त्यो समय पोखरेललाई रिजालले हराएका थिए।

काठमाडौं केन्द्रित रहने कोइराला र भूगोलको राजनीति गर्ने पोखरेलको प्रतिस्पर्धा रोचक रहेन भएको छ।

कोइराला परिवारको विरासत फर्काउने दाउमा २१ वर्षपछि चुनावी मैदानमा उत्रिएकी कोइरालालाई पोखरेलसँगको प्रतिस्पर्धा निक्कै सकस पर्ने उनी निकटकै नेताहरु बताउँछन्।

क्षेत्र-३

पछिल्लो समय निकै चर्चामा रहेको मोरङको क्षेत्र-३ मा १९ जना स्वतन्त्रसहित ३३ जना उम्मेदवार बनेका छन्।

सो क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट नोबेल मेडिकल सञ्चालक एवम् नेपाली काँग्रेसका नेता डाक्टर सुनिल शर्मा उम्मेदवार बनेका छन्। उनीसँग प्रतिस्पर्धाका लागि पुरानो अनुहार अर्थात एमाले नेता भानुभक्त ढकाल रहेका छन्।

यसअघि  एमाले नेता ढकालले शर्मालाई हराएका थिए।  ढकाल र शर्माबीच प्रतिस्पर्धा हुने ठानिएको भए पनि राप्रपाबाट सो क्षेत्रमा उम्मेदवार बनेकी रेखा थापाको प्रवेशसँगै शर्मा र ढकाललाई मत काटिने चिन्ता बढेको छ।

सो क्षेत्रमा अन्य पार्टी नेमकिपाका ओमनारायण राजवातर, लोकतान्त्रिक समाजवादी पार्टीका भवन राई, हाम्रो नेपाली पार्टीका खगेन्द्रप्रसाद न्यौपाने, नेकपा मालेका उद्धिमबहादुर खड्का, मंगोल नेशनल अर्गनाइजेशनका विकेन्द्र राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट चन्द्रिकादेवी लिम्बू, नेशनलिष्ट पिपल्स पार्टीबाट नारायण शर्मा, जनसमाजवादी पार्टी नेपालबाट कमल लिम्बू र राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास उप्रेती उम्मेदवार बनेका छन्।

अन्य स्वतन्त्रमा दिनेश चापागाईं, जयराज संयोग, कृष्ण राई, पंकजकुमार भगत, गणेशबहादुर पोखरेल, इन्दिरा थापा, कमल राजवंशी, प्रकाश भट्टराई, शिवकुमार पौडेल, अरविन शाह, इन्द्रप्रसाद सुवेदी, चन्द्रकला खत्री, सुवास धिमाल, हिमप्रसाद मिश्र, बाबुराम सुवेदी, रेवतकुमार बस्नेत, सुरेश भण्डारी, धर्मप्रसाद न्यौपाने र जीवनाथ निरौला उम्मेदवार बनेका छन्।

क्षेत्र-४

मोरङको क्षेत्र-४ मा सत्ता गठबन्धन दलका तर्फबाट माओवादी नेता अमनलाल मोदी उम्मेदवार बनेका छन्। एमाले गठबन्धनका तर्फबाट एमाले नेता विनोद ढकाल उम्मेदवार बनेका छन्। सो क्षेत्रमा ६ जना उम्मेदवारसहित १६ जनाबीच प्रतिस्पर्धा हुने भएको छ।

अघिल्लो  निर्वाचनमा नेपाली काँग्रेसका नेता महेश आचार्यलाई पराजित गर्दै विजयी बनेका मोदी यस पटक पुनः उम्मेदवार बनेका हुन्। एमाले र सत्ता गठबन्धन दलका उम्मेदवारबीच प्रतिस्पर्धा हुने यो क्षेत्रमा थारु राजवंशी समुदायको बाहुल्यता रहेको छ।

राप्रपाका रवि रिजाल, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, लोसपाका लक्ष्मण साहु, हाम्रो नेपाली पार्टीका नविनकुमार विश्वास, मंगोल अर्गनाइजेशनका धनबहादुर लिम्बू, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गेल्टेन ऋषिदेव, नेपाली काँग्रेस (बिपी)बाट अशोक पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट नेत्रप्रसाद सिवाकोटी दलीय उम्मेदवार बनेका छन्।

अन्य स्वतन्त्र उम्मेदवारमा राजेन्द्रकु्मार खवास, कुवेत मिया, ज्ञानेन्द्र खत्री, पदम कार्की, मशे नेपाल र देवनारायण विश्वास रहेका छन्।

अघिल्लो पटकको निर्वाचनमा नेपाली काँग्रेसका नेता महेश आचार्यलाई पराजित गर्दै विजयी बनेका मोदी यस पटक पुनः उम्मेदवार बनेका हुन्। सो एमाले र सत्ता गठबन्धन दलका उम्मेदवारबीच प्रतिस्पर्धा हुने यो क्षेत्रमा थारु राजवंशी समुदायको बाहुल्य रहेको छ।

क्षेत्र-५

मोरङको निर्वाचन क्षेत्र-५ मा सत्ता गठबन्धनका तर्फबाट माओवादी नेता शिवकुमार मण्डल उम्मेदवार बनेका छन् भने  एमाले र जसपाका संयुक्त उम्मेदवार राजकुमार यादव प्रतिस्पर्धामा छन्।

यो क्षेत्रमा ८ जना स्वतन्त्रसहित १६ जनाले उम्मेदवारी दिएका छन्। सो क्षेत्रमा अघिल्लो पटक काँग्रेसका अमृत अर्याललाई पराजित गर्दै मण्डल विजयी भएका थिए।

सो क्षेत्रमा राप्रपाबाट रेवतबहादुर थापा, जनमत पार्टीबाट परमेश्वर मुर्मु, हाम्रो नेपाली पार्टीबाट फिरोजकुमार साह, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मंगल ऋषिदेव, नेपाल लोकतान्त्रिक पार्टीबाट मजबुल रहमान मियाँ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रमोदकुमार मण्डल दलीय उम्मेदवार हुन्।

यसबाहेक रमेशकुमार यादव, विद्याभूषण प्रसाद, मोहमद रेजा हुसैन, सन्जु शर्मा वडइ, गयानन्द मण्डल केवरत, रामप्रसाद मुखिया, योगेन्द्र मण्डल र मनोजकुमार मण्डलले स्वतन्त्र उम्मेदवारी दिएका छन्। स्वतन्त्र उम्मेदवारी दिने योगेन्द्र मण्डल नेकपा एमालेका नेता हुन्।

क्षेत्र-६

मोरङको क्षेत्र-६ मा यस पटक पुरानै अनुहार प्रतिस्पर्धाको मैदानमा उत्रिएका छन्। उनीहरूबीच पुनः  रोचक भीडन्त हुने भएको छ।

सो क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट काँग्रेस नेता डा शेखर कोइराला र एमाले गठबन्धनबाट लालबाबु पण्डित उम्मेदवार छन्।

२०७४ सालको निर्वाचनमा वाम गठबन्धन हुँदा पण्डिले कोइरालालाई पराजित गरेका थिए। ०७४ को हारको बदला लिने दाउमा रहेका कोइरालाले यसपटक माओवादीसहित गठबन्धनको साथले बाजी मार्ने सम्भावना छ।

यो क्षेत्रमा राप्रपाका गोपाल क्षेत्री, नेमकिपाबाट चिरञ्जिवी खतिवडा, जनमत पार्टीबाट बुद्धिराम माझी, हाम्रो नेपाली पार्टीबाट टेकबहादुर अधिकारी क्षेत्री, जनता प्रगतिशील पार्टी, नेपालबाट प्रशान्त ठाकुर, नागरिक उन्मुक्ति पार्टीबाट बलराम खवास, मंगोल नेशनल अर्गनाइजेशनबाट मोहनबहादुर राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दुखाराम माझी, बहुजन शक्ति पार्टीबाट नारायण पासवान र राष्ट्रिय स्वतन्त्र पार्टीबाट यादवकुमार प्रधान दलीय उम्मेदवार हुन्।

अन्य उम्मेदवार सुशील खड्का, सरोज नेपाल र लक्ष्मी थेबे भने स्वतन्त्र हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.