|

काठमाडौं : मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन चिकित्सकहरूले पनि उम्मेदवारी दिएका छन्। केही चिकित्सकले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने केहीले प्रमुख राजनीतिक दलबाटै उम्मेदवारी दिएका छन्।

ललितपुर क्षेत्र ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. तोशीमा कार्कीले उम्मेदवारी दर्ता गराएकी छन्। डा. गोविन्द केसीको अनशनलाई सघाउँदै आएकी उनले यसअघि नै ‘स्वस्थ नेपाली सुखी नेपाली’को नारासहित केही समयअगाडि नै उम्मेदवारीको घोषणा गरेकी थिइन्।

सोहीअनुरूप उनले ललितपुर क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेकी हुन्। हाल पाटन अस्पतालमा जनरल सर्जनको रूपमा कार्यरत उनी किस्ट मेडिकल कलेजबाट एमबिबिएस र काठमाडौँ विश्वविद्यालयबाट जनरल सर्जरीमा स्नातकोत्तर गरेकी छन्।

उनले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहलाई आफ्नो मुख्य चुनावी एजेण्डा बनाएकी छन्। सबै जनताले इमर्जेन्सी स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुन नहुने भन्दै इमर्जेन्सी हेल्थ फन्ड स्थापना गरी सबैलाई इमर्जेन्सी स्वास्थ्य सेवा पाउन सहज बनाउने डा कार्कीले बताइन्।

‘म आफैँ एक चिकित्सक हुँ‚ त्यसैले स्वास्थ्य सेवाको महत्व बुझेकी छु। पैसा नभएकै कारण इमर्जेन्सी स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुन नपरोस् भनेर मैले इमर्जेन्सी हेल्थ फन्डको अवधारणा अगाडि सार्ने घोषणा गरेकी छु‚’ डा कार्कीले भनिन्।

महिलालाई स्तन र पाठेघरको परीक्षण निःशुल्क गर्ने, हाल सन्चालन भइरहेको स्वास्थ्य बिमालाई अझै प्रभावकारी बनाउने डा कार्कीको एजेन्डा छ।

विश्व स्वास्थ्य संगठनका अनुसार हरेक देशले स्वास्थ्य सेवाको बजेट कुल बजेटको १० प्रतिशत छुट्याउनै पर्ने मापदण्डअनुसार नेपालमा स्वास्थ्य सेवाको बजेट बढाउने लबिइङ गर्नेसमेत डा कार्कीले बताइन्।

चितवनस्थित भरतपुर अस्पतालका अध्यक्षसमेत रहेका जनरल फिजिसियन डा. भोजराज अधिकारी आगामी प्रतिनिधिसभा सदस्यका लागि चितवन क्षेत्र ३ बाट माओवादीको कोटाबाट गठबन्धनबाट उम्मेदवार बनेका छन्।

उम्मेदवारी दिने अघिल्लो दिनसम्म बिरामी जाँचिरहेका डा. अधिकारी अस्पतालको विकास समिति अध्यक्षबाट राजीनामा दिएर चुनावमा होमिएका हुन्।

एउटा चिकित्सकको हैसियतमा गुणस्तरीय स्वास्थ्य सेवाको महत्व बुझेका डा अधिकारीले भरतपुरलाई मेडिकल सिटी बनाउनु आफ्नो मुख्य एजेण्डा रहेको बताएका छन्।

आफू निर्वाचन भएको खण्डमा एउटा मेडिकल युनिभर्सिटी निर्माण गर्ने, चितवनको क्षेत्र ३ का हरेक वडामा स्वास्थ्य शिक्षाको छुट्टाछुट्टै ‘हब’ क्षेत्र छुट्याउने योजना रहेको बताएका छन्।

आफ्नो क्षेत्रमा मेडिकल करिडोर बनाएर मोबाइल हेल्थ क्लिनिक सञ्चालन गर्नेसमेत आफ्नो एजेण्डा रहेको उनले बताएका छन्। यसका साथै हाल सञ्चालन भएको स्वास्थ्य बिमालाई अझै परिष्कृत गरी प्रभावकारी गराउनेसमेत आफ्नो मुख्य एजेण्डा रहेको बताए।

‘एक चिकित्सकको हैसियतमा सबै ठाउँमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि केन्द्रसम्म नै मेरो लबिइङ हुन्छ‚‘ डा अधिकारीले भने।

कान्तिपुर डेन्टल कलेजका सञ्चालकसमेत रहेका डा. बुद्धिमान श्रेष्ठले पनि एमालेबाट प्रदेशसभाका लागि स्याङ्जा २ ख मा उम्मेदवारी दर्ता गराएका छन्।

हाल सञ्चालन भइरहेको स्वास्थ्य बिमालाई अझै प्रभावकारी तरिकाले कार्यान्वयन गर्ने, स्थानीय तहमा रहेका स्वास्थ्य संस्थालाई अझै स्तरीकरण गरेर गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने आफ्नो एजेण्डा रहेको डा श्रेष्ठले बताए।

‘म एमालेका तर्फबाट निर्वाचनमा उम्मेदवार भएको भए पनि म स्वास्थ्य क्षेत्रकै मानिस हुँ‚ त्यसैले मैले हाल सञ्चालन भइरहेको स्वास्थ्य बिमाको केही नीतिगत समस्या भएका कारण जति प्रभावकारी हुनुपर्ने हो त्यति प्रभावकारी भएको छैन। अहिले रहेका स्थानीय तहका स्वास्थ्य संस्थालाई अझै प्रभावकारी बनाउन सकिन्छ,’ डा श्रेष्ठले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.