गैरशिक्षकलाई पनि सेवा

|

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले गत वर्ष भदौमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसद्‌मा पेश गर्दै घोषणा गरेका थिए, ‘शिक्षकहरूका लागि छुट्टै शिक्षक अस्पताल बनाइनेछ, त्यसका लागि अस्पताल निर्माण अगाडि बढाइनेछ।’

अर्थमन्त्री शर्माले घोषणा गरेको एक वर्ष बितिसक्दा पनि अस्पताल निर्माण हुन सकेको छैन। समयमा अस्पताल बनाउन नसकेको भन्दै नेपाल शिक्षक महासंघले छिटै निर्माण थाल्न माग गरेको छ। सरकारले अस्पताल बनाउने घोषणा गर्न अगाडिदेखि नै महासंघले निजामती र सेनाको छुट्टै अस्पताल भएको र आफूहरूका लागि पनि चाहिने माग गर्दै आएकाे थियो।  

अस्पताल कहाँ बनाउने भन्ने विषयमा पूर्वसम्भाव्यता अध्ययन र जग्गा पहिचान समिति गठन भएको थियो। उक्त समितिले २०७८ माघ महिनामै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई भरतपुर चितवनमा अस्पताल बनाउन उपयुक्त हुने जनाउँदै प्रतिवेदन बुझाएको थियो। देशकै केन्द्र भाग चितवन रहेकाले त्यही बनाउन उपयुक्त हुने प्रतिवेदनमा देखाइएको छ।

निर्माण प्रक्रियाबारे यसो भन्छ मन्त्रालय

समितिले उक्त प्रतिवेदन मन्त्रीलाई बुझाएपछि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिका-१५ भगवानपुरमा आवश्यक ८ बिघा १६ कट्ठा जग्गा उपलब्ध गराउने बताएकी थिइन्। यद्यपि त्यसयता केही देखिने खालको निर्माण अघि बढेको देखिदैन। 

यतिखेर शिक्षामन्त्री पौडेल चुनावी प्रचारप्रसार अभियानमा छन्। पौडेलले बागलुङ २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन्। चुनावी अभियानमा उनले शिक्षक अस्पताल निर्माणका लागि मन्त्रिपरिषद्‌बाट सैद्धान्तिक सहमति प्राप्त भई चितवन जिल्लामा निर्माण गर्न जग्गा प्राप्ति हुने क्रममा रहेको बताएका छन्।

ती जग्गा वन तथा वातावरण मन्त्रालयको रहेकाले अहिले काम रोकिएको शिक्षामन्त्री पौडेलका प्रेस संयोजक विमल खड्काले जानकारी दिए। उनले भने, ‘अस्पताल चितवनमा बनाउने भनिएको छ तर जग्गा वनको रहेछ। अहिले जग्गासम्बन्धी फाइल भूमि व्यवस्थाबाट वनमा आएको छ,समस्या सल्ट्याउने काम भइरहेको छ।’

उनका अनुसार अस्पताल डिपिआरका लागि एक करोड बजेट विनियोजन भएको छ। निर्माणका लागि थप बजेट विनियाेजन हुनेछ। शिक्षा मन्त्रालयका शिक्षा सचिव रामकृष्ण सुवेदीले जग्गा प्राप्तिको काम भइरहेको बताए। उनले भने, ‘शिक्षक अस्पतालका लागि जग्गा प्राप्त गर्न काम भइरहेको छ, थप काम भएको छैन।’ 

शिक्षकबाहेक अरूलाई सेवा ?

शिक्षा मन्त्रालयका अनुसार शुरुमा तीन सय शय्याको अत्याधुनिक शिक्षक अस्पताल बनाइनेछ। पछि क्रमशः अस्पतालमा शय्या थप गर्दै लगिनेछ। सरकारले शिक्षक अस्पताल बनाउने भनेपछि उक्त सेवा शिक्षकहरूले मात्रै वा सर्वसाधारणले पनि पाउने भनी प्रश्न उठ्न थालेका छन्।

​केहीले सरकारको यो निर्णयलाई आलोचना पनि गर्ने गरेका छन्। महासंघकी अध्यक्ष कमला तुलाधरले यो अस्पतालको सेवा शिक्षक मात्र नभई अन्य सर्वसाधारणले पनि पाउने बताइन्।

‘शिक्षक अस्पताल बनाउनुपर्ने माग हामीले धेरै वर्ष अगाडिदेखि उठाएका हौँ। निजामती र सेनाको छुट्टै अस्पताल हुने, हाम्रो किन नहुने? अरू जस्तै हामीले पनि राष्ट्रको सेवा गरिरहेका छौँ। त्यसैले शिक्षक अस्पताल आवश्यक छ’‚ उनले भनिन्।

उनले उक्त अस्पताल निर्माणमा विरोध र आलोचना गर्नुको अर्थ नभएको बताइन्। ‘यो अस्पताल हाम्रा लागि मात्रै बनाउने भनेका छैनौँ’‚ उनले भनिन्,‘हाम्रो परिवार र सर्वसाधारणले पनि राम्रोसँग सेवा पाउँछन्।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.