|

काभ्रे : काभ्रेको प्रतिनिधिसभा क्षेत्र नम्बर २ जिल्लासँगै राष्ट्रिय राजनीतिमा समेत विशेष चासोको रूपमा हेरिएको निर्वाचन क्षेत्रमा पर्छ।

यो क्षेत्रबाट आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटा र सत्ता गठबन्धनबाट साझा उम्मेदवार नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं चुनावी मैदानमा छन्।

काभ्रे–२ मा बाँस्कोटा र हुमागाईंबीचको कडा प्रतिस्पर्धालाई राजनीतिक वृत्तमा निकै महत्त्वका साथ हेरिएको छ। नेता हुमागाईंलाई गठबन्धनको समर्थन रहेको छ भने नेता बाँस्कोटा एक्लै चुनावी मैदानमा छन्।

करिब ६ महिना अघिदेखि एमालेका नेता बाँस्कोटाविरुद्ध उम्मेदवारी दिने घोषणा गरेका स्वतन्त्र उम्मेदवार मनोज पण्डित लगायत १६ जना उम्मेदवार चुनावी मैदानमा होमिएकाले यो निर्वाचन क्षेत्रमा प्रतिस्पर्धीको रोचक भिडन्त देखिएको छ।

बाँस्कोटाले २०७४ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरेर कांग्रेसका उम्मेदवारलाई पराजित गरेका थिए तर योपटक त्यसको बदला लिने दाउमा कांग्रेस रहेको छ। त्यसैले गोकुलविरुद्ध कांग्रेसले जिल्लामा प्रभावशाली मानिने नेता हुमागाईंलाई चुनावी मैदानमा अघि सारेको छ। नेता हुमागाईं गोकुलसँग प्रतिस्पर्धा गर्न आफ्नो निर्वाचन क्षेत्र छोडेर काभ्रे–२ बाट उम्मेदवार उठेका हुन्। मतदातामा नामावलीमा उनको नाम काभ्रे–१ मा पर्छ भने काभ्रे–२ गोकुलको निर्वाचन क्षेत्र हो।

अघिल्लो निर्वाचनमा वाम गठबन्धनबाट उम्मेदवार भएर निर्वाचन जितेका बाँस्कोटाका लागि चुनाव जित्न सहज भने छैन। योपटक भने माओवादीसहितको गठबन्धनबाट उम्मेदवार बनेका हुमागाईंले बाजी मार्ने सम्भावना छ।

गठबन्धन दल र एमालेका उम्मेदवारबीच हेभीवेट प्रतिस्पर्धा भएसँगै सञ्चारजगत् तथा मतदाताको समेत ध्यान समेत यस क्षेत्रमा बढी देखिन्छ। बाँस्कोटाले यो निर्वाचन क्षेत्रमा आफ्नो जित वा हारलाई प्रतिष्ठाको रूपमा हेरिएको बुझिएको छ। जसले गर्दा उनी चुनाव जित्नैपर्ने दबावमा रहेका छन्।

२०७४ को निर्वाचनमा अत्यधिक मन्तरले जितेका र योपटक प्रतिस्पर्धी उम्मेदवारभन्दा दोब्बर मत ल्याएर जित्ने दाबी गरेका बाँस्कोटालाई सत्ता गठबन्धन तगारो बनेको छ। जिल्लाका ठूला दलमध्येका कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी लगायतका गठबन्धन दलका उम्मेदवारलाई जित्न सजिलो भने पक्कै हुनेछैन।

अघिल्लो निर्वाचनमा सँगै रहेको माओवादी केन्द्र अहिले उनको साथमा छैन। त्यस्तै एमालेबाट विद्रोह गरी बनेको एकीकृत समाजवादी उनका लागि अर्को टाउको दुखाइको विषय भएको छ। किनकि यी दुवै दल अहिले कांग्रेससँग मिलेर चुनावमा होमिएका छन्। त्यस्तै गत वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनको मत आधारलाई हेर्दा एमालेको भन्दा सत्ता गठबन्धन दलको मत १० हजार बढी रहेको देखिन्छ।

तर कांग्रेसभित्रको अन्तरविरोध मिलाउन नसकेको अवस्थामा त्यसको फाइदा बाँस्कोटाले लिन सक्ने सम्भावना समेत उत्तिकै रहेको एक नेताले बताए। उनका अनुसार त्यस्तो हुनबाट रोक्न गठबन्धनका उम्मेदवार हुमागाईंले टिकटका प्रतिस्पर्धी कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्य गुटलाई मनाउनुपर्ने हुन्छ। पछिल्लो चुनाव लक्षित कार्यक्रममा नेता आचार्य र उनका निकटस्थहरू सहभागी नभएको देखिएको हुनाले खतरा भने टारेको देखिदैन।

बाँस्कोटालाई कति सहज

मंसिर ४ गते हुने निर्वाचनका लागि दलहरू चुनावी रणनीति निर्माणमा जुटेका छन् भने दलहरू घरदैलो अभियानमा समेत निस्किसकेका छन्। काभ्रे–२ अन्तर्गत बेथानचोक गाउँपालिका, मण्डन देउपुर नगरपालिका, पाँचखाल नगरपालिकाका सबै वडासँगै धुलिखेल नगरपालिकाका १–७ र पनौतीका १, २, ३, ११ र १२ वडा पर्दछन्।

एमालेको बलियो संगठन भएको दावी गरिएको यो क्षेत्रमा सत्ता गठबन्धनसँगको चुनावी भिडन्त रोचक देखिएको छ। यो क्षेत्रमा कांग्रेस र एकीकृत समाजवादीले समेत आफ्नो प्रभाव रहेको दाबी गर्दै आएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्रको रूपमा रहेका बास्कोटालाई ७० करोड घूस काण्डका कारण आगामी निर्वाचनमा धक्का लाग्ने समेत देखिन्छ। काभ्रे–२ लाई बाँस्कोटाको पकड क्षेत्र मानिए पनि मतदाता उनीसँग खुशी देखिँदैनन्। यसअघि उनलाई मत दिएका बताउने मतदाताले समेत यसपटक नदिने बताउँछन्।

यसकारण बाँस्कोटालाई हुमागाईंले रोक्न सक्छन्

काभ्रे–२ मा २०६४ को संविधानसभा निर्वाचनमा उक्त क्षेत्रबाट कृष्णप्रसाद सापकोटा र २०७० मा अहिलेको क्षेत्र नम्बर २ कै एक हिस्सा रहेको क्षेत्र नम्बर ४ बाट विदुर सापकोटाले चुनाव जितेका थिए।

एमालेबाट चुनाव जितेका सापकोटाद्वय अहिले अहिले बाँस्कोटाका साथमा छैनन्। एमालेका प्रभावशाली नेता रूपमा लिने उनीहरू दुवैजना नेतासँग क्षेत्र नम्बर २ को क र ख का दुवै सांसदद्वय बसुन्धरा हुमागाईं र लक्ष्मण लम्साल लगायतका अधिकांश नेता एकीकृत समाजवादीमा छन्।

यी नेताहरूको उपस्थिति नै बास्कोटालाई ठूलो चुनौती हुने जानकारहरू बताउँछन्। त्यस्तै माओवादीका समेत ठूला नेता रहेकाले गठबन्धनका उम्मेदवार हुमागाईं बास्कोटालाई मुख्य चुनौती बन्ने देखिन्छ।

अहिले काँग्रेसको प्रभाव बढ्दो रहेको दावी गरिएको सोही क्षेत्रमा पर्ने तत्कालीन काभ्रे–३ बाट २०७० को निर्वाचनमा काँग्रेसका कञ्चनचन्द्र बादेले बाँस्कोटालाई हराएका थिए। स्थानीय तह निर्वाचन २०७९ मा त्यस क्षेत्रका अधिकांश पालिकामा काँग्रेसले जित हात पारेको छ।

काँग्रेसले गत निर्वाचनमा त्यस क्षेत्रका ६ पालिकामध्ये ४ वटामा प्रमुख र एकमा उपप्रमुख पदमा जित हात पारेको छ। त्यस क्षेत्रको एक पालिकाको प्रमुखमा एकीकृत समाजवादी र एकको उपप्रमुखमा माओवादी केन्द्रले जितेको जित्दा एमालेले एक पालिकाको प्रमुख र तीन पालिकामा उपप्रमुख जितेका छन्।

यसबाट तुलनात्मक रूपमा हेर्दा पनि एमालेभन्दा गठबन्धन बलियो देखिन्छ। जसले गर्दा आगामी निर्वाचनमा गठबन्धन दलका उम्मेदवार हुमागाईंसँग बाँस्कोटाले हार व्यहोर्नुपर्ने सम्भावना प्रबल रहेको छ।

बाँस्कोटा र हुमागाईंमा को कस्तो ?

हुमागाईं २०५६ सालको आमनिर्वाचनमा एमालेका केशव बडाललाई पराजित गरेर काभ्रेमा काँग्रेसको उदय गराएर जनस्तरमा समेत अमिट छाप छोड्न सफल नेता हुन्। काभ्रेमा मुख्य राजनीतिज्ञको रूपमा आफूलाई स्थापित गरेका उनले त्यस क्षेत्रमा विकासप्रेमी नेताको रूपमा आफ्नो छवि बनाउन सफल देखिन्छन्।

त्यस्तै हुमागाईंले काभ्रे–२ को सबै क्षेत्रको अंकगणितीय हिसाबकिताब समेत राम्रोसँग राख्ने गरेका छन्। उनी अन्य दलहरूको रणनीतिलाई सहजै बुझ्न र त्यसको प्रतिउत्तर दिन माहिर मानिन्छन्।

२०७४ मा वाम गठबन्धनबाट उम्मेदवार भई निर्वाचन जितेर मन्त्री पदमा रहँदा विभिन्न विवादमा मुछिएका कारण बास्कोटालाई जनमत आफ्नो पक्षमा पार्न निकै मेहनत गर्नुपर्ने देखिन्छ। त्यस्तै निर्वाचन क्षेत्रमा उनले कामभन्दा धेरै भ्रम छरेको आरोप लागेकाले थप चुनौती झेल्नुपर्ने जानकारहरू बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.