|

जुम्ला : चन्दननाथ नगरपालिका ५ कालेखोलीका मनोज बुढाथोकी मगरले ७० जनालाई रोजगारी दिएका छन्। उनले रोजगारीका लागि विदेशिने युवालाई स्वदेशमै स्वरोजगारी सृजना गर्न ७० जनालाई रोजगारी दिइएको बताए।

त्यस्तै स्वदेशमा रोजगारको अवसरमा नपाएका करिब युवा दिनप्रतिदिन रोजगारीका लागि भारततर्फ लाग्ने गरेको  उद्योग सञ्चालक बुढाथोकी मगरले बताए। उनले भने, ‘युवालाई देशमै आफ्नै स्वरोजगार बनाउने वातावरण ल्याउन जरुरी छ। युवाहरू स्वरोजगारतर्फ उन्मुख हुनुपर्ने त्यसका लागि स्थानीय सरकार पनि जागरुक हुनुपर्छ।’

बुढाथोकी मगरले एम्स एग्रीकल्चर रिसर्च सेन्टर सञ्चालन गरेका छन्। उनले एउटै रिसर्च सेन्टरमार्फत धेरै उद्यमशीलताका काम गर्दै आएको बताए।

इँटा उत्पादन, ग्रिल निर्माण, कुटानीपिसानी मिल, व्यावसायिक बंगुरपालनसहित बोर्डिङ स्कूल सञ्चालन गरेका छन्। यिनै उद्यमशीलतामध्ये एक हो बंगुरपालन। उनले व्यावसायिक बंगुरपालन गरेर बजारको फोहरलाई मोहरका रूपमा प्रयोग गरिरहेका छन्। आर्थिक समृद्धि, रोजगारी सृजना र फोहर व्यवस्थापनको दिगो लक्ष्य राखी एक वर्षदेखि ६ लाख रुपैयाँ लगानीमा बंगुरपालन शुरु गरेका हुन्।

एम्स एग्रीकल्चर रिसर्च सेन्टरद्वारा उद्यमी मनोजले व्यवसाय शुरु गर्दा ३ वटा बंगुर थिए, अहिले ४५ वटा पुगेका छन्। ‘बहुउद्देश्यीय लक्ष्यले बंगुरपालन शुरु गरिएको उनले बताए। बजारमा फोहर बढ्दै गएपछि चन्दननाथ नगरपालिकालाई व्यवस्थापनको समस्या पनि रहेको थियो। उनले बंगुर पालेर बजारको फोहरलाई मोहरका रूपमा प्रयोग गरिरहेका छन् उनले।

बंगुर फर्म आसपासको जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेती गर्ने र बंगुरको दिसालाई मलका रूपमा प्रयोग गर्ने योजना उद्यमी मनोजले बनाएका छन्। बजारको फोहर खुवाउने, दिसा मलका रूपमा प्रयोग गरी तरकारी खेती गर्ने बहुउद्देश्यीय लक्ष्य सफलता उन्मुख भएको उनले बताए। दैनिक बजारको झण्डै ३ क्विन्टल कुहिने फोहोर व्यक्तिगत रूपमा संकलन गरी बंगुरको दानाको रूपमा प्रयोग गरिरहेका छन्।

बंगुरको दानाका लागि मनोजले फोहर उठाउँदा पछिल्लो समय बजारको फोहर कम हुँदै गएको उनले बताए। चाँडै जुम्लामा बंगुरको प्याकेजिङ मासु विक्री गर्ने तयारी समेत भइरहेको छ। उनले भने, ‘बंगुरपालन एकातिर उद्यमशीलता, रोजगारी सृजना र आर्थिक आम्दानी गर्नुका साथै अर्कोतिर फोहरको दीर्घकालीन व्यवस्थापनको उत्तम विकल्प हो।’

यिनै विभिन्न उद्यमशीलताबाट ७० जनालाई प्रत्यक्ष रोजगारी दिएका छन्। बंगुरपालनपछि कुटानीपिसानी मिल समेत सञ्चालनमा ल्याइएको छ। जसबाट स्थानीयलाई राहत भएको छ।

राजनीतिसँगै सफल बन्दै गएका उद्यमी मनोजले आर्थिक समृद्धिका लागि उत्पादन वृद्धि र उद्यमशीलतामा जोड दिएका छन्। उद्यमशीलतामा लगानी बढाए अबको २० वर्षपछि जुम्लासहित मुलुक परनिर्भरताबाट मुक्त हुने उनले विश्वास गरेका छन्।

विद्यार्थी जीवनदेखि राजनीति गर्दै आएका मनोजले २०७४ सालदेखि स्वदेशमै स्वरोजगार खोज्दै उद्यमशीलता गर्न थालेका छन्।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.