‘शिक्षा र स्वास्थ्य पहिलो प्राथमिकतामा’

|

काठमाडौं : स्थानीय तहले शिक्षामा गुणस्तरीयता ल्याउन विभिन्न विद्यार्थीहरूका लागि लाभदायी कार्यक्रम ल्याउन थालेका छन्। यसअघि जनप्रतिनिधिहरूले घोषणा गरेका कतिपय कार्यक्रम कार्यान्वयन गरिसकेका छन् भने केही कार्यान्वयनको चरणमा छन्। 

सुर्खेतको लेकवेशी नगरपालिकाका प्रमुख उमेशकुमार पौडैलले कार्यभार सम्हाल्दै आफ्नो कार्यकाल ५ वर्षमा ५ जनालाई निःशुल्क डाक्टर पढाउने घोषणा गरेका थिए। ती कार्यक्रमबारे निर्णय गरी कार्यान्वयनमा आएको छ।

नगरपालिकाले एमबिबिएस अध्ययन छात्रवृत्तिका लागि आवेदन पेश गर्न गत भदौ २१ गते सूचना प्रकाशित गरेकोमा ३ वटा निवेदन परेको थियो। ती निवेदनमध्ये नगरपालिका वडा-१ का नितेश पौडेल छनोट भएका छन्।

नगरपालिकाकी उपप्रमुख विमला खड्लुकले पौडेलको एमबिबिएस, इन्ट्रान्स स्कोर अन्य निवेदकहरूको भन्दा उच्च (स्कोर १५५) रहेको छनोट गरिएको जानकारी दिइन्।  उनले भनिन्, ‘उहाँ छनोट भएर पनि पढ्न थाल्नु भएको छ।’

५० लाख बजेट विनियोजन

उक्त नगरपालिकाले पहिलो वर्षको एक जनालाई पढाउन ५० लाख रूपैयाँ बजेट विनियोजन गरेको उपप्रमुख खड्लुकले बताइन्।

‘नगरपालिकाले एक वर्षमा एक जनालाई डाक्टर पढाउनेछ, पहिलो वर्षको लागि ५० लाख बजेट नगरपालिकाले विनियोजन गरेको छ। अब कलेजले दिएको बिलअनुसार कलेजमा भुक्तानी हुन्छ,’ उनले भनिन्।

शिक्षा र स्वास्थ्यलाई विशेष प्राथामिकता दिने नगरपालिकाको योजना रहेकाले यस्ता योजना ल्याएको उनको भनाइ छ। 

कुश्माका विद्यार्थीलाई मासिक भत्ता 

पर्वतको कुश्मा नगरपालिकाले सामुदायिक विद्यालयबाट एसइईमा ‘ए’ प्लस अंक ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई मासिक भत्ता दिने निर्णय गरेको छ।

यो निर्णय नगरसभाबाट पारित भएको उक्त कार्यक्रम नगरको चालू वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन भएसँगै लागू भएको नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिए।

उनका अनुसार मासिक रुपमा विद्यार्थीहरूलाई २ हजार रूपैयाँ भत्ता दिन शुरु गरिएको छ। यस्तो भत्ता एसइई पास भएर कक्षा १२ को पढाइ नसकिउन्जेलसम्म दिइनेछ।

एसइईमा ‘ए’ प्लस ल्याएर कक्षा ११ मा फेल भएमा भने भत्ता कटौती हुने गरी कार्यविधि बनाइएको उनले जानकारी दिए। यी कार्यक्रममा निजी विद्यालय भने समावेश गरिने छैन। उनले यसले विद्यार्थीलाई पढाइमा ऊर्जा मिल्नका साथै विपन्न बालबालिकालाई थोरै भए पनि आर्थिक समस्या टर्ने बताए।

बुहारीलाई स्नातकसम्म निःशुल्क अध्यापन 

झापाको गौरादह नगरपालिकाले बुहारीहरूलाई निःशुल्क स्नातकसम्म अध्यापन गराउने योजना कार्यान्वयनमा आएको छ। नगरप्रमुख छत्रपति सुवेदीले गौरादह बहुमुखी क्याम्पसमा अध्ययनरत बुहारीहरूलाई मासिक शुल्क नगरपालिकाले तिरिदिने बताए।

उनले भने, ‘अरुका लागि हुँदैन, गौरादह बहुमुखी क्याम्पसमा मात्रै पढ्ने बुहारीहरूका लागि हामी शुल्क तिरिदिन्छौँ।’ उनका अनुसार उक्त क्याम्पसमा अहिले २ सय बुहारी अध्ययनरत छन्। 

नगर प्रमुख सुवेदीले विवाहपछि महिलाले पढाई छाडेर घरायसी काममा जीवन बिताउन नपरोस् भनी यो कार्यक्रम ल्याएको बताए। ‘महिलाहरू शिक्षाबाट वञ्चित नहुन् भन्ने हाम्रो उद्देश्य र पढिसकेपछि राम्रो कामको अवसर पाउन भन्ने हाम्रो लक्ष्य छ,’ उनले भने। 

५२ जनालाई निःशुल्क प्राविधिक शिक्षा

दैलेखको दुल्लु नगरपालिकाले ५२ जना विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा पढाउने योजना ल्याएको छ। नगरपालिकाका प्रमुख भरदप्रसाद रिजालले विद्यार्थी छनोट गर्ने चरणमा रहेको जानकारी दिए।

उनका अनुसार प्रत्येक वडाबाट ४ जनालाई नगरप्रमुख छात्रवृत्ति कोषबाट पढाइनेछ। अहिले एसईई दिएर बसेका विद्यार्थीमध्ये गरिब तथा जेहेन्दार विद्यार्थीलाई पञ्चकोशी बहुप्राविधिक शिक्षालय दुल्लुमा वन विज्ञान डिप्लोमा, पशु, सिविल ओभरसियर, कम्प्युटर विज्ञान डिप्लाेमा पढाइनेछ।

यी स्थानीय तहमात्र नभई अन्य स्थानीय तहहरूले पनि विभिन्न प्रकारका शिक्षाका लागि कार्यक्रम ल्याएका छन्। विद्यालय सञ्चालनको जिम्मा स्थानीय सरकारले पाएको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मै यस्तो व्यवस्था छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.