विभाग भन्छ, कारवाही  गर्न सकिँदैन

|

काठमाडौं :  गत शुक्रबार वन तथा वातावरण मन्त्रालयले  प्लाष्टिकका फूल तथा माला बिक्री वितरण नगर्नु भन्दै सूचना जारी गर्‍यो। हिन्दु नेपालीको महान चाड तिहारलाई लक्ष्य गरी बजारमा प्लाष्टिकका फूल तथा माला देखिन थालेसँगै रोक लगाएको हो।  

सरकारले गत १२ साउनमा राजपत्रमा सूचना प्रकाशन गरी सोही मितिदेखि प्लास्टिक जन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्णरूपमा रोक लगाउने निर्णय गरेको थियो। सोही अनुसार नै प्लास्टिक जन्य फूल गुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न प्रतिबन्ध गरिएको विभागले जनाएको छ।​

तर,यतिवेला बजारमा प्लाष्टिकको माला जताततै देखिन्छन्। सरकारले माला रोक लगाएपछि पनि बजारमा भेटिइरहेका छन्। तर सरकारले अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडि बढाउन सकेको छैन तिहार र छठमा सबैभन्दा बढी फूलको खपत हुने र त्यही बेला फूलको अभाव हुने भएकाले प्लास्टिकको माला खरिदबिक्री हुने  गरेको छ। 

न अनुसन्धान न कारबाही 

प्लाष्टिकजन्य वस्तु नियन्त्रण गर्ने उदेश्यले सञ्चालनमा ल्याइएको अभियान यतिवेला थला परेको छ। तिहार र छठमा प्लास्टिक जन्य फूल, माला तथा अन्य सामग्री बिक्री वितरण गरेको पाइए एक लाख रुपैयाँ जरिवाना गर्ने सूचना जारी गरिएको थियो। तर व्यवहारमा भने अनुसन्धान समेत हुन सकेको छैन। ‘केही दिनअघि सूचना  जारी गरेका थियौँ। अहिले माइकिङ गर्‍यौँ।’ हामीसँग अरु थप योजना छैन’, ‘वातावरण विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले भने, ,‘अनुसन्धान,कारवाही गर्नका लागि ठूलो शक्ति आवश्यक पर्छ। त्यो शक्ति हामीसँग छैन।’

काठमाडौंमा  माइकिङ गरिएको छ। तर अन्य जिल्लामा पुग्नका लागि हामीसँग स्रोत साधन छैन। तिहारमा सबैभन्दा बढी भीडभाड हुने असन इन्द्रचोकमा प्लास्टिकका माला बेच्नका लागि राखिएको छ। व्यापारीहरू खुलमखुला त्यस्तो प्लास्टिकका माला बेचिरहेका छन्। कतिपय व्यापारीहरू प्लास्टिकको फूल सरकारले प्रतिबन्ध लगाएको जानकारी नभएको बताए।​

तिहारको बेला सयपत्रीको माला महँगो हुने र प्लास्टिकको माला लामो समय टिकिराख्ने भएकाले पनि प्लाष्टिकको मालाप्रति ग्राहक आकर्षित भएको व्यापारी बताउँछन्। असन इन्द्रचोक  लगायतका   उपत्यकाका विभिन्न स्थानमा  प्रतिबन्धित माला  बिक्री भइरहेको छ। आफूहरुलाई प्लास्टिकका फूलहरू बेचे कारबाही हुन्छ भन्ने समेत जानकारी नभएको बताए। साथै अनुगमनको लागि पनि कोही सरकारी कर्मचारी नआएको   व्यापारीहरू बताउछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.