लीलामणि पौडेल
सर्वप्रथम चिनियाँ कम्युनिष्ट पार्टीको २० औं महाधिवेशनबाट राष्ट्रपति सी जिनपिङको नेतृत्वमा छानिएको नयाँ समितिलाई बधाई दिन चाहन्छु। उहाँहरूले तय गरेको गन्तव्य हासिल गर्न उहाँको यो नयाँ कार्यकाल सफल रहोस् भन्ने शुभकामना पनि व्यक्त गर्छु।
यो अहिलेको २० औं महाधिवेशन एउटा विशिष्ट परिस्थितिमा भइरहेको थियो। विशिष्ट परिस्थितिको एउटा कारक कोरोना महामारी थियो। कोरोना महामारी र विश्व व्यवस्थाबीचको सम्बन्धबारे हामीले जानकारी राख्नै पर्छ। सन् १९४५ को दोस्रो विश्वयुद्धपछि विश्व अर्थव्यवस्था पश्चिमा मुलुकहरूले स्थापना गरेका संस्था र उनीहरूको निर्देशित मूल्य–मान्यताबाट चल्दै आएको थियो। हामीले पनि पश्चिमा निर्देशित मोडेललाई आदर्शका रुपमा पच्छ्याउँदै थियौं। त्यही मोडलबाट अमेरिका सर्वशक्तिशाली राष्ट्र बन्यो र त्यही मोडेलबाटै कतिपय यूरोपेली देशहरू अन्य कैयौं देशहरूलाई पछि पार्दै विकसित राष्ट्रका रुपमा दह्रिए।
उक्त मोडेलको आलोचना नभएको होइन। धनी र गरिब बिचको खाडलको विषयलाई लिएर, केही मानिसहरूले मात्रै असिमित लाभ उठाएको र धेरै मानिसहरू शोषणमा परेको विषयलाई लिएर अर्थतन्त्रको उक्त मोडेलको आलोचना भयो। तथापि, मानिसहरूलाई सुख, शान्ति र समृद्धि दिने भनेकै यही मोडेलले मात्रै हो भन्ने भाष्य प्रस्तुत गर्ने काम भइराख्यो।
तर, कोरोना फैलिएपछि के भयो भने सबैभन्दा शक्तिशाली भनिएको देशले समेत आफ्ना नागरिकलाई बचाउनका लागि अक्सिजनको जोहो गर्न सकेन। चाहे अमेरिका होस् वा सबैभन्दा राम्रो स्वास्थ्य व्यवस्था भएको भनेर चिनिएको बेलायत होस्, अथवा सबैभन्दा गरिब भनिने सोमालिया वा बुरुण्डीजस्ता देश होउन्, नेपाल यतै कतै बिचमा पर्छ– महामारीको समयमा सबैजसो देशले कतिबेला चीनबाट स्वास्थ्य सामग्री ल्याउँला र आफ्ना नागरिकलाई बचाउँला भनेर कुर्नुपर्ने अवस्था आयो। मङ्गल ग्रहमा पहुँच पुर्याएको देशले समेत विपद्को समयमा आफ्ना नागरिकलाई अक्सिजनजस्तो आधारभूत सुविधा उपलब्ध गराउन सकेन। तिनीहरुको सामर्थ्य कमजोर रहेछ, त्यति पनि गर्न सकेनन्। देखादेखी मान्छेहरू मरे।
मैले इटालीका एकजना डाक्टरको अन्तर्वार्ता पढेको थिएँ, उनले भनेका थिए, ‘मेरो अगाडि कैयौं मानिसहरू छटपटाइरहेका थिए भने उनीहरूलाई दिनका लागि मसँग जम्मा दुईवटा अक्सिजन सिलिण्डर थिए। मैले उनीहरूमध्ये दुईजनालाई मात्रै बचाउन सक्थेँ। कसलाई बचाउने र कसलाई मर्न दिने भन्ने छान्नुपर्ने स्थिति थियो। यस्तो स्थिति आउला भनेर मैले कहिल्यै कल्पना गरेको थिइनँ।’
यूरोपेलीहरूका लागि भनेर चीनले तयार गरेका स्वास्थ्य सामग्री सिपमेन्टका क्रममा अमेरिकाले हाइज्याक गरेजसरी लगेको पनि देखियो। कोरोनाले शक्तिसम्पन्न राष्ट्रहरूको शक्तिको हैसियत नाङ्गो पारिदियो।
विश्व–व्यवस्थामा कोरोनाले दिएको अर्को दृष्टान्त के हो भने अमेरिका र यूरोपका कतिपय देशले आफ्ना नागरिकलाई दुई डोज खोप दिइसकेपछि पनि आफ्नो जनसंख्याको दोब्बर संख्यामा खोपको भण्डारण गरिराखे। नेपालजस्ता देशहरूका खोपको पहिलो मात्र नपाएर मानिसहरू तड्पिएर मर्न बाध्य भए। किन्छु भन्दा पनि पाइएन। यसले के देखाउँछ भने पश्चिमाहरुले गरेको विकास एकलकाँटे, स्वार्थी र आत्मकेन्द्रित थियो। उनीहरूले गरेको विकास आपत परेको समयमा गरिब देशहरूका लागि काम लाग्दैन भन्ने सन्देश दिए।
पहिलो कुरा त उनीहरूको विकास कोरोना महामारीको प्रारम्भिक समयमा उनीहरुकै नागरिकका लागि पनि काम लागेन। दोस्रो, उनीहरूको प्रगतिबाट हामी खुसी हुनुपर्दैन रहेछ, किनकी आपत पर्दा हामीले कुनै सहयोग पाएनौं। हामीलाई चाहिएको आधारभूत स्वास्थ्य सामग्रीका लागि हामी चीनकै भर पर्नुपर्ने भयो। तेस्रो, आधारभूत कुरामा अर्काको भर पर्नुभन्दा स्वावलम्बी बन्नु पर्दोरहेछ भन्ने पाठ पनि यो महामारीले हामीलाई सिकायो। चीनको २०औं कङ्ग्रेसको पृष्ठभूमिमा यो परिस्थिति थियो।
कोरोनाका कारण कैयौं मुलुकहरू थिलोथिलो भए, केहीमात्रै अप्रभावित रहे। सँगसँगै के भयो भने चीनको प्रगतिलाई पश्चिमा मुलुकहरूले ठूलै ‘थ्रेट’ ठान्न थाले। चीनको प्रगतिलाई रोक्न भएभरको बल लगाउन थाले। कोरोनामा आफ्नो कमजोरी देखिइसकेपछि उनीहरूमा कतै संसारमाथिको हाम्रो नियन्त्रण गुम्ने त होइन भन्ने डर पैदा भयो। उक्त नियन्त्रण कायम राख्न चीनलाई रोक्नुपर्छ भन्ने निष्कर्षमा पश्चिमाहरू पुगेको देखिन्छ। चाहे हङकङमा विद्रोह मच्चाएर होस् वा उइगुरको विषय उठाएर होस्, तिब्बतसम्बन्धी बिलहरू पास गरेर होस् वा ताइवानमा हतियार थुपारेर वा उच्चस्तरको भ्रमणमार्फत् ताइवानलाई चीनबाट अलग्याउने कोशिश गरेर होस्, उनीहरू चीनविरुद्ध केन्द्रित हुन थाले।
यहाँसम्म यो मामिला चीन र पश्चिमाहरूबीच मात्रै केन्द्रित थियो। तर, पश्चिमाहरू यतिमा मात्रै रोकिएनन्। उनीहरू नेपालजस्तो देशमा छिरेर चीनविरुद्धका अभियानमा जबरजस्त रुपमा हाम्रो नेतृत्वलाई, हाम्रो जनमतलाई, हाम्रा मान्छेलाई, हाम्रा संस्थाहरूलाई प्रयोग गर्नतर्फ लागे। दशकौंदेखि दौत्य सम्बन्ध रहँदै आएको नेपाल र चीनबिच कृतिम मुद्दाहरू खडा गरेर द्वन्द्व सिर्जना गर्ने कोशिश गर्न थाले। नेपाल र चीनबीचको सम्बन्धलाई मैले समस्यारहित सम्बन्ध भन्ने गरेको थिएँ। समस्या नै नभएका होइनन्, तर ती आधारभूत समस्या होइनन्। कार्यान्वयनका तहमा थुप्रै समस्याहरू छन्, तर ती राष्ट्रिय बहसको विषय बनाइनुपर्ने समस्या होइनन्। आमनेसामने हुनुपर्ने वा चीनसँग भिड्न जानुपर्ने समस्या होइनन्। तर, केही शक्ति राष्ट्रहरूले कित्ताकाट गरेर नेपाललाई एउटा समूहमा हालेर चीनका विरुद्ध लड्न हामीलाई प्रयोग गर्न खोजे।
यी सबै स्थितिको पृष्ठभूमिमा चीनमा कस्तो नेतृत्व आउला, कस्तो नीति आउला, चीनको नीतिले चीनलाई मात्रै होइन बाँकी विश्वलाई पनि असर गर्ने भएकाले हामीलाई कस्तो असर गर्ला भनेर चीनबारे हामीले निरन्तर ध्यान दिइराख्नुपर्ने वा चासो राख्नुपर्ने स्थिति थियो।
चीन–नेपाल सम्बन्धको कुरा गर्दा हामीले यसलाई ऐतिहासिक सम्बन्ध भन्छौं, भृकुटीको नाम लिन्छौं, दौत्य सम्बन्धको ६८ वर्ष भयो भन्छौं, एकदम सुमधूर सम्बन्ध छ भन्छौं। त्यसो भन्नुका पछाडि आधार पनि छन्। तर अहिले चीनको नयाँ नेतृत्व आइसकेपछि हामीले विचार गर्नुपर्ने अन्य पक्ष पनि छन्। चीनको नयाँ नेतृत्वसँगै हाम्रासामु केही अवसर आएका छन्। दुई मुलुकले आपसी सम्बन्धबाट समान ढंगले लाभ लिनका लागि दुवै तहमा उस्तै समझदारी वा बुझाइ बनाएर दुवैका लागि लाभ–लाभका विषय छानेर कार्यान्वयनमा लैजान सक्छौं। युवा पुस्ताले यतातिर ध्यान दिनुपर्छ। हाम्रो प्रौढ पुस्ताले जे–जे गर्न सक्थ्यौं, गर्यौं।
मैले चीनलाई गुण लगाउनुपर्ने कुरा गरेको हैन, दुवै देशका नागरिकहरूको हितको कुरा गरेको हुँ। यहाँ दुई देशको साझा हितको कुरा छ, दुवैको साझा स्वार्थको कुरा छ। चीनमा अस्थिरता भयो वा चीनको विकास अवरुद्ध भयो भने नेपालको विकास पनि अवरुद्ध हुन्छ। अहिले नेपालमा सबैभन्दा ठूलो वैदेशिक लगानी चीनबाट आउँछ। सबैभन्दा धेरै पर्यटक चीनबाट आउँछन्। नेपालले वैदेशिक सहयोग प्राप्त गर्ने देशहरूको सूचीमा चीन अग्रस्थानमा छ। हामीलाई काम लाग्न सक्ने प्रविधि आयात गर्न सकिने देश पनि चीन नै हो।
हाम्रा हजारौं विद्यार्थीहरू चीनमा पढिरहेका छन्। कैयौंले व्यवसायका क्रममा चीन ओहोरदोहोर गरेर जिविकोपार्जन गरिराखेका छन्। चीनमा अवरोध हुनासाथ हामीलाई त्यसको असर पर्छ। जस्तो कि हाम्रो पर्यटन व्यवसाय थला परेको परेकै छ। जतिसुकै खुला भयो भनिए पनि चीनबाट पर्यटक नआउँदासम्म हाम्रो पर्यटन बजार सन् २०१९ को स्थितिमा फर्कँदैन। त्यसकारण चीनको अर्थतन्त्रमा अथवा चीनमा समस्या पर्नु भनेको हामीलाई समस्या पर्नु हो।
चीन आफ्नै कारण समस्यामा पर्यो भने हामीले प्रार्थना मात्रै गर्ने हो। चीनलाई कुनै अर्को दोस्रो मुलुकका कारण समस्या पर्यो भने पनि हामीले प्रार्थना नै गर्ने हो। तर, त्यो समस्यामा हामी पनि जोडिन पुग्यौं भने सतर्क हुनुपर्ने त्यहाँनेर हो। त्यस्तो समस्या सिर्जना गर्न हामी सहायक हुने कि समस्या आउन नदिन हामी सहायक हुने? विचार गर्नुपर्ने कुरा यो हो।
अहिलेको अवस्थामा चीनबारेका कैयौं कुराहरू हामीले पश्चिमाको भाष्यबाट बुझ्छौँ। यो २०औं कङ्ग्रेस सम्बन्धी हाम्रा सूचनाका स्रोत पनि पश्चिमा सञ्चारमाध्यम हुन्। उनीहरुले जे दिन्छन्, हामीले त्यही टिप्छौं र आफ्नो धारणा बनाउँछौं। यो अत्यन्तै खतरनाक कुरा हो। उनीहरूले आफ्नो आवश्यकता र चाहना अनुसारको प्रायोजित सामग्री दिन्छन्। चीनको प्रगतिलाई रोक्नु उनीहरूको उद्देश्य हो। उनीहरूको भाष्यलाई हामीले आफ्नो दिमागमा घुसायौं भने हामीले पनि त्यही बोल्नुपर्ने हुन्छ– ‘चीनलाई रोक्नुपर्छ, तब मात्रै विश्वलाई राम्रो हुन्छ।’
चीनबारे हाम्रो भाष्य हामी आफैँले बनाउने हो। पश्चिमा सञ्चारमाध्यम मात्रै होइन, पश्चिममा पढेका, पश्चिमबाट दीक्षित, प्रशिक्षत र उनीहरूबाट परिचालित कथित इन्टेलेक्चुअल्सहरूबाट पनि हामी सतर्क हुनैपर्छ। तिनीहरूले पनि उनीहरुकै भाषा बोल्छन्।
त्यतिले मात्रै पुग्दैन। नेपालबारे पनि चिनियाँहरुलाई एकदमै कम जानकारी छ। जानकारी हुने मान्छेहरू एकदम थोरै छन्। उनीहरूलाई पनि भारतको आँखाबाट वा पश्चिमाको आँखाबाट नेपाललाई बुझ्ने होइन, नेपालीहरूकै धारणामा आधारित भएर बुझ्नुपर्छ भन्ने सन्देश लैजाने काम पनि युवाहरूको हो। चीनलाई हाम्रै तरिकाले बुझ्ने र नेपाललाई चीनले आफ्नै आँखाले हेर्नुपर्छ भन्ने अभियान युवाहरूले सँगसँगै चलाउनुपर्छ। त्यसो गरिएन भने नेपाल र चीन दुवैलाई नोक्सान हुन्छ। जित–जितको सम्बन्ध बनाउने, सहकार्य गर्ने भनेको यसरी नै हो।
अब म हामी कहाँनेर चुकिरहेका छौं भन्नेतर्फ लाग्छु।
दुई देशबीच प्रशस्त समझदारी भएका छन्, सरकारी संयन्त्रहरु पनि प्रशस्तै बनेका छन्। म बसेकै अवधिमा ४० वटा महत्वपूर्ण सम्झौताहरू भए। काम गर्नका लागि दर्जनौं प्लाटफर्म बनेका छन्। तर, तिनीहरूलाई सक्रिय बनाउने खाँचोचाहिँ छ। तपाईं युवाहरूको काम के हो भने आफूलाई आवश्यक परेका प्लाटफर्म बनाउन सरकारलाई घच्घच्याउने हो, त्यो सन्देश चिनियाँ युवाहरूलाई पुर्याउने पनि हो र निश्कृय प्लाटफर्महरुलाई सक्रिय बनाउन दबाब दिने काम पनि तपाईंहरूको हो। कतिपय प्लाटफर्मको निस्कृयताको कारण पनि हामीले लाभ लिन नसकेका हौं। कोरोनाले गरेको असर एक ठाउँमा होला, तथापि भर्चुअल तहमा र बुझाइमा पनि कतिपय कमजोरी छन्। सरकारका विभिन्न उच्च तहमै बुझाइमै कमजोरी छन्।
अहिले तपाईंहरूले सुनिरहनुभएको होला, ऋणको पासो भन्ने।
हाम्रो यो चालु वर्षको बजेटको चालु खर्चमात्रै ७ खर्बको छ। राजश्व संकलनको लक्ष्य १२ खर्ब छ। विकास खर्च ३ खर्ब जति हो, १७ खर्बमा। जति पनि विकास–निर्माणका काम भएका छन्, राजश्वले नपुग्ने भएकाले सबैजसो ऋणमा आधारित छन्। कुनै प्रोजेक्टमा ९० प्रतिशत ऋण र १० प्रतिशत सरकारले हाल्ने भनिएको छ भने त्यो पनि कुनै अर्को तरिकाले मिलाइएको बजेट हो, समग्रतामा हाम्रा परियोजनाहरू ऋणमै चलिराखेका छन्।
विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, एसियाली विकास बैंक आदिबाट हामीले ऋण लिइरहेका छौं। ऋण त लिएकालियै छौं। भर्खरमात्र जलवायु परिवर्तनसँग लड्न भनेर हामीले विश्व बैंकबाट १० अर्ब ऋण लियौं। पश्चिमाहरुले जलवायु दूषित बनाएका कारण हामी पीडित भएका छौं, उल्टै त्यसविरुद्ध लड्न उनीहरूसँगै ऋण लिएका छौं। उनीहरूले आफ्नो सुविधाको लागि वातावरण बिगार्ने, अनि त्यसको भार हामीले बोक्नुपर्ने! त्यो हो ऋणको पासो भनेको। तर, सरकार हाँकिरहेका कतिपय मन्त्रीहरूसम्मले पनि चीनको ऋणलाई गलपासो भन्ठान्दछन्।
यसरी उच्च तहमा पनि गलत भाष्य बनिराखेका छ। चीनसँग खराब कामका लागि ऋण लिऊँ भनेकै होइन, नचाहिएको काममा ऋण लिऊँ भनेको पनि होइन। ऋण लिएर हामी डुब्नुपर्छ भनेकै होइन, विषयवस्तुलाई ठीकसँग पस्कौँ भन्न खोजेको हुँ। हामीलाई एकदम आवश्यक छ, पश्चिमाहरूबाट आउनेभन्दा सहुलियत दरमा पनि आउँछ, तर पनि हुँदैन भन्छौं। श्रीलङ्का डुब्यो भन्छौं। म बेइजिङ छँदा श्रीलङ्काका राजदूतसँग ‘यो हामबानटोटाको खुब चर्चा छ, के कुरा हो?’ भनेर सोधेँ। जवाफमा उनले ‘हामबानटोटाबारे कोलम्बोमा भन्दा काठमाडौंमा ज्यादा चर्चा रहेछ’ भने।
तामिल विद्रोहीसँग लड्न पश्चिमासँग जथाभावि ऋण लिएका कारण श्रीलङ्का डुबेको हो। पश्चिमासँग लिएको ऋणको ब्याज तिर्न नसकेर कोल्याप्स भयो, तर चीनसँग ऋण लिएकाले डुब्यो भनियो। चीनबाट लिइएको ऋण श्रीलङ्काको कूल ऋणको १० प्रतिशत मात्रै छ। ९० प्रतिशत ऋण पश्चिमासँगको हो। उनीहरूसँग ऋण लिएका कारण श्रीलङ्का डुब्यो, यता हाम्रो देशमा चीनसँग ऋण लियो भने खत्तम हुन्छ भन्ने भाष्य चलाइदिए। चीनसँगको सहकार्यका बाटाहरू अवरुद्ध गरिदिए। यसले हामीलाई नोक्सान हुन्छ। हामीले बुझेर मात्रै हाम्रो धारणा र भाष्य बनाउने तथा तलसम्म लिएर जानुपर्ने खाँचो छ।
अब युवा साथीहरूलाई मेरो केही सल्लाह छ।
बुद्धभद्र चीन जाँदा पाँच वर्ष लगाएर पुगेका थिए। पाँचौं शताब्दीमा बुद्धभद्रलाई निम्ता दिएर जाने फा सियान भन्ने चिनियाँ १६ वर्ष दक्षिण एसियाको भ्रमण गरेर मात्रै यता आइपुगेका थिए। सातौं शताब्दीमा चीनबाट आएका ह्वेन साङ नामका अर्का तीर्थयात्री अजरबैजानको बाटो अफगानिस्तान हुँदै लुम्बिनी आएर १७ वर्ष भ्रमण गरेर चीन फर्किए। बाटोमा कति ठाउँमा लुटिए पिटिए, तर यात्रा रोकेनन्। आज हामी चिनियाँहरूले यत्रो प्रगति गरे, संसारलाई नै आधुनिक बनाउने गरी तरक्की गरे भन्छौं, अरू केही होइन– उनीहरू मेहनती र अनुशासित छन्, त्यसैले यो सम्भव भएको हो।
हाम्रा युवाहरूले चीनबाट सिक्ने दुइटा कुरा यही हो– मेहनत र अनुशासन। त्यही मेहनत र अनुशासनले चीनलाई संमृद्ध बनाएको हो। कुनै छोटो बाटो छैन। कुनै जादू छैन। मैले फा सियान र ह्वेन साङको उदाहरण किन दिएको हुँ भने त्यहाँ धैर्यता र मेहनतको कुरा छ। हामीले चीनबाट सिक्न सक्छौं। उनीहरू पनि सिकाउन तयार छन्। चिनियाँ राष्ट्रपतिले स्वयम्ले यसमा तत्परता देखाएका छन्। राष्ट्रपति सी जिनपिङकै कारणले गर्दा नेपाल–चीन सम्बन्ध अहिलेको उचाइमा पुगेको हो।
त्यसकारण चीनको नयाँ नेतृत्वबाट हामी उत्साहित हुनुपर्ने कहाँ हो भने ठ्याक्कै नयाँ नेतृत्व आएको भए फेरि सबै कुरा बुझाउनुपर्थ्यो। त्यसमा हामीलाई अलिकति समय लाग्थ्यो। अब लाग्दैन। चीनको उच्च नेतृत्वले नेपाल राम्रोसँग बुझेको छ। राम्रैसँग अध्ययन गरेर नेपालसँग थुप्रै सन्धिसम्झौता गरेका छन्। चीनका तर्फबाट उपयुक्त वातावरण बनेको छ। अब ती सम्झौताहरूलाई अघि बढाउने खाँचो छ। हामी त्यसतर्फ लाग्नु पर्नेछ।
लगानी र प्रविधिमा हामीले पर्याप्त लाभ लिन सक्छौं। लाभ लिन नसकिएको क्षेत्र भनेको व्यापार हो। निर्यातको तुलनामा हामीले चीनबाट सय गुनाभन्दा ज्यादा आयात गर्छौं। अब चीनमा बजारको खोजी गर्नु पर्नेछ। त्यसमा युवाहरूको प्लाटफर्म प्रभावकारी हुनसक्छ। समाधान नै नभएका समस्या हुँदैनन्। आशय नै खराब छ भने भिन्दै कुरा हो।
अब इतिहास पढेर मात्रै पुग्दैन। वर्तमानमा यथार्थमा बसेर योजना र कार्यक्रम बनाउने, कार्यान्वयन गर्ने र नतिजा निकाल्ने हो। यत्ति नगरी समाज बदल्न सकिँदैन।
(नेपाल–चीन मैत्री युवा संघले आइतबार काठमाडौंमा गरेको छलफल कार्यक्रममा नेपाल सरकारका पूर्व मुख्यसचिव तथा चीनका लागि पूर्वराजदूत पौडेलद्वारा प्रस्तुत मन्तव्यको सम्पादित अंश)
तपाईंको ईमेल गोप्य राखिनेछ ।