|

हेटौंडा : मंसिर ४ गते हुन लागेको निर्वाचनले कात्तिकको चिसो मौसममा पनि निर्वाचनको माहोल तातेको छ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा एमालेको चुनाव चिह्न लिएर उम्मेदवार भइरहँदा यतिवेला धेरैको ध्यान मकवानपुरले पनि तानेको छ। पञ्चायतकालमा मकवानपुरमा पञ्चायतको पर्यायका रुपमा रहेका थापा अहिले एमालेको चुनाव चिह्न सूर्य लिएर चुनावी मैदानमा छन्।

राजतन्त्र र हिन्दु राष्ट्रको एजेण्डा बोकेर लामो समय राप्रपा अध्यक्ष बनेका थापा अहिले सूर्य चिह्न लिएर चुनावी मैदानमा उत्रिएपछि चर्चामा छन्। 

कुनै वेला कम्युनिस्ट र कांग्रेसका कार्यकर्ता उनीसँग तर्सन्थे तर अहिले भने उनै थापा कहिले कांग्रेस त कहिले कम्युनिस्टसँग जोडिएर उनीहरूकै चुनाव चिह्न लिएर उम्मेदवार बनिरहँदा कतिपयलाई ताज्जुबसमेत लागेको छ।

०७४ सालमा कांग्रेसको समर्थनमा आफ्नै चुनाव चिह्न लिएर उनी निर्वाचनमा थिए तर सफल हुन सकेनन्। उनी अहिले सूर्य चिह्नसहित एमालेको सहयोगमा चुनावी मैदानमा छन्।

मकवानपुरमा पञ्चायतकालदेखि राजनीतिक इतिहास बनाएका थापा यति वेला आफ्नो इतिहास, सिद्धान्त र अस्तित्वलाई पाखा लगाएर चुनाव जित्ने होडमा दौडिएका छन्। मकवानपुर–१ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका थापाको प्रतिष्पर्धा उनका पुराना सहकर्मी राप्रपाका दीपक सिंह र नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनासँग हुँदैछ।

प्रस्तुत छ यिनै सन्दर्भमा थाहाकर्मी श्रीजना नेपालले एमालेको सूर्य चिह्न लिएर मकवानपुर–१ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका राप्रपा नेपालका अध्यक्ष कमल थापासँग गरेको कुराकानी–

तपाईँको उम्मेदवारी किन?

म लामो समय राष्ट्रिय राजनीतिमा एउटा अलग पहिचान र फरक विचार लिएको राजनीतिक शक्ति निर्माण गर्न प्रयत्नशील रहेँ। अर्कोतर्फ मकवानपुर जिल्लाको विकासमा‚ जनताको हितमा म लामो समय क्रियाशील रहँदै आएको छु।

राष्ट्रिय राजनीतिमा मेरा केही अधुरा कामहरू छन्। खासगरी अहिलेको अवस्थामा राष्ट्रवादी शक्तिहरू कमजोर हुँदै गइरहेको स्थितिमा एउटा बलियो राष्ट्रवादी शक्ति निर्माण गर्न मेरो उम्मेदवारी हो।

मकवानपुरमा विगतमा हामीले शुरू गरेका केही महत्वपूर्ण आयोजनाहरू थिए तर ती अलपत्र परेका छन्। ती अलपत्र परेका अधुरा योजनाहरूलाई पूरा गर्ने र देशमा बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने उद्देश्यले म चुनावी मैदानमा खडा भएको छु। 

केपी ओली नेतृत्वकै सरकारमा ७ वटै प्रदेशमा विशाल नयाँ औद्योगिक क्षेत्र निर्माण गर्ने कल्पना गर्‍यो। शुरूमा त्यो औद्योगिक  क्षेत्र चितवनमा राख्ने कुरा थियो। मैले विशेष रूपमा पहल गरेर हेटौंडा–१४ मा औद्योगिक क्षेत्र निर्माण गर्ने कार्य शुरू गरियो तर त्यो पनि अहिले अलपत्र परेको छ।

राष्ट्रवादी शक्ति बलियो बनाउनका लागि उठेको भन्नु भयो। त्यो बलियो राष्ट्रवादी शक्ति एमालेलाई बनाउने हो कि राप्रपा नेपाललाई?

नेपालको राष्ट्रिय राजनीतिमा बाह्य शक्तिहरूको चलखेल र प्रभाव तीव्र गतिले बढेर गएको छ। नेपाल अन्तरराष्ट्रिय महाशक्तिहरूको रणनीतिक प्रतिस्पर्धाको स्थल बन्ने खतरा छ भने केही राजनीतिक दलहरूमा सत्तामा पुगेपछि टिकिरहनको लागि बाहिरी शक्तिहरूको सहयोग र आशीर्वाद चाहिन्छ भन्ने आत्मसमर्पणवादी धारणा हावी भएको देखिन्छ।

यी सबै कारणले गर्दा अहिले राष्ट्रियता पक्षधर शक्तिहरू कमजोर हुँदै गइरहेका छन्। योजनाबद्ध र संगठित रूपले राष्ट्रवादी शक्तिलाई कमजोर बनाउने प्रयास भएको छ। यो राष्ट्रवादी शक्तिहरूलाई कमजोर बनाउने षडयन्त्रमा सबैभन्दा पहिलो निशानामा नेकपा एमाले रहेको छ।

किनभने नेकपा एमालेले विगत केही समययता राष्ट्रियताको पक्षमा एउटा सशक्त अडान राख्दै आयो। त्यसकारणले नेकपा एमालेलाई पहिलो निशानामा पारिएको छ भने अन्य हाम्रो जस्तो साना दलहरूलाई त करिब करिब क्षतविक्षत पारिसकेको अवस्था छ।

तसर्थ नेकपा एमाले र उसका सहयोगी दलहरू जो राष्ट्रियताको कित्तामा उभिएका छन्। ती दलहरूको एउटा संगठित शक्ति निर्माण गर्ने र त्यो शक्ति भनेकै राष्ट्रवादी शक्ति हो। 

मकवानपुरलाई क्षेत्र बनाएर पञ्चायतकालदेखि राजनीति गर्दै ९ पटक मन्त्री बन्नुभयो। यो बीचमा मकवानपुरका लागि  के  गर्नुभयो?

लामो राजनीतिक यात्राको क्रममा मैले मकवानपुर जिल्लाको विकासको निमित्त र मकवानपुरको जनताको हितको निमित्त धेरै महत्वपूर्ण काम गरेको छु। जुन आम जनतालाई थाहा छ। चाहे त्यो शिक्षा होस्, चाहे स्वास्थ्य, खानेपानी, बिजुली विस्तार होस्, यातायातको  विकास, रोजगारी यी सबै क्षेत्रमा हामीले धेरै महत्वपूर्ण काम गरेका छौं।

पछिल्लो कालखण्डमा जब म २०७० सालमा संविधानसभा सदस्य भएर केपी ओलीको सरकारमा उपप्रधानमन्त्री भएँ‚ त्यसपछि हामीले धेरै महत्वपूर्ण काम गर्‍यौं। धरान-चतरा हुँदै  हेटौंडासम्म जोड्ने सडकलाई युद्धस्तरमा निर्माण गर्ने काम त्यही वेलामा भयो। मेरो पहलमा तत्कालीन समयमा हेटौंडा वरिपरि ६३ किलोमिटर चक्रपथ निर्माण गर्ने काम भयो तर हामी पराजित भएपछि त्यो अलपत्र परेको छ।

केपी ओली नेतृत्वकै सरकारमा ७ वटै प्रदेशमा विशाल नयाँ औद्योगिक क्षेत्र निर्माण गर्ने कल्पना गर्‍यो। शुरूमा त्यो औद्योगिक  क्षेत्र चितवनमा राख्ने कुरा थियो। मैले विशेष रूपमा पहल गरेर हेटौंडा–१४ मा औद्योगिक क्षेत्र निर्माण गर्ने कार्य शुरू गरियो तर त्यो पनि अहिले अलपत्र परेको छ।

हेटौंडा अस्पतालको स्तरोन्नतिको काम हामीले गरेका छौँ। सबैभन्दा महत्वपूर्ण कुरा त हेटौंडालाई बागमती प्रदेशको राजधानी बनाउने काम हामीले गरेका हौं। शुरूमा हेटौंडालाई अस्थायी राजधानी बनाउने  क्रममा मैले महत्वपूर्ण र निर्णायक भूमिका खेलेँ। यस प्रकारको अत्यन्तै महत्वपूर्ण काम हामीले गरेका छौँ। त्यसैले मकवानपुरका जनताले विकास कार्यमा हाम्रो अग्रणी भूमिका राम्रोसँग बुझेका छन्। 

तपाईं एमालेको सूर्य चिह्नबाट चुनावी मैदानमा हुनुहुन्छ। चुनाव जितेमा संसदमा तपाईं एमालेकै सांसदका रूपमा दर्ज हुनुहुन्छ। तपाईंले एमालेकै भाषा संसदमा बोल्नुपर्ने हुन्छ। यस्तोमा तपाईंले चुनाव जितेर राप्रपालाई के फाइदा हुन्छ?

मैले विगतमा राजसंस्थासहित प्रजातन्त्रको एजेण्डा बोकेको हुँ। सिंगो मुलुक गणतन्त्रमय भएको वेलामा म एक्लो थिएँ। मेरा अग्रजहरू सबै गणतन्त्रमा गएको वेलामा मैले राजसंस्थासहितको प्रजातन्त्रको एजेण्डा बोकेकै हो।

तर विगत १५ वर्षको राजनीतिक अभ्यास, देशको धरातलीय अवस्था र जनताको भावनाको साथै राजाको गलत व्यवहारले गर्दा मैले राजसंस्थाको एजेण्डा छोडेर लोकतन्त्रको एजेण्डामा आइसकेको छु।

संसदमा गएर मैले खेल्ने भूमिकाको सन्दर्भमा निश्चय पनि राजनीतिक र कानुनी व्यवस्थाको आधारमा नै मैले चल्नुपर्ने हुन्छ। त्यहीअनुसार आफ्नो भूमिका निर्वाह गर्छु। 

चुनावपछि कमल थापा एमालेमा प्रवेश गर्ने हुन् कि भन्ने प्रश्न पनि उठिरहेको छ नि!

भोलिको कुरालाई भोलिकै दिनलाई छोडी दिउँ। अहिले हामी सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित गरौँ।

अहिले नेपालको राष्ट्रिय राजनीति दुई कित्तामा ध्रुवीकृत भएको छ। यो  चुनावमा प्रतिष्पर्धा भनेकै दुईवटा शक्तिबीच हो। एकातिर नेकपा एमाले र उसका  सहयोगी दलको राष्ट्रियता पक्षधर शक्तिहरू रहेको छ भने अर्कोतर्फ गठबन्धन छ। त्यो गठबन्धन आत्मसमर्पणवादी शक्ति रहेको छ। यो दुईवटा शक्तिबीच प्रतिष्पर्धा हो।

यो चुनावमा शान्ति र स्थायित्वको एउटा पक्ष छ भने अर्कोतर्फ अस्थिरता र अराजकताको पक्ष रहेको छ। चुनावमा दुईवटा पक्षमध्ये एउटा पक्षलाई जनताले रोज्नुपर्छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको राष्ट्रिय स्वाभिमानमा आधारित राष्ट्रवादी सरकार वा गठबन्धनको कठपुतली सरकार भनेर जनताले छान्नुपर्छ।

अर्को तेस्रो सरकार बन्न सक्ने अवस्था छैन। गठबन्धनले चुनाव जितिहाल्यो भने पहिला त को प्रधानमन्त्री बन्ने भन्ने  विषयमा झगडा हुन्छ। उहाँहरूले अहिलेसम्म प्रधानमन्त्री तोक्नु भएको छैन। यसले अस्थिरता र अराजकतातर्फ लैजान्छ। यो गठबन्धन आगामी ५ वर्षसम्म टिकेर बस्नै सक्दैन। 

गठबन्धनले स्थायी सरकार बनाउन सक्दैन भन्नुभयो। पाँच वर्षअघि जनताले केपी ओलीलाई स्थायी सरकार बनाउन बहुमत दिएकै हो, तर एमालेले पनि ५ वर्ष स्थायी सरकार दिन सकेन त!

झण्डै २० वर्ष नेपाली जनता अस्थिरता र अराजकताको भुमरीमा पर्न बाध्य भए। १० वर्षको माओवादीको हिंसात्मक जनयुद्ध, त्यसपछि संविधान निर्माण नहुञ्जेलसम्मका अस्थिरता र अराजकताले १० वर्षमा ११ वटा सरकार नेपाली जनताले अनुभव गर्नुपर्ने स्थिति आयो।

यो स्थितिबाट मुक्ति पाउन एउटा बलियो स्थिर सरकार होस् भनेर केपी ओलीलाई प्रधानमन्त्रीको रूपमा नेकपालाई बहुमत दिए। तर जब केपी ओली नेतृत्वको सरकारले राष्ट्रियताको पक्षमा सशक्त अडान लिएर अगाडि बढ्यो‚ त्यसपछि देशी विदेशी शक्तिहरूले केपी ओलीको सरकार विस्थापित गर्न अवसरवादी दलहरूलाई एक ठाउँमा ल्याएर गठबन्धन गर्ने काम गरियो।

२०५१ सालमा पहिलोपटक राप्रपा सरकारमा जाने अवसर प्राप्त भयो। त्यो वेला मभन्दा धेरै अग्रजहरू पनि पार्टीमा हुनुहुन्थ्यो। तर बहुदलीय व्यवस्था आइसकेपछि सरकारमा जाने पहिलो पूर्वाञ्चलमध्ये मलाई नै पार्टीले पठायो। मेरो व्यक्तिगत चाहनाले मात्रै मैले जाने भन्ने कुरा आउँदैन।

गठबन्धन निर्माण गरेर ओलीको सरकारलाई विस्थापित गर्ने काम गरियो। त्यो काममा स्वतन्त्र निष्पक्ष न्याय दिनुपर्ने अदालतलाई पनि प्रयोग गरियो। केपी ओलीले तपाईंहरूलाई चित्त बुझेको छैन भने जनतामा जाउँ भन्दा अनेक षडयन्त्र गर्दै सर्वोच्च अदालत प्रयोग गरेर परमादेश जारी गरेर सरकार ढालियो। 

भनेपछि ओलीले गरेको संसद विघटन सही थियो?

मैले त्यही वेलामा पनि सही भनेको हो। किनभने जब सरकारले बहुमत गुमाउँछ‚ जनताले दिएको बहुमतको म्यान्डेट त केपी ओलीलाई थियो। केपी ओलीलाई कानुनको छिद्र खोजेर समाप्त पार्न खोजियो।

संसदीय व्यवस्था भएका संसारभरिका मुलुकमा जस्तै जनताको बीचमा जाने अधिकार हाम्रो संविधानले पनि दिएको थियो तर त्यसलाई अनेक तिकडम गरेर त्यो वेलामा जनताका बीचमा जान दिइएन। जनताका बीचमा जान सकेको भए राम्रो परिस्थिति सिर्जना हुन्थ्यो। अहिलेको जस्तो अराजकता र ब्रह्मलुट हुँदैनथ्यो।

एमाले आफैँ मिल्न नसकेर पनि पहिलाको स्थिति सिर्जना भएको थियो। अहिले पनि एमालेभित्र आफ्नै विवाद छ। फेरि जनताले एमालेलाई बहुमत दिए भने स्थायी सरकार चलाउन सक्छ भन्ने के ग्यारेण्टी छ?

नेकपा एमालेले यो बीचमा धेरै ठूलो पीडा भोगेको छ। नेकपा एमालेको काँधमा राष्ट्रियताको संरक्षण गर्नुपर्ने चुनौती छ। विभिन्न कारण आफ्नो गुमेको साख जोगाउनुपर्ने चुनौती छ। यो धरातलीय यथार्थलाई नेकपा एमालेको नेतृत्व पंक्तिले राम्रोसँग बुझेको छ र एकताबद्ध रूपमा नै अगाडि बढ्छ भन्ने मलाई विश्वास छ। 

कुनै समय कमल थापा भन्ने बित्तिकै मकवानपुरमा कम्युनिष्ट र कांग्रेस दुवै भयभित  हुने अवस्था  थियो। तर अहिले तपाईंले चुनाव जित्न उनीहरूकै सहारा लिनुपर्ने अवस्था  किन आयो?

अहिले गठबन्धनको संस्कार बनेको छ। यो स्थितिमा  एक्लै चुनावमा जानसक्ने अवस्था छैन।

एकातिर ५ दलको गठबन्धन छ र अर्कोतिर नेकपा एमाले देशको एउटा बलियो शक्ति छ। यस्तो अवस्थामा हाम्रो जस्तो सानो पार्टीले एक्लै चुनावमा गएर जित्न सक्ने अवस्था छैन। त्यसकारणले कुनै न  कुनै राजनीतिक दलको सहयोग लिनु नै पर्ने थियो।

देशको राष्ट्रिय  शक्ति कमजोर भइरहेको अवस्थामा मैले एमाले रोजेको हो। यसमा कुनै अन्यथा छैन। केवल एकपटक सांसद भइहालौँ न भन्ने रहर पूरा गर्न मात्रै होइन। म देशको उपप्रधानमन्त्री भइसकेको मान्छे हो। व्यक्तिगत रूपमा मैले धेरै कुरा पाइसकेको छु। मैले अन्तिम चुनाव लड्नुको कारण भनेको केही अधुरा काम पूरा गर्नको लागि हो। 

सत्ता र शक्तिको लागि कमल थापाले पार्टी, नीति, सिद्धान्त र अस्तित्व त्याग्नुभयो भन्ने आरोप छ नि?

त्यो गलत कुरा हो। त्यसमा कुनै सत्यता छैन। वास्तवमा मेरो मुख्य आदर्श भनेको जनताको सर्वोच्चता हो। त्यो मैले कहिले पनि छोडेको छैन।

दोस्रो मेरो आदर्श भनेको मेरो राष्ट्रियता हो, त्यो मैले कहिल्यै पनि छोडेको छैन। मेरो तेस्रो आदर्श भनेको प्रजातन्त्र हो। यसबाट म कहिले पनि विचलित भएको छैन।

जहाँसम्म सरकारमा जाने कुरा छ। त्यो परिस्थिति र संयोगले निर्माण गरेको कुरा हो। म पञ्चायतमा पनि मन्त्री भएँ। बहुदलीय व्यवस्था आइसकेपछि राप्रपामा आबद्ध भएँ।

२०५१ सालमा पहिलोपटक राप्रपा सरकारमा जाने अवसर प्राप्त भयो। त्यो वेला मभन्दा धेरै अग्रजहरू पनि पार्टीमा हुनुहुन्थ्यो। तर बहुदलीय व्यवस्था आइसकेपछि सरकारमा जाने पहिलो पूर्वाञ्चलमध्ये मलाई नै पार्टीले पठायो। मेरो व्यक्तिगत चाहनाले मात्रै मैले जाने भन्ने कुरा आउँदैन।

राप्रपामा पूर्वपञ्चहरूमा सबैभन्दा ठूलो पदमा पुग्ने सौभाग्य पनि मैले मात्रै पाएँ। त्यो केवल मेरो मात्रै चाहनाले भएको होइन। मेरो व्यक्तिगत स्वार्थ र अवसरवाद भन्दा पनि परिस्थितिले  बनाएको हो। नत्र अहिले मैले राप्रपा नेपाल ब्यूँताएर संघर्ष गर्नुको कारण नै थिएन। यो मैले मेरो आदर्शका लागि गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.