|


हरिकृष्ण गौतम/म्याग्दी: हिन्दु धर्ममा तिहारलाई दिदीभाइ तथा दाजु बहिनी बीच प्रेम र आत्मियता बढाउने पर्वका रूपमा लिइन्छ। भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई दिने आर्शिवाद अझ महत्वपूर्ण मानिन्छ। त्यसैले एकअर्काबाट जति नै टाढा भएपनि भाइटीकामा भने दिदीबहिनी दाजुभाइ जमघट हुने कोसिस गर्दछन्। तर, अभिभावकलाई कलिलै उमेरमा छोडेर गएका बालबालिकाको घरमा दिदीबहिनी समेत छैनन्। सहारा विहीन बालबालिका बस्ने बालगृहका बालबालिकाले भने बालगृहभित्रै दिदीबहिनी, दाजुभाइ बनाएर भाइटीका लगाउने गरेका छन्।

दशैंमा मान्यजन र तिहारमा दिदीबहिनीको हातबाट टिका लगाउने, आशिष थाप्ने, विशेष गरि ठूला र सानाबीचको प्रेम र आत्मियता बढाउने उदेश्यले बालगृहमा सामूहिक टीका ग्रहण कार्यक्रम राखिएको बाल संगठन म्याग्दीका अध्यक्ष राजेश शाक्यले बताए।

दशैंतिहार जस्ता ठूला पर्वमा परिवार र आफन्तको सम्झना नहोस् भनेर बालगृहका बालबालिकालाई सामुहिक टीका र मीठो खानेकुरा खुवाइको थियो।  यस वर्षको भाइटीकामा पनि बालगृहका बालबालिकाले सामुहिक टिका लगाए। बालगृह भित्र हँसिलो अनुहारमा टिका थाप्दै गरेका बालबालिकाले एउटा ठूलो परिवारभित्रको बसाई निकै सुखमय रहेको बताएका थिए। 

बाल संगठनका अध्यक्ष शाक्य, मोना हङकङका अध्यक्ष कर्ण पुन मगर लगायतको उपस्थितिमा बालबालिकाले टिका ग्रहण गरेका थिए। १२ जना बालबालिका आश्रित रहेको बालगृहमा चाडपर्वमा नयाँ लुगा, मिठो खानेकुरा नियमित खानपिन भन्दा फरक गरिने अध्यक्ष शाक्यले बताए।

उनले बालगृहमा रहेका बालबालिकाहरु बीचको सम्बन्ध दाजुभाई, दिदीबहिनी जस्तै भएकाले सबैले सामुहिक टिका लगाउने गरेको बताए। चाडपर्व सहित अन्य समयमा समेत पारिवारिक वातावरण भएकाले बालबालिका समेत निकै उत्साहित छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.