|

काठमाडौं : आसन्न चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा तर्फ १६५ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा धेरै १४३ स्थानमा उम्मेदवारी दिएको छ। यसमध्ये तीन जना नेकपा एमालेको समर्थनमा चुनावी मैदानमा छन्।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन झापा-३,महामन्त्री डा.धवलशमशेर राणा बाँके-२ र रूपन्देही-३ मा नेता दिपक बोहराले एमालेको समर्थनमा उम्मेदवारी दिएका छन्।

अरु सबै तालमेलबिना चुनावी मैदानमा छन्। राप्रपाको चुनावी तयारी,एमालेसँगको आंशिक तालमेलको अर्थ लगायत विषयमा थाहाखबरले राप्रपाका अध्यक्ष लिङदेनसँग गरेको कुराकानीको सम्पादित अंश–

झापा–३ बाट यसपटक फेरि नेकपा एमालेकै सहयोगमा चुनावी मैदानमा हुनुहुन्छ, कस्तो छ तयारी ? 

राम्रो छ। उत्साहजनक ढंगले समर्थन प्राप्त गरेका छौँ। विगतमा भन्दा यसपालि स्थिति सुदृढ बनेको अवस्था छ।

अघिल्लो चुनाव जित्नुभयो। पार्टीको अध्यक्ष पनि बन्नु भयो। तुलनात्मक रूपमा अरु नेता  भन्दा गाउँघरमा भेटिनुहुन्छ तर अझै पनि एक्लै चुनाव लड्ने आँट अझै आएन है?

एक्लै चुनाव लड्ने आँट हुने नभएको भन्दा पनि सबै राजनीतिक दल कुनै न कुनै रूपमा राजनीतिक दल तालमेल गरेर आइसकेको परिस्थितिमा खासगरी सत्तापक्षमा ५,६ दल उभिएर चुनावमा आएको अवस्थामा प्रतिपक्षमा दलहरू पनि मिल्ने ठाउँमा सहकार्य गरेर जान राम्रो हुन्छ भन्ने निष्कर्षका साथ हामी पनि एमालेसँग झापा जिल्लामा र अन्य दुई जिल्लामा सहकार्य गरेर जाने निर्णय गरेर आएका छौँ। यसमा एमाले नजित्ने भएपछि राप्रपासँग सहकार्य गरेको वा राप्रपाले नजित्ने भएपछि एमालेसँग सहकार्य गर्‍यो भन्ने अर्थ लगाउन आवश्यक छैन।

सार्वजनिक भाषणहरूमा ठूलो पार्टीहरू भ्रष्टचार हुन,यिनलाई भोट नहाल्नुस् भन्ने अनि झापामा चाहिँ आफ्नै कार्यकर्तालाई  ‘सूर्य चिह्नमा भोट हाल्ने भए हाल, नभए पार्टी छोडेर जाऊ’ भन्नुहुन्छ। कसरी मिल्यो कुरा ?

जब हामीले तालमेल गरौँ,सहयोग लिने–दिने निर्णय गरौँ। झापा ३ मा मतदाताहरूले हलोमा भोट हाल्ने भएपछि सूर्यमा भोट हाल्नुपर्छ,भोट हलोमा परिणत भएर आउँछ। यो निर्णय मैले गरेको होइन कमिटीले गरेको हो। भेलाले गरेको हो। निर्णय पालना गर्नुपर्छ। इमानदार भएको प्रमाणित गर्नुपर्छ।

ठूला पाटी भ्रष्ट भन्नुहुन्छ फेरि उनीहरुसँग सहकार्य गर्नुहुन्छ, यसरी कसरी भ्रष्टचार नियन्त्रण गर्नुहुन्छ ?

हामीले हाम्रो पार्टीमा भ्रष्टचार गर्ने भए पाखा लगाइन्छ। अन्य पनि भोलि भ्रष्टाचारका क्रियाकलाप गर्न भने हाम्रो पाटी पुगिहाल्छ। एमाले यी सबै पक्षमा स्वीकार्छ त्यसैले तालमेल गरेका हौँ। सिमित सिटमा तालमेल गरेका छौँ। राष्ट्रको सुशासनको लागि सहकार्य गरेका हौँ। मलाइ लाग्छ राप्रपाले आवाज भ्रष्टाचारविरुद्ध उठाइरहेको छ। आगामी दिनमा यो अभियानले सार्थकता पाउने छ। 

भनेको एजेण्डा सिद्धान्त  भन्दा पनि अंक गणितमै सिट सुरक्षित गर्न जानु भयो हैन त?

अहिले सत्तापक्षका सबै प्रयोग गर्दै गठबन्धन बनाएर आएको बेला निर्वाचनमा आफू सुरक्षित हुनुपनि महत्वपूर्ण विषय हो। मानिसहरू भन्नलाई चाहिँ किन मिलेको भन्छन्। एक्लै लड्न सक्दैनौ, भन्छन्। अरुको पाँच वटा दल मिले पनि केही भन्न सक्दैनन्। तर भावनात्मक उत्तेजनामा हामीलाई भन्ने मनसाय भयो। प्रश्न उठाइयो। यो अनुचित छ। चुनावमा भाग लिएपछि तालमेलमा अन्यथा लिन पर्दैन। सिद्धान्त, मान्यतामा सम्झौता गरेका थिएनौँ।

निष्ठा र सिद्धान्तको राजनीति गर्छु भन्नेहरूलाई त यसले ठूलो चोट दिन्छ होइन त ? 

यो पूर्ण निष्ठाको हो। निष्ठा सिद्धान्त मजबुत गर्ने प्रयोग हो। यो रणनीतिक रुपमा ठिकै गरेका छौ र भविष्यमा प्रमाणित गर्नेछौँ।

राजतन्त्रको वकालत गर्नेलाई गणतन्त्र पक्षधरलाई भोट हाल भन्नुहुन्छ, अनि गणतन्त्र पक्षधरलाई राजतन्त्र पक्षधरले भोट हाल्नुपर्ने बाध्य पार्नुहुन्छ,यसले निष्ठाको राजनीति सकिँदैन?

यो जानाजान गरिएको दुष्प्रचार हो। अन्य देशहरुमा पनि यस्ता तालमेल भएका छन्। हाम्रैमा पनि यो प्रयोग भइरहेको छ। अघिल्लो पटक पनि झापामा एमालेसँग समझदारी गरेर चुनाव लडेका थियौँ। यसले झनै मजबुत बनाउन मद्दत पुग्यो। त्यसैले यसलाई फेरि यो दुष्प्रचार गर्ने विषय होइन। यसलाई ठूलो विषय बनाउन जरुरी छैन। कुनै पनि निष्ठामा कुनै फरक पार्दैन। 

हैन नराम्रो काम त त्यसले गरे पनि नराम्रो मैले गरे पनि नराम्रो भन्नु पर्‍यो नि!  त्यसले नराम्रो गर्न पाउने मैले नराम्रो गर्न नपाउने भन्ने हुन्छ र?

यो नराम्रो नै होइन। निर्वाचन जित्न एक अर्कामा सहकार्य गर्दा फरक पर्दैन। बढी सिट हामीले प्राप्त गर्न सहकार्य समझदारी गर्दा अन्यथा लिनु जरुरी छैन। भ्रष्टाचार विरुद्धको हाम्रो आवाज सधै बुलन्द हुन्छ। 

तर, यो आम नागरिकको मतको अवमूल्यन भएन? 

मत सामान्य होइन। देशका अधिकांश भागमा बलियो भएर जाने,भ्रष्टचार नियन्त्रण गर्नबाट ठूला दललाई संसदमा जान रोक्ने हो। यस प्रकारको सहकार्य जरुरी थियो। नीति सिद्धान्त अनुसार संसदमा ठूलो संख्यामा जान जरुरी भयो। अरु राजनीतिक दल गठबन्धन गरेर ठूलो पार्टी मिलेर चुनावमा आउँछन् भने हामी एक्लै लड्नुपर्छ भन्ने मानेर कसले लड्छ। 

आ–आफ्ना एजेण्डाका लागि गर्ने हो। मेरो क्षेत्रमा मलाइ दिएको मत सूर्यमा परिणत हुन्छ र ओलीमा दिएको मत यहाँ हलोमा परिणत हुन्छ। धेरै चिन्ता लिनुपर्ने छैन। भ्रम सिर्जना गर्ने ठाउँ छैन। राप्रपा एक्लै चुनावमा जाऊ भन्ने कुरा अनुचित हुन्छ।

त्यसो भए तपाईँ पनि अहिले जुन चुनाव अघि नै गठबन्धन गरेर जाने संस्कृति विकास भएको छ,त्यसको पक्षधर हुनुहुन्छ भनौँ ?

त्यो गलत हो। सबै राजनीतिक दलहरु आ–आफ्नो ठाउँमा एक्लै लड्नुपर्थ्यो। जनतालाई आ–आफ्नो उम्मेदवार छनोट गर्ने छुट दिनुपथ्र्यो। तर,सत्तापक्षबाटै गठबन्धन बनाएर आएपछि यसलाई सामना गर्न बाहिर रहेका अन्य दलहरू एउटा समझदारी गरेर सहकार्य गर्ने रणनीति बनायो भने यसमा के अन्यथा भयो। 

अब यो पटक राप्रपाले धेरै उम्मेदवार उठाएको छ,तर यो उम्मेदवारी यति धेरै ठाउँमा दिँदा यो तीन ठाउँमा मात्रै एमालेसँग तालमेल भयो, अन्य ठाउँमा एमालेले नदिएको कि तपाईँहरु यति नै चाहेको हो?

एमालेले नदिएको र हामीले नचाहेको भन्दा पनि यो प्राविधिक कुरा हो। सहयोगको कुरा लेनदेनमा यी तीन जिल्लामा स्थानीय तहको प्राप्त गरेको लोकप्रिय मत र एमालेले प्राप्त गरेको लोकप्रिय मतलाई एक ठाउँ राख्दा विजय सुनिश्चित गर्न अथवा गठबन्धनलाई सामना गर्न मतले एक अर्कालाई सहयोग गर्ने देखिएकाले यी ठाउँमा सहकार्य गरेका हौँ।

अन्य ठाउँका लागि पनि कुराकानी भएको थियो। तर समझदारी हुन सकेन। एमालेको नीतिको अनुसार निर्णय गयौँ। हामी पनि थोरै सिटमा गर्नुपर्छ भनेर यो निर्णय गरेका हौँ। पहिलो जस्तो गल्ती गर्नुहुँदैन भनेर पनि हो। छलफल गर्दा यतिमा सहमत भयौँ।

शीर्ष नेताहरू सुरक्षित हुन खोजेको भनेर बुझ्दा गलत हुन्छ ?

गलत हुन्छ। किनभने शीर्ष नेताहरु पार्टीमा अरु पनि हुनुहुन्छ। अरु थुप्रै नेता हुनुहुन्छ। यो तालमेल बिना पनि शीर्ष नेता चुनाव लडिराख्नु भएको छ। तालमेल नगरी पनि हाम्रा साथीहरू सुरक्षित हुनुहुन्छ। मैले अघि पनि भने, कुनै गलत ढंगले व्याख्या गर्नु जरुरी छैन। 

१४३ ठाउँमा उम्मेदवारी दिनु भएको छ,तपाईंहरुको ठोष निष्कर्ष र आकलन के छ? 

राप्रपा पार्टी अब आउने प्रतिनिधि सभा र आउने प्रदेश सभामा समेत एउटा बलियो रूपमा उपस्थित हुने छ। राम्रो परिणाम ल्याउने छ।

यति जितिन्छ भन्ने छैन र?

राप्रपा राष्ट्रिय पार्टी बन्ने प्रश्न छैन। यो भन्दा पहिले पाटी धेरै फरकमा पुगिसकेको अवस्था छ। अहिले यति नै भन्छु राप्रपाले यसपाली अप्रत्यासित परिणाम ल्याउने छ। 

तपाईको आफ्नै निर्वाचन क्षेत्रमा एमालेको बागी उम्मेदवार छन्, कसरी तपाईँलाई एमालेको सहयोग हुन्छ?

हाम्रो क्षेत्रमा एमालेको बागी उम्मेदवार छैन। केही स्वतन्त्र उम्मेदवार मनोनयन दर्ता गरेका छन्। यसलाई बागीको प्रचार गर्नुहुँदैन। एमालेबाट बागी उम्मेदवार छैन। साधारण सदस्यबाट समेत निकालिएको भनी विज्ञप्ति आइसकेको छ। समर्थक प्रस्तावकलाई समेत कारबाही गरिसकिएको छ। त्यसैले एमाले भएर चुनाव लडेको अवस्था छैन।

अघिल्लो पटक पनि एमालेकै भोटले जित्नुभयो?  झापा–३ मा एमालेका नेता–कार्यकर्ताले लिङ्देनलाई कहिलेसम्म भोट हालिरहने? 

यस्ता अभ्यास देशभर भइरहेको छ। बरु राप्रपाले पनि अभ्यास गरेको छ। भोट कहिलेसम्म दिने भनेर एमालेलाई सोध्नु नि! किन मलाई सोध्नुहुन्छ। गलत प्रचार नगर्नु होस्। हामीले एमालेलाई सहयोग गर्ने हो उहाँहरूले हामीलाई सहयोग गर्ने हो।

अब पनि तपाईलाई नै भोट दिनका लागि पाँच वर्षमा के–कस्ता काम गर्नुभयो?

पाँच वर्षअघि जुन बेला मैले झापा–३ क्षेत्रमा चुनाव जित्ने मौका प्राप्त गरेको थिएँ।  म निर्वाचित भएपछि पुरै निर्वाचन क्षेत्रमा कालोपत्रे सडक बनाए। यो क्षेत्रमा कालोपत्रे नभएको ठाउँ छैन। जंगली हात्तीको नियन्त्रण र नदीबाट हुने डुबान र कटान समस्या समाधान गरेको छु।

डुंगाबाट खोला नदी तर्ने समस्या हटाए। शिक्षाको क्षेत्रमा परिवर्तन आएको छ। दुई स्थानीय तहमा कक्षा–१२ सम्म पूर्ण निःशुल्क पठनपाठनको व्यवस्था गरेको छु। कम्युटर कक्षाको स्थापना भयो। यो प्रकारले ३ नम्बर क्षेत्रमा धेरै विकास भएको छ। फरक ढंगले म उभिएको छु। आगामी दिनमा  निरन्तर अगाडि बढ्नेछु।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.